काठमाडौं । काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध रूपमा सिक्री लुटपाट, मोटरसाइकल चोरी तथा डकैतीमा संलग्न रहेको आरोपमा पक्राउ परेका २६ वर्षीय आयन माझीविरुद्ध २७ वटा मुद्दा दर्ता भएको खुलेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भई हाल काठमाडौंको कलंकी ढुंगेअड्डामा बस्दै आएका माझी लुटपाट गर्ने समूहका मुख्य योजनाकार तथा नाइकेका रूपमा देखिएका छन् ।
प्रहरीले उनलाई असोज २१ गते काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटी पुलमुनिको सडकखण्डबाट मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा माझीले प्रहरीमाथि धारिलो हतियार प्रहार गर्ने प्रयास गर्दै भाग्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरेको थियो । त्यसपछि घुँडामुनि एक राउन्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
माझी समूहका अन्य सदस्यको खोजी गर्ने क्रममा प्रहरीले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ बाट थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–७ का ३६ वर्षीय मनोजकुमार मोक्तान र बकैया–५ का ३४ वर्षीय राकेश थिङ रहेका छन् । प्रहरीका अनुसार मोक्तान समूहमा मोटरसाइकल चालक र थिङ पछाडि बसेर लुटपाटमा संलग्न हुने गरेका थिए ।
२७ वटा मुद्दामा प्रतिवादी
प्रहरीका अनुसार माझी यसअघि पनि डाँका तथा चोरीसम्बन्धी मुद्दामा पटक–पटक पक्राउ परिसकेका व्यक्ति हुन् । २०७७ सालको डाँका चोरीसम्बन्धी मुद्दामा तीन महिना कैद बसेर धरौटीमा छुटेका उनीमाथि अदालतले थप ६ महिना कैद सजाय तोकेको थियो । सोही मुद्दामा फरार रहेका माझीले २०८२ वैशाखमा पुनः तीन महिना कैद भुक्तान गरी कारागारबाट छुटेको प्रहरीले जनाएको छ ।
त्यसपछि पनि उनी आपराधिक गतिविधिमा सक्रिय रहेको प्रहरीको भनाइ छ । विभिन्न मितिमा जिल्ला प्रहरी परिसर भक्तपुर, इलाका प्रहरी कार्यालय बनेपा तथा जिल्ला प्रहरी परिसर काठमाडौंमा डाँका चोरीसम्बन्धी २७ वटा मुद्दामा उनी प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २०७९ सालमा भक्तपुरमा दुईवटा तथा बनेपामा एउटा डाँका चोरीको मुद्दा दर्ता भएको थियो। त्यस्तै, २०८२ सालमा काठमाडौंमा मात्रै विभिन्न मितिमा डाँका चोरीका १९ वटा मुद्दा दर्ता भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ।
अँध्यारो समयमा सर्वसाधारणलाई निशाना
प्रहरीका अनुसार कारागारबाट छुटेपछि माझी पुरानै आपराधिक गतिविधिमा फर्किएका थिए । बिहान अँध्यारो समयमा सर्वसाधारणसँग ठेगाना सोध्ने बहाना बनाई सिक्री लुट्ने र मोटरसाइकलमा फरार हुने गरेको अनुसन्धानबाट खुलेको छ ।
फरार हुने क्रममा उनीहरूले तीन वटाभन्दा बढी मोटरसाइकलसमेत परिवर्तन गर्ने गरेको प्रहरीको भनाइ छ । त्यस्तै, डेलिभरी तथा अन्य बहानामा राति वा बिहान एक्लै हिँड्ने तथा तरकारी किन्न जाने महिला र पुरुषलाई सुनसान स्थानमा पारेर लुटपाट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
लुटपाटका क्रममा आवश्यक परे प्रयोग गर्ने भन्दै विभिन्न प्रकारका हातहतियारसमेत बोकेर हिँड्ने गरेको अनुसन्धानबाट खुलेको छ।
आन्दोलनका क्रममा लुटिएका हतियार खरिदको तयारी
प्रहरीका अनुसार माझी समूहले आपराधिक गतिविधिका लागि मोटरसाइकल चोरी गरी प्रयोग गर्ने गरेको थियो । अनुसन्धानका क्रममा काठमाडौंका विभिन्न स्थानबाट १५ वटाभन्दा बढी मोटरसाइकल चोरी गरेको खुलेको प्रहरीले जनाएको छ ।
त्यस्तै, जेनजी आन्दोलनका क्रममा लुटिएका प्रहरीका आधुनिक हतियारसमेत खरिद गर्ने तयारीमा माझी रहेको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।
पछिल्ला दुई घटनामा माझी समूहको संलग्नता
प्रहरीले माझी समूहले पछिल्लो समय काठमाडौंमा भएका विभिन्न लुटपाटका घटनामा संलग्न रहेको जनाएको छ । असोज १४ गते राति करिब १ः४० बजे महेन्द्रकुमार बल तरकारी किन्न जाने क्रममा बौद्ध गेट नम्बर २ नजिकै चार–पाँच जनाको समूहले उनलाई नियन्त्रणमा लिई नगद दुई लाख रुपैयाँ तथा कागजात लुटेर फरार भएको घटना पनि माझी समूहसँग जोडिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, असोज १३ गते राति करिब ११ः४० बजे काठमाडौं महानगरपालिका–१५ डल्लु चौतारास्थित सडकखण्डमा रमेश खड्कीले चलाएको कारमा रहेका व्यक्तिको घाँटीमा लगाइएको करिब साढे तीन तोलाको सुनको सिक्री लुटिएको थियो। प्रहरीले उक्त सिक्रीको अनुमानित मूल्य १० लाख ५० हजार रुपैयाँ रहेको जनाएको छ ।
प्रहरीका अनुसार उक्त घटनामा २२० सीसी पल्सर मोटरसाइकलमा आएका तीन जना पुरुष संलग्न थिए ।
लुटपाटका लागि मोटरसाइकल र नक्कली नम्बर प्लेट
प्रहरीले माझी समूहबाट लुटपाटमा प्रयोग भएका दुईवटा मोटरसाइकल, तयार पारिएका पाँचवटा नम्बर प्लेट, एउटा खुकुरी तथा घटनाका समयमा प्रयोग भएका कपडासमेत बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार समूहले लुटपाटपछि पहिचान लुकाउन नक्कली नम्बर प्लेट प्रयोग गर्ने गरेको थियो । लुटपाटमा प्रयोग हुने मोटरसाइकलसमेत चोरी गरेर प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले काठमाडौं उपत्यकामा भएका श्रृंखलाबद्ध सिक्री लुटपाटका घटनाको अनुसन्धानका क्रममा माझी समूह सक्रिय रहेको पत्ता लगाएको जनाएको छ। समूहका अन्य सदस्यको पहिचान गरी खोजी तथा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
माझी समूह स्वयम्भू, बौद्धलगायत काठमाडौंका विभिन्न क्षेत्रमा भएका सिक्री लुटपाट तथा अन्य लुटपाटका घटनामा प्रत्यक्ष संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।









प्रतिक्रिया दिनुहोस्