Skip to content

ईभी आयातमा बाहिरियो ७ अर्ब ३० करोड बढी रकम,  चीनबाट मात्रै ४ अर्ब ६१ करोडको सवारी भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले ७ अर्ब ३० करोड ७४ लाख ६८ हजार रुपैयाँ बराबरका विद्युतीय सवारीसाधन ९ईभी० आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा विभिन्न मुलुकबाट एसेम्बल तथा अनएसेम्बल गरी कुल ६ हजार ६४८ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् ।
दुई महिनाको अवधिमा आयात भएका ईभीमध्ये सबैभन्दा ठूलो हिस्सा चीनको रहेको छ । चीनबाट मात्रै ४ अर्ब ६१ करोड ३८ लाख १३ हजार रुपैयाँ बराबरका ४ हजार ७६९ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । चीनबाट आयात भएका सवारीसाधनबाट सरकारले ३ अर्ब ५ करोड ८५ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण चीनतर्फको प्रमुख नाका प्रभावित भएर बन्द रहे पनि चीनबाट ठूलो परिमाणमा विद्युतीय सवारीसाधन आयात भएको देखिएको छ । भदौ १० गते रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण उक्त नाका बन्द भएको थियो । नाका बन्द रहेकै अवस्थामा पनि दुई महिनाको समग्र तथ्यांकमा चीनबाट ईभी आयातको हिस्सा सबैभन्दा ठूलो देखिएको हो ।
त्यस्तै, भारतबाट १ अर्ब ६८ करोड ३८ लाख ८६ हजार रुपैयाँ बराबरका १ हजार ५२९ वटा ईभी आयात भएका छन् । भारतबाट आयात भएका विद्युतीय सवारीसाधनबाट सरकारले ७२ करोड ६६ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
यसैगरी, थाइल्यान्डबाट ३४८ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । ती सवारीसाधनको आयात मूल्य १ अर्ब १ करोड ९५ लाख २० हजार रुपैयाँ रहेको छ । थाइल्यान्डबाट आयात भएका ईभीबाट सरकारले ७० करोड ९९ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
अमेरिकाबाट भने दुई वटा विद्युतीय सवारीसाधन आयात भएको तथ्यांकमा उल्लेख छ । ती दुई सवारीसाधनको आयात मूल्य ७८ लाख १७ हजार रुपैयाँ रहेको छ भने सरकारले ७२ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
अनएसेम्बल तीनपांग्रे ईभीको आयात बढी
दुई महिनामा आयात भएका विद्युतीय सवारीसाधनमा अनएसेम्बल तीनपांग्रे ईभीको संख्या उल्लेख्य रहेको छ । चीनबाट मात्रै २ हजार १४३ वटा अनएसेम्बल तीनपांग्रे विद्युतीय सवारीसाधन आयात भएका छन् । त्यस्तै, भारतबाट १०४ वटा अनएसेम्बल तीनपांग्रे ईभी आयात भएका छन् ।
यस अवधिमा चीनबाट ८८१ वटा र भारतबाट ६८६ वटा एसेम्बल विद्युतीय तीनपांग्रे सवारीसाधन पनि आयात भएका छन् ।
यसबाहेक चीनबाट १ हजार ७४५ वटा, भारतबाट ७३९ वटा, थाइल्यान्डबाट ३४८ वटा र अमेरिकाबाट दुई वटा अन्य विद्युतीय सवारीसाधन आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
समग्रमा सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विद्युतीय सवारीसाधनको आयातबाट मात्रै ४ अर्ब ५० करोड २३ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आयातको परिमाण र मूल्य दुवैका आधारमा चीनबाट सबैभन्दा धेरै विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima