काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले २०८३ असार मसान्तसम्ममा कर्जा नोक्सानी व्यवस्थाबापत ३७ अर्ब १९ करोड रुपैयाँ छुट्याएका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्त संस्थाहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात ९.७८ प्रतिशत रहेको छ। निष्क्रिय कर्जाका लागि कुल कर्जाको ५.७९ प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरिएको छ।
असार मसान्तसम्म कायम गरिएको ३७ अर्ब १९ करोड रुपैयाँको कर्जा नोक्सानी व्यवस्था कुल बाँकी कर्जाको ६.९६ प्रतिशत र कुल निष्क्रिय कर्जाको ७१.२० प्रतिशत बराबर रहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार लघुवित्त संस्थाहरूले निष्क्रिय कर्जालाई कमसल, शंकास्पद र खराब कर्जामा वर्गीकरण गरी क्रमशः २५, ५० र १०० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था छ। निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सुरक्षित कर्जाको हकमा भने तोकिएको व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुपर्ने हुन्छ।
त्यस्तै, पुनरसंरचना तथा पुनर्तालिकीकरण गरिएका कर्जामा समेत निर्देशनमा तोकिएबमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्