Skip to content

डेढ दर्जन बैंक तथा वित्तीय संस्थाले दिए लगानीकर्तालाई दसैँ खर्च, दसैँपछि कुनले दिँदैछन् लाभांश ?

nabil
global ime
काठमाडौं । गत आर्थिक वर्ष २०८२–८३ को नाफाबाट डेढ दर्जन बैंक तथा वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा ९ वाणिज्य बैंक, ५ विकास बैंक, २ फाइनान्स कम्पनी र ३ लघुवित्त वित्तीय संस्था रहेका छन् ।
लाभांश घोषणा गरेका ९ वाणिज्य बैंकमध्ये ८ वटाले आफ्ना लगानीकर्ताको बैंक खातामा लाभांश पठाइसकेका छन् । नबिल बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, कुमारी बैंक र सिद्धार्थ बैंकका लगानीकर्ताले दसैँअघि नै लाभांश प्राप्त गरिसकेका छन् ।
एनएमबी बैंकले पनि गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । तर, बैंकले हालसम्म साधारण सभाको मिति तय गरेको छैन । त्यसैले यस बैंकका लगानीकर्ताले दसैँपछि मात्रै लाभांश पाउनेछन् ।
यसैगरी, लाभांश घोषणा गरेका ५ विकास बैंकमध्ये ४ वटाले दसैँअघि नै लगानीकर्ताको खातामा लाभांश पठाइसकेका छन् । सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंकले आफ्ना लगानीकर्तालाई लाभांश वितरण गरिसकेका हुन् ।
मितेरी डेभलपमेन्ट बैंकले भने गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरे पनि साधारण सभाको मिति तय गरेको छैन । यस बैंकका लगानीकर्ताले दसैँपछि लाभांश प्राप्त गर्नेछन् ।
दुई फाइनान्स कम्पनीमध्ये आईसीएफसी फाइनान्सले आफ्ना लगानीकर्ताको खातामा लाभांश पठाइसकेको छ । यता, मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्दै आगामी कात्तिक २० गतेका लागि साधारण सभा बोलाएको छ । यस कम्पनीका लगानीकर्ताले पनि दसैँपछि लाभांश पाउनेछन् ।
लघुवित्ततर्फ गुराँस लघुवित्त वित्तीय संस्थाले दसैँअघि नै आफ्ना लगानीकर्तालाई लाभांश वितरण गरिसकेको छ । यद्यपि, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले भने साधारण सभाको मिति तय गर्न बाँकी छ । यी दुई संस्थाका लगानीकर्ताले साधारण सभा तथा लाभांश वितरणसम्बन्धी प्रक्रिया पूरा भएपछि दसैँपश्चात् लाभांश प्राप्त गर्नेछन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima