Skip to content

कांग्रेसको आधिकारिकताबारे फैलाइएको हल्ला बदनियतपूर्ण छ, एक सुका पनि आर्थिक लेनदेन गरेको छैन: सभापति थापा (भिडियोसहित)

nabil
global ime

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकता सम्बन्धी कानुनी तथा राजनीतिक लडाइँमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।

उनले बिहीबार सामाजिक सन्जाल मार्फत यस्तो जनाए । बिचौली भनिएका इनम सापकोटा प्रहरी हिरासतमा रहेको अवस्थामा सार्वजनिक गरिएको अडियोमा आफ्नो नामसमेत जोडिएको विषयमा यस्तो दाबी गरे ।

उनले उक्त अडियो कहाँ, कसले, किन र कहिले बोलेको हो भन्ने आफूलाई जानकारी नभएको बताए । अडियोमा सुनिएको भनिएको विषयको पछि लाग्नुभन्दा निष्पक्ष अनुसन्धानबाट सबै तथ्य बाहिर आउनुपर्ने उनको भनाइ छ।

विशेष महाधिवेशनका क्रममा परिणामको चिन्ता नगरी परिवर्तनका लागि अघि बढेको उल्लेख गर्दै उनले आधिकारिकताको राजनीतिक तथा कानुनी लडाइँमा एक सुका पनि आर्थिक लेनदेन वा अनुचित काम नगरेको दाबी गरे।

इनम सापकोटासँग जोडिएको अडियोबारे आफूले सार्वजनिक रूपमा जवाफ दिइरहनुपर्ने विषय नभएको भन्दै उनले अब प्रश्न आफूहरूलाई नभई अनुसन्धान गर्ने निकायलाई सोध्नुपर्ने बताए।

उनले आफू र आफ्नो पार्टी नेतृत्वविरुद्ध बदनियतपूर्ण हल्ला फैलाइएको दाबी गरेका छन् । उनले पार्टी र नेतृत्व सबै प्रकारका अनुसन्धानका लागि तयार रहेको स्पष्ट पारे ।

सापकोटा प्रहरी हिरासतमा रहेकाले उनीसँग सम्बन्धित विषयमा आवश्यक सोधपुछ गर्न र अनुसन्धान निष्पक्ष भए/नभएको निगरानी गर्न उनले सञ्चारमाध्यम तथा सरोकारवालालाई आग्रह गरे। निष्पक्ष अनुसन्धान भए दूधको दूध र पानीको पानी छुट्टिने उनको भनाइ छ।

अडियो सार्वजनिक भएपछि आफू डराएर पार्टीका नेताहरू भेट्न थालेको र राति बैठक गरेको भन्ने प्रचारसमेत गलत रहेको थापाले बताए। मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले आगामी पाँचदेखि सात दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले अन्य राजनीतिक दलका नेताहरूसँग भेटघाट र संवाद स्वभाविक भएको उनको स्पष्टीकरण छ।

प्राकृतिक विपत्तिबाट घरबारविहीन भएकाहरूको पुनर्स्थापना, सुकुमवासीको व्यवस्थापन, रोजगारी सिर्जना, लगानी अभिवृद्धि र अर्थतन्त्र सुधार सरकारका प्राथमिकता हुनुपर्ने उनको धारणा छ। सही काममा सरकारलाई साथ र सहयोग गर्ने तर गलत काममा प्रश्न उठाउने तथा आवश्यक परे प्रतिवाद गर्ने उनले बताए।

आफ्नो नैतिकता र स्वच्छतामाथि प्रश्न उठाइएको विषयमा थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको दाबी गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T