काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँको लागि नयाँ नोट वितरणमा कुनै पनि सीमा नतोक्ने भएको छ । यसपालि दसैँमा केन्द्रीय बैंकले मिति तोकेर नयाँ नोट वितरण नगरी नियमित कामकै रूपमा यस्तो सेवा दिने भएको हो ।
केन्द्रीय बैंकले यसपालि नयाँ तथा खुद्रा नोट सटहीको औपचारिक सूचना जारी नगर्ने राष्ट्र बैंकका सह प्रवक्ता सुधा श्रेष्ठले बताइन । दसैँका बेला नयाँ तथा खुद्रा नोट सटही सुविधा उपलब्ध हुने मिति तोक्ने अभ्यास हटाएको उनले बताइन् । तर, नयाँ नोट लिन चाहनेले बैंकमा गएर नयाँ नोट लिन सक्ने व्यवस्था रहेको उनले बताइन ।
उनले राष्ट्र बैंकमा पर्याप्त नयाँ नोट रहेको र माग अनुसार सटही सुविधा दिने उनले बताइन । उनले नयाँले पुग्दासम्म नयाँ र पुगेन भने सुकिला नोट वितरण गर्ने योजनामा राष्ट्र बैंकको रहेको बताइन् ।
यसपालि प्राकृतिक विपत्तिका कारण धेरै सर्वसाधारणका लागि दसैँ उत्सवका रूपमा नभएकाले पनि विगतको जस्तो सूचना नै जारी गरेर नयाँ नोट वितरण नगर्ने भएको हो ।
उनका अनुसार अहिले राष्ट्र बैंकमा नोट सटही लिन जानेले दुई बन्डलसम्म साट्न पाउँछन् । एक बन्डलमा ५, १०, २०, ५० र १०० दरका नोट सबैको १ सय थान हुन्छ ।
व्यक्तिगत प्रयोजनका लागि हो भने नयाँ नोट नपाइने र व्यापारिक प्रयोजनका लागि नयाँ र सुकिला गरेर नोट सटही सुविधा केन्द्रीय बैंकले प्रदान गर्दै आएको दाहालले बताए ।









प्रतिक्रिया दिनुहोस्