Skip to content

फागुन २१ को चुनावी धक्का अस्थायी हो: वरिष्ठ नेता भण्डारी

nabil
global ime

काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्का अस्थायी भएको बताएकी छिन् ।

राष्ट्रिय भेलाको दोस्रो दिन नेता भण्डारीले अगुवा नेता तथा कार्यकर्तालाई निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरिन् ।

११ वर्षपछि पार्टी जीवनको सक्रिय राजनीतिमा फर्केकी नेता भण्डारीको यो पहिलो सम्बोधन हो । भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने बताइन् । गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा व्यहोर्नुपरेको धक्काबाट कार्यकर्तामा केही निराशा उत्पन्न भएको भए त्यसबाट मुक्त हुन उनले आग्रह गरिन् ।

उनले भनिन् ‘निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही पाठ सिक्दै र कमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायतका निर्वाचनमा केन्द्रित हुनुपर्छ ।’

सम्बोधनका क्रममा भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमनबारे प्रष्ट पार्दै आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई मातृ पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउन फर्किएको बताइन् ।

राष्ट्रपतिको सर्वोच्च संवैधानिक जिम्मेवारी सम्हाल्दा देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सम्बन्ध प्रवर्द्धनमा भूमिका खेलेको उल्लेख गर्दै उनले भनिन्- ‘मैले राष्ट्रपतिको सर्वोच्च ओहोदा हासिल गरिसकेकाले अब कुनै पनि पदप्रति लोभ छैन ।’

शान्ति सुरक्षामाथि गम्भीर प्रश्न खडा भएको उल्लेख गर्दै उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव पर्दा देशको अन्तर्राष्ट्रिय छविमा आँच आउन थालेको टिप्पणी गरे । समयमै यसको निराकरण नभए मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्ने भनि उनले चिन्ता व्यक्त गरिन् ।

पार्टी शुद्धीकरण, जनसंगठन र जलवायु न्याय जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)लाई भाषण र दस्तावेजमा मात्र सीमित नराखी दैनिक व्यवहार, निर्णय प्रक्रिया र संगठन सञ्चालनमा उतार्नुपर्ने उनले बताइन् । आवश्यकताभन्दा मागका आधारमा कमिटीहरूलाई ठूलो र भद्दा बनाउने प्रवृत्ति अन्त्य गरी कमिटीलाई मानार्थ नभई कार्यकारी बनाउन, आलोचना र आत्मालोचनाको पद्धति अपनाउन तथा सादगी जीवनशैली अवलम्बन गर्न उनले नेता-कार्यकर्तालाई निर्देशन दिइन् ।

त्यसैगरी, युवापुस्तामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायन रोक्न जनसंगठनहरूले उद्यमशीलता विकास, बहस र रचनात्मक अभियान चलाउनुपर्ने तथा निर्वाचित जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनमा पारदर्शी ढंगले काम गर्नुपर्ने उनले बताइन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T