काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कुकुर तिहारलाई वर्षको एक दिन पूजा गर्ने धार्मिक परम्परामा मात्र सीमित नराखी पशुप्रति वर्षभरि करुणा, माया र जिम्मेवारी देखाउनुपर्ने बताएकी छिन् ।
नेपालकी प्रथम महिला सबिना काफ्लेज्यूले आयोजना गरेको कुकुर तिहार विशेष कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले कुकुर तिहारले मानवता, करुणा, कृतज्ञता, निष्ठा, प्रकृतिप्रतिको सम्मान तथा मानिस र अन्य जीवजन्तुबीचको सहअस्तित्वको सन्देश दिने बताएकी हुन् ।
उनले पशु कल्याण र मानव स्वास्थ्य एकअर्काका पूरक विषय भएको उल्लेख गर्दै ‘एक स्वास्थ्य अवधारणा’ अन्तर्गत रेबिज नियन्त्रण, खोप, बन्ध्याकरण तथा जिम्मेवार पशुपालनका लागि सरकार, स्थानीय तह र सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताएकी हुन् ।
मन्त्री चौधरीले कुकुर तिहारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन नेपाली दूतावास, विदेशमा रहेका नेपाली समुदाय, पर्यटन प्रवर्द्धन गर्ने निकाय तथा अन्तर्राष्ट्रिय पशु कल्याणसम्बन्धी संस्थासँग सहकार्य गर्न सकिने बताइन् । यसबाट नेपालको मौलिक संस्कृति र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने उनको भनाइ थियो। तर, कुकुर तिहारको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्नुभन्दा पनि यसको मौलिक सांस्कृतिक मर्म र व्यवहारलाई संरक्षण गर्नु उत्तिकै महत्त्वपूर्ण रहेको उनले उल्लेख गरिन् ।
नेपालमा पशु संरक्षणको ऐतिहासिक र कानुनी आधारबारे चर्चा गर्दै मन्त्री चौधरीले विसं १९१० को मुलुकी ऐनमै गाईवस्तुको संरक्षणसम्बन्धी व्यवस्था रहेको र विसं १९९४ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पशुपतिनाथ गौशाला स्थापना गरेको स्मरण गराइन नेपालको संविधान, मुलुकी अपराध संहिता, २०७४ तथा पशु कल्याण निर्देशिका, २०७३ ले समेत पशु संरक्षण र कल्याणका लागि कानुनी आधार प्रदान गरेको उनले बताइन।
सरकारले पशु कल्याणसम्बन्धी छुट्टै कानुन निर्माणका लागि पशु कल्याण विधेयकको मस्यौदा तयार गरी सरोकारवालाबाट सुझाव संकलन गरिरहेको जानकारी दिँदै उनले पशुमाथि हुने क्रूरता नियन्त्रण र संरक्षणका कानुनी व्यवस्थालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन् ।
त्यसैगरी, स्थानीय तहसँगको समन्वयमा सडक कुकुर व्यवस्थापनका लागि खोप, बन्ध्याकरण, उपचार तथा मानवीय व्यवस्थापनका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो। पशु कल्याणका पाँच आधार—भोक र तिर्खाबाट मुक्ति, असहजताबाट मुक्ति, पीडा, चोटपटक र रोगबाट मुक्ति, स्वाभाविक व्यवहार अभिव्यक्त गर्न पाउने स्वतन्त्रता तथा भय र तनावबाट मुक्ति—लाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उनले बताएकी छन्।
छाडा छोडिएका, घाइते तथा अपाङ्गता भएका गाईवस्तु र कुकुरको उद्धार, उपचार तथा आश्रय व्यवस्थापनमा सरकारसँगै पशु कल्याणका क्षेत्रमा कार्यरत संघसंस्थाहरूले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले उल्लेख गरेकी छन् ।
मन्त्री चौधरीले वर्षको एक दिन माला लगाएर पूजा गर्ने तर बाँकी दिन भोक, रोग र दुर्व्यवहारमा बाँच्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउँदै धार्मिक आस्थालाई करुणा र परम्परालाई जिम्मेवारीसँग जोड्नुपर्ने धारणा राखेकी छन् । पशुहरूलाई वर्षभरि नै सम्मान, संरक्षण र मानवीय व्यवहार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।









प्रतिक्रिया दिनुहोस्