Skip to content

नेपाली उद्योगलाई प्रविधि हस्तान्तरणबाट आर्जित रकम विदेशमा लगानी गर्ने बाटो खुला

nabil
global ime

काठमाडौं । सरकारले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ संशोधन गर्दै नेपालमा स्थापित उद्योग तथा कम्पनीलाई प्रविधि हस्तान्तरणबाट आर्जित रकम विदेशमा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

सरकारले लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ को मस्यौदामा उक्त व्यवस्था रहेको छ ।

सरकारले उक्त ऐनको दफा ३ मा उपदफा (३) थप गरी यस्तो व्यवस्था गरेको हो । संशोधित व्यवस्थाअनुसार विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ७क तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १० बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी नेपालमा स्थापित उद्योग वा कम्पनीले प्रविधि हस्तान्तरणबाट आर्जन गरेको रकम अनुमतिप्राप्त लगानीमा विदेशमा उपयोग गर्न सक्नेछन्।

यसअघि विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐनको दफा ३ ले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाएको थियो। तर संशोधित व्यवस्थाले प्रविधि हस्तान्तरणबाट आर्जित रकमको अनुमतिप्राप्त लगानीका लागि उक्त प्रतिबन्ध लागू नहुने स्पष्ट पारेको छ ।

यद्यपि, विदेशमा लगानी गर्दा लगानीको सीमा, स्रोत, प्रयोजन, विदेशी विनिमयसम्बन्धी अभिलेख, आर्जित रकमको उपयोग तथा अन्य सर्त प्रचलित कानुन र नेपाल राष्ट्र बैंकले निर्धारण गरेबमोजिम पालना गर्नुपर्नेछ।

त्यस्तै, विदेशमा लगानी गर्न पाउने अधिकार प्रविधि हस्तान्तरणबाट आर्जित र प्रमाणित रकमको अनुमतिप्राप्त उपयोगमा मात्र सीमित रहने व्यवस्था गरिएको छ।

संशोधित व्यवस्थाले यस्तो लगानी गर्न पाउने भए पनि प्रचलित कानुनबमोजिम आवश्यक पर्ने अन्य स्वीकृति तथा नियामकीय प्रक्रिया पूरा गर्नुपर्ने दायित्वबाट भने छुट नदिने स्पष्ट पारेको छ। अर्थात्, प्रविधि हस्तान्तरणबाट आम्दानी भएको रकम विदेशमा लगानी गर्न पाउने भए पनि त्यसका लागि आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया अनिवार्य रूपमा पूरा गर्नुपर्ने मस्यौदामा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T