काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो तथा परिवारको सुरक्षामा चुनौती बढेको भन्दै थप सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
जबराका तर्फबाट उनका छोरा सचिन्द्रशमशेर जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिँदै थप सुरक्षा व्यवस्था मिलाउन माग गरेका हुन् ।
पछिल्लो समय देशको अवस्था, सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा आएका शान्ति सुरक्षासम्बन्धी विषयका कारण आफ्नो परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको पत्रमा उल्लेख छ।
जबराले विगतमा राज्यका विभिन्न अंगमा रहेर बहन गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखको हैसियतमा सम्पादन गरेका न्यायिक निर्णयका कारण पनि आफूले थप असुरक्षाको महसुस गरेको निवेदनमा जनाएका छन् ।
उनले कतिपय कुराबारे यसअघि सम्बन्धित कार्यालयमा जानकारी गराए पनि पछिल्लो अवस्थाले थप सुरक्षा आवश्यक देखिएको बताएका छन् ।
निवेदनमा जबराले आफ्नो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायलाई जानकारी रहेको उल्लेख गर्दै आफ्नो निवास, परिवार तथा व्यक्तिगत सुरक्षामा राज्यका सुरक्षा निकायले विशेष ध्यान दिनुपर्ने माग गरेका छन् ।
उनले सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाइदिन सम्बन्धित निकायसँग अनुरोध गरेका छन् ।
निवेदनमा थप सुरक्षा व्यवस्था मिलाउन आग्रह गरिए पनि काठमाडौं उपत्यका प्रहरी कार्यालयले यसबारे के निर्णय गरेको छ भन्ने विवरण भने खुलाइएको छैन ।










प्रतिक्रिया दिनुहोस्