ललितपुर । पछिल्लो वर्षाका कारण ललितपुर महानगरपालिका–२४ धापाखेलमा सोवितकुमार थापाको साढे दुई तलाको घर पल्टिए क्षति भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रका अनुसार थापाको घर आज बिहान चिप्लिएर खोलामा पुगे पनि कुनै मानवीय क्षति भने भएन ।
प्रवक्ता मिश्रले भने ‘‘ललितपुर महानगरपालिका–२४ को कार्यालय नजिकै धापाखेलमा तीन आनामा बनेको साढे दुई तलाको घर बिहान पल्टिएको हो । घर जोखिममा रहेको देखिएपछि आइतबार नै सबै सामान निकालिएको थियो ।’’
यसअघि आइतबार दिउँसो त्यस घरसँगै जोडिएको ट्रसको भान्सा घर करिब २० मिटर तल खसेपछि उक्त घर जोखिममा परेको अनुमान गरिएको थियो ।
घर जोखिममा परेलगत्तै त्यसमा बस्दै आएका थापाका परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । घर चिप्लिएर झरेपछि थुनिएको खोला खुलाउने र थप जोखिम न्यूनीकरणका लागि प्रहरी टोली खटिएको थियो । उक्त घर पल्टिएपछि जोखिममा रहेका पश्चिमतर्फ नजिक रहेको अमृता सुनुवारको घर पनि खाली गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्