काठमाडौं । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएको रसुवास्थित टिमुरे शाखालाई त्रिशूली शाखामा गाभ्ने भएको छ ।
बैंकले असोज ७ गतेदेखि टिमुरे शाखालाई त्रिशूली शाखामा गाभेर बैंकिङ सेवा सञ्चालन गर्ने सुचना जारी गरेकाे हाे ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका–टिमुरेमा रहेको बैंकको शाखा प्रभावित भएपछि यस्तो निर्णय गरिएको बैंकले जनाएको छ ।
टिमुरे शाखाबाट यसअघि प्रदान हुँदै आएका सम्पूर्ण बैंकिङ सेवाहरू अब त्रिशूली शाखामार्फत निरन्तर उपलब्ध हुनेछन् । बैंकले टिमुरे शाखाका ग्राहकलाई आगामी दिनमा बैंकिङ कारोबार तथा आवश्यक सेवाका लागि त्रिशूली शाखा वा बैंकका अन्य शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
बैंकले शाखा गाभिएसँगै ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै निरन्तर साथ, विश्वास तथा सहयोगका लागि ग्राहकप्रति धन्यवाद व्यक्त गरेको छ ।








प्रतिक्रिया दिनुहोस्