Skip to content

नेपाल बैंकर्स संघको पहिलो अन्तर–बैंक फुटसल कप २०२६ सम्पन्न, पुरुषतर्फ लक्ष्मी सनराइज र महिलातर्फ एनएमबी बैंक विजयी

nabil
global ime

काठमाडौं । नेपाल बैंकर्स संघको आयोजनामा पहिलो पटक सञ्चालन गरिएको ‘एनबीए अन्तर–बैंक फुटसल कप २०२६’ सम्पन्न भएको छ। मंसिर ५ र ६ गते दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नेपालका २० वाणिज्य बैंकको सहभागिता रहेको थियो। प्रतियोगिता पुरुष तथा महिला गरी दुई विधामा आयोजना गरिएको थियो ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ लक्ष्मी सनराइज बैंक लिमिटेडले उपाधि जित्न सफल भएको छ भने एनएमबी बैंक लिमिटेड उपविजेता बनेको छ। त्यसैगरी, महिलातर्फ एनएमबी बैंक लिमिटेडले विजेता तथा कृषि विकास बैंक लिमिटेडले उपविजेताको उपाधि हासिल गरेका छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न व्यक्तिगत विधामा समेत पुरस्कृत गरिएको थियो । पुरुषतर्फ उत्कृष्ट गोलरक्षकको उपाधि लक्ष्मी सनराइज बैंकका सुदीप पाण्डेले प्राप्त गरे भने सर्वाधिक गोलकर्ताको पुरस्कार कृषि विकास बैंकका राजकुमार निरौला र प्रभु बैंकका रोहन खड्काले संयुक्त रूपमा हात पारे। त्यस्तै, उत्कृष्ट खेलाडीको उपाधि लक्ष्मी सनराइज बैंकका प्रनिम सिंह ठकुरीले प्राप्त गरे ।

महिलातर्फ एनएमबी बैंककी शोभा घिमिरे उत्कृष्ट गोलरक्षक घोषित भइन् भने ग्लोबल आइएमई बैंककी उर्मिला श्रेष्ठ सर्वाधिक गोलकर्ता बनिन् । त्यसैगरी, एनएमबी बैंककी जीना डंगोल उत्कृष्ट खेलाडी घोषित भइन् ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला तथा उपाध्यक्ष सुरेन्द्र राज रेग्मीको समेत उपस्थिति रहेको थियो । प्रमुख अतिथि तथा संघका पदाधिकारीहरूले विजेता र उपविजेता टोलीलाई ट्रफी तथा पदक वितरण गरेका थिए ।

दुई दिनसम्म चलेको प्रतियोगितामा सहभागी टोलीहरूले उत्साह, अनुशासन र खेलभावनाका साथ प्रतिस्पर्धा गरेका थिए । बैंकिङ क्षेत्रका कर्मचारीहरूबीच आपसी सद्भाव, सहकार्य र टिम भावनाको विकास गर्दै स्वस्थ प्रतिस्पर्धाको संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ ।

नियमित कार्यव्यस्तताभन्दा बाहिर कर्मचारीहरूलाई खेलकुदमार्फत एकआपसमा जोड्ने, उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य र समग्र कल्याणलाई प्रवर्द्धन गर्ने तथा बैंकिङ क्षेत्रभित्रको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने प्रतियोगिताको मुख्य उद्देश्य रहेको थियो ।

नेपाल बैंकर्स संघले आगामी वर्षहरूमा पनि यस्ता खेलकुद तथा सहकार्य प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै बैंकिङ क्षेत्रका कर्मचारीहरूबीच एकता, आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा व्यक्त गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T