Skip to content

जगदम्बा मोटर्सले नेपाल भित्र्यायो स्याकम्यानका दुई विद्युतीय हेभी–ड्युटी सवारी

काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान)सँगको सहकार्यमा स्याकम्यान एक्स५०००ई ६×४ इलेक्ट्रिक प्राइम मुभर र एक्स५०००ई ६×४ इलेक्ट्रिक टिपर नेपाली बजारमा सार्वजनिक गरेको छ ।

यी दुई विद्युतीय हेभी–ड्युटी सवारीको आगमनसँगै स्याकम्यानले नेपालको तीव्र रूपमा विस्तार हुँदै गएको विद्युतीय व्यावसायिक सवारीसाधन बजारमा प्रवेश गरेको छ ।

व्यावसायिक क्षेत्रका चुनौतीपूर्ण आवश्यकतालाई लक्षित गरी विकास गरिएको एक्स५०००ई इलेक्ट्रिक प्राइम मुभर भारी सामान ढुवानी तथा लामो दूरीको यातायातका लागि उपयोगी हुने कम्पनीले जनाएको छ । त्यस्तै, एक्स५०००ई इलेक्ट्रिक टिपर निर्माण, खानी तथा अन्य चुनौतीपूर्ण अफ–रोड सञ्चालनका लागि डिजाइन गरिएको हो ।

दुवै मोडलमा विद्युतीय पावरट्रेन र ६×४ ड्राइभट्रेनका साथै फास्ट चार्जिङ, रिजेनेरेटिभ ब्रेकिङ र इन्टेलिजेन्ट ब्याट्री व्यवस्थापन प्रणाली जस्ता प्रविधि समावेश छन् । यी प्रविधिले कठिन व्यावसायिक परिस्थितिमा सवारीसाधनको प्रभावकारी तथा भरपर्दो सञ्चालनमा सहयोग गर्ने कम्पनीको दाबी छ ।

स्याकम्यानसँगको सहकार्यबारे शंकर ग्रुपकी निर्देशक दीपा अग्रवालले नेपालमा अत्याधुनिक विद्युतीय मोबिलिटी समाधान भित्र्याउने आफ्नो प्रतिबद्धताको निरन्तरता भएको बताइन् ।

“स्याकम्यानसँगको हाम्रो साझेदारीले नेपालमा अत्याधुनिक विद्युतीय मोबिलिटी समाधानहरू ल्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । आगामी दिनमा यस सहकार्यलाई थप विस्तार गर्दै व्यावसायिक यातायात क्षेत्रमा थप अवसरहरू सिर्जना गर्न हामी तत्पर छौँ,” उनले भनिन् ।

सान्क्सी अटोमोबाइल होल्डिङ ग्रुपका दक्षिण एसिया महाप्रबन्धक स्यान्डर्स लीले नेपाल विद्युतीय हेभी–ड्युटी सवारीसाधनका लागि सम्भावनायुक्त बजार रहेको बताए । शंकर ग्रुप र जगदम्बा मोटर्ससँगको साझेदारीमार्फत नेपाली बजारमा भरपर्दो तथा प्रविधिमा आधारित हेभी–ड्युटी समाधान उपलब्ध गराउने लक्ष्य रहेको उनको भनाइ छ ।

स्याकम्यान एक्स५०००ई का दुवै मोडलमा चालकको आराम र सञ्चालन प्रभावकारितालाई ध्यानमा राखेर विभिन्न सुविधा उपलब्ध गराइएको छ । एयर–सस्पेन्डेड सिट, मल्टिफङ्सन स्टेयरिङ, एयर कन्डिसनिङ र ठूलो इन्स्ट्रुमेन्ट डिस्प्ले लगायतका सुविधा सवारीमा छन् । साथै, हेभी–ड्युटी व्यावसायिक सञ्चालनका लागि आवश्यक सुरक्षा तथा नियन्त्रण प्रणालीसमेत समावेश गरिएको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले स्याकम्यान एक्स५०००ई आफ्नो व्यावसायिक सवारीसाधन पोर्टफोलियोमा महत्वपूर्ण थप भएको बताए ।

“नेपालको यातायात, निर्माण तथा औद्योगिक क्षेत्रका बदलिँदा आवश्यकतालाई सम्बोधन गर्ने विद्युतीय हेभी–ड्युटी समाधान उपलब्ध गराउन पाउँदा हामी खुसी छौँ,” उनले भने ।

कम्पनीका अनुसार स्याकम्यान एक्स५०००ई ६×४ इलेक्ट्रिक प्राइम मुभरको मूल्य २ करोड ५ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै, एक्स५०००ई ६×४ इलेक्ट्रिक टिपरको मूल्य २ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

दुवै मोडल सार्वजनिक भएसँगै जगदम्बा मोटर्सले आफ्नो व्यावसायिक सवारीसाधनको पोर्टफोलियोलाई विद्युतीय हेभी–ड्युटी सेग्मेन्टमा विस्तार गरेको छ । यसबाट यातायात, निर्माण, खानी तथा औद्योगिक क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने उद्देश्य कम्पनीले राखेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima