Skip to content

सेबोनले सर्कुलर नल्याउँदा लगानीकर्तालाई सास्ती, डिम्याट र केवाईसी अपडेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य

nabil
global ime
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्थाबारे स्पष्ट निर्देशन जारी नगर्दा सेयर बजारका लगानीकर्ताले सास्ती भोग्नुपरेको छ । विशेषगरी डिम्याट खाता, टीएमएस, केवाईसी तथा अन्य विवरण अद्यावधिक गर्ने क्रममा ब्रोकर कम्पनीहरूले राष्ट्रिय परिचयपत्र (नेशनल आइडी) अनिवार्य गर्न थालेपछि लगानीकर्ता समस्यामा परेका हुन् ।
सेबोनले टीएमएस, डिम्याट खाता अद्यावधिक तथा नयाँ खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था कार्यान्वयन गर्न ब्रोकर कम्पनीलगायत सम्बन्धित संस्थालाई सर्कुलर जारी गरेको थियो । सोही सर्कुलरका आधारमा ब्रोकर कम्पनीहरूले लगानीकर्तासँग राष्ट्रिय परिचयपत्र माग्दै आएका छन् ।
सरकारले बैंकमा खाता खोल्ने, नवीकरण गर्ने तथा विभिन्न सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको थियो । तर, यससम्बन्धी व्यवस्थामा आएको परिवर्तनपछि बैंक तथा अन्य सरकारी निकायले सेवा प्रवाहका क्रममा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेका छैनन् । धितोपत्र बजारमा भने सेबोनको पुरानो निर्देशन कायम रहँदा ब्रोकर कम्पनीहरूले राष्ट्रिय परिचयपत्र मागिरहेका छन् ।
ब्रोकर कम्पनीहरूले टीएमएस नवीकरण, डिम्याट खाता अद्यावधिक तथा केवाईसी विवरण संशोधन गर्दा राष्ट्रिय परिचयपत्र माग्ने गरेका छन् । यसले विशेषगरी राष्ट्रिय परिचयपत्र नबनाएका, बनाउन समय लागिरहेका तथा विवरण अद्यावधिक गर्न नसकेका लगानीकर्तालाई समस्या पारेको छ । सामान्य विवरण परिवर्तन गर्न वा खाता नवीकरण गर्नसमेत लगानीकर्ताले अतिरिक्त झन्झट बेहोर्नुपरेको गुनासो गरेका छन् ।
ब्रोकर कम्पनीका प्रतिनिधिहरूका अनुसार राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुको मुख्य उद्देश्य ग्राहकको पहिचान यकिन गर्नु, सम्भावित वित्तीय अपराध नियन्त्रण गर्नु तथा ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई सहज बनाउनु हो । लगानीकर्ताको वास्तविक पहिचान सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको उनीहरूको भनाइ छ ।
एक ब्रोकरका अनुसार कुनै लगानीकर्ताबाट ठगी वा अन्य वित्तीय अपराध भएको अवस्थामा अनुसन्धानका क्रममा ब्रोकर कम्पनीलाई समेत जवाफदेही हुनुपर्ने अवस्था आउन सक्छ । त्यसैले ग्राहकको पहिचान प्रमाणित हुने आधिकारिक कागजात राख्न ब्रोकरहरू सचेत भएका हुन् ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका महासचिव भक्तिराम घिमिरेका अनुसार राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने वा नगर्ने विषयमा सेबोनले स्पष्ट सर्कुलर जारी गर्नुपर्ने हो । तर, बोर्डले अनिवार्य नगर्न भनेर अर्को निर्देशन जारी नगरेका कारण ब्रोकर कम्पनीहरूले यसअघिकै व्यवस्थालाई निरन्तरता दिइरहेका छन् ।
उनका अनुसार सेबोनले सुरुमा जारी गरेको निर्देशनअनुसार ब्रोकर कम्पनीहरूले राष्ट्रिय परिचयपत्र मागिरहेका छन् । बोर्डले नयाँ खाता खोल्ने लगानीकर्ताका हकमा मात्रै लागू हुने र पुराना लगानीकर्तालाई अनिवार्य नहुने व्यवस्था गरेको भए पनि व्यवहारमा केवाईसी, डिम्याटलगायतका विवरण अद्यावधिक गर्दा समस्या देखिएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T