Skip to content

नेपाली बजारमा आयो १६ सिट क्षमताको विद्युतीय मिनिबस ‘म्याक्सस ई–डेलिभर ५’, मूल्य ६९ लाख ५० हजार

काठमाडौं । नेपालका लागि म्याक्ससको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोटोक्स प्रालिले १६ सिट क्षमताको विद्युतीय मिनिबस ‘म्याक्सस ई–डेलिभर ५’ नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रिमियम सुविधा र आधुनिक प्रविधिसहित सार्वजनिक गरिएको उक्त विद्युतीय मिनिबसको मूल्य ६९ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, निर्देशक आकाश गोल्छा र प्रबन्ध निर्देशक सौरभ थापाले संयुक्त रूपमा उक्त मिनिबस सार्वजनिक गरेका हुन् । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटीको समेत उपस्थिति थियो ।

कम्पनीका अनुसार म्याक्सस ई–डेलिभर ५ विशेषगरी होटल, रिसोर्ट, पर्यटन तथा व्यावसायिक यातायात क्षेत्रमा प्रयोगका लागि उपयुक्त छ । विद्युतीय सवारीसाधनको प्रयोग विस्तार भइरहेको नेपाली बजारमा आरामदायी यात्रा, आधुनिक सुरक्षा प्रविधि र सुविधासम्पन्न आन्तरिक बनावटसहितको यो मिनिबसले व्यावसायिक सवारीसाधनको क्षेत्रमा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ ।

यसअघि कम्पनीले नेपाली बजारमा ल्याएको ‘म्याक्सस ई–टेरोन ९’ पिकअपसमेत आकर्षक र बलियो बनावटका कारण लोकप्रिय बन्दै गएको कम्पनीको भनाइ छ ।

म्याक्सस ई–डेलिभर ५ मा ६४ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार एनईडीसी परीक्षण विधिअनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा अधिकतम ४०० किलोमिटरसम्म यात्रा गर्न सक्छ ।

यसको विद्युतीय मोटरले अधिकतम १२० किलोवाट पावर र २४० एनएम टर्क उत्पादन गर्छ । त्यस्तै, यसमा ७० किलोवाट क्षमतासम्मको डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ । उक्त प्रविधिको सहायताले ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३६ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

यात्रालाई सहज र सुविधाजनक बनाउन मिनिबसमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली उपलब्ध छ । उक्त प्रणालीले ब्लुटुथ, युएसबी, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई समर्थन गर्छ ।

यसका अतिरिक्त चार तहमा समायोजन गर्न मिल्ने स्टेरिङ, आधुनिक ककपिट तथा स्टेरिङमै जडित नियन्त्रण स्विचहरू उपलब्ध छन् । यी सुविधाले चालकलाई सवारी सञ्चालन गर्न सहज बनाउनुका साथै यात्राको अनुभवलाई थप आरामदायी बनाउने कम्पनीको दाबी छ । सुरक्षाका लागि म्याक्सस ई–डेलिभर ५ मा ३६० डिग्री अराउन्डभ्यु क्यामेरा, स्वचालित आपत्कालीन ब्रेकिङ, अगाडिको सवारीसँग ठोक्किन सक्ने जोखिमबारे चेतावनी दिने प्रणाली तथा एडाप्टिभ क्रुज कन्ट्रोल जस्ता प्रविधि समावेश गरिएको छ ।

त्यस्तै, लेनबाट बाहिरिँदा चेतावनी दिने प्रणाली, लेनमा सवारीलाई कायम राख्ने सहायक प्रविधि, आपत्कालीन लेन नियन्त्रण तथा चालकको अवस्थाको निगरानी गर्ने प्रणाली पनि उपलब्ध छन् । अगाडिका सिटमा बस्ने यात्रुका लागि एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र टायरको हावाको चाप निगरानी गर्ने प्रणालीसमेत राखिएको छ ।

मिनिबसमा २०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स र सबै चक्कामा एलोय ह्विल उपलब्ध छन् । यी विशेषताले विभिन्न सडक अवस्थामा सवारी सञ्चालन गर्न सहज बनाउने अपेक्षा गरिएको छ । विश्वप्रसिद्ध एसएआईसी ग्रुपअन्तर्गत चीनमा उत्पादन गरिएको म्याक्सस ई–डेलिभर ५ को ब्याट्रीमा आठ वर्ष र मोटरमा पाँच वर्षको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

विद्युतीय व्यावसायिक सवारीसाधन प्रयोग गर्न चाहने होटल, रिसोर्ट तथा पर्यटन व्यवसायीलाई लक्षित गरी ल्याइएको यस मिनिबसमा प्रतिस्पर्धी सवारीसाधनको तुलनामा बढी सुविधा र आकर्षक मूल्य रहेको कम्पनीको दाबी छ । म्याक्सस ई–डेलिभर ५ को सोरुम काठमाडौंको हात्तीसारमा रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima