Skip to content

नेपाली अर्थतन्त्रका दुष्चक्रहरू

nabil bank

नेपालमा छिटो छिटो राजनैतिक आन्दोलन हुने गरेको छ । भर्खरै मात्र भएको जेनजी पुस्ताको आन्दोलनपछि राजनीति नयाँ मोडमा आइपुगेको छ । जनअपेक्षा, आकाङ्क्षा र आवश्यकता अनुरूप आर्थिक विकास र सार्वजनिक सेवा प्रवाह हुन नसक्दा जन असन्तोष बढ्ने र सरकार विरोधी गतिविधिहरू बढ्ने गरेका छन् ।

यसले गर्दा छिट्टो सरकार परिवर्तन हुने र राजनीतिक अस्थिरताले निरन्तरता पाइरहेको छ । यसै सन्दर्भमा नेपाली अर्थतन्त्रलाई गाँजेका दुष्चक्रहरूका बारे चर्चा गर्ने प्रयास यहाँ गरिएको छ । यी दुष्चक्रहरू नतोडिएसम्म नेपाली अर्थतन्त्रमा अपेक्षित र आवश्यक सकारात्मक परिवर्तन हुन कठिन देखिन्छ । राजनीतिक परिवर्तनले मात्र आर्थिक समृद्धि हासिल हुन नसक्ने देखिन्छ ।

गरिबीको दुष्चक्र

विकास अर्थशास्त्रमा गरिबीको दुष्चक्रका बारेमा धेरै चर्चा हुने गर्दछ । गरिव र विकासशील देशहरूमा यो चक्र चलिरहने हुँदा विकासको गति बढ्न सक्दैन भन्ने बुझाइ रहेको छ । अल्पविकसित देशहरूका वासिन्दाहरूको आय न्यून हुन्छ, यसले गर्दा बचत कम हुन्छ । बचत कम भएपछि लगानी कम हुन्छ जसले गर्दा पुँजी निर्माण हुन सक्दैन । फलस्वरूप, रोजगारी सिर्जना र उत्पादकत्व कम हुन्छ जसले गर्दा आम्दानी पनि कम हुन्छ ।

यसरी न्यून आम्दानीको स्थितिमा सुधार हुन सक्दैन र सधै गरिबीकै अवस्थामा रुमल्लिरहनुपर्ने हुन्छ । यस अवस्थालाई गरिबीको दुष्चक्रका रूपमा बुझ्न सकिन्छ । यस्तो दुष्चक्र तोडन नै वैदेशिक सहयोगको अवधारणा सुरु भएको हो । न्यून आयका कारण कम बचत भई लगानी कम रहेका अवस्थामा वैदेशिक सहयोगले लगानी बढाउन सहयोग पुर्याउने र लगानी बढ्दा रोजगारी र उत्पादकत्व बढ्न गई गरिबीको दुष्चक्र तोड्न सकिने अवस्था आउन सक्छ । यसै आधारमा विकसित राष्ट्रहरूले गरिब र कम विकसित देशहरूमा वैदेशिक सहयोग दिन थालेका हुन् । खासगरी द्वितीय विश्वयुद्धपछि वैदेशिक सहयोगको अवधारणा बढेको पाइन्छ ।

राजनीतिक अस्थिरताको दुष्चक्र

यस लेखले नेपाली अर्थतन्त्रमा रहेका अन्य केही दुष्चक्रहरूलाई उजागर गर्न खोजेको छ । पहिलो हो राजनीतिक अस्थिरताको दुष्चक्र । नेपाल जस्ता गरिब देशहरू राजनीतिक अस्थिरताको दुष्चक्रमा पनि परिरहेका हुन्छन् । गरिबीको दुष्चक्र जस्तो वैदेशिक सहयोगले यस्तो दुष्चक्रलाई तोड्न सक्दैन । राजनीतिक अस्थिरताले गर्दा सरकारले सुशासन कायम गर्न र संस्थागत क्षमता विकास गर्न सक्दैन । यसले गर्दा भ्रष्टाचार बढ्ने र सरकारको कार्य सम्पादन कमजोर रहने हुन्छ । फलस्वरूप पुँजीगत खर्च कमजोर रहने, लगानी नबढ्ने र रोजगारी सिर्जना नहुने हुन्छ । सार्वजनिक सेवा प्रवाह कमजोर हुने र बेरोजगारीको अवस्थाले समाजमा असन्तोष सिर्जना गर्छ र सरकार विरोधी गतिविधि सुरु हुन्छ ।

सरकार परिवर्तन गरिएमा समस्या समाधान भइहाल्छ कि भन्ने मान्यतामा सरकार लगायत शासकीय व्यवस्था परिवर्तन गरिन्छ । जसले थप राजनीतिक अस्थिरता सिर्जना गर्दछ । राजनीतिक अस्थिरतासँगै प्रशासनिक अस्थिरता पनि हुन्छ । नेपालमा २००७ सालदेखि सरकार र शासन व्यवस्थामा निरन्तर परिवर्तन हुँदै आएको छ । २००७ सालदेखि जनताले चुनेको संविधान सभाले संविधान बनाए मात्र जनपक्षीय हुने र राजनीतिक स्थिरता आउने भन्दै आइएको थियो । २०५२ सालमा सुरु भएको माओवादी सशस्त्र युद्धको मुख्य माग नै त्यही थियो । दुई पटकको संविधान सभाको निर्वाचनपश्चात् २०७२ सालमा नयाँ संविधान जारी गरियो । यसले नेपाललाई संघीय गणतान्त्रिक मुलुक बनाएको छ ।

राजनीतिक अस्थिरताले गर्दा सरकारले सुशासन कायम गर्न र संस्थागत क्षमता विकास गर्न सक्दैन । यसले गर्दा भ्रष्टाचार बढ्ने र सरकारको कार्य सम्पादन कमजोर रहने हुन्छ । फलस्वरूप पुँजीगत खर्च कमजोर रहने, लगानी नबढ्ने र रोजगारी सिर्जना नहुने हुन्छ । सार्वजनिक सेवा प्रवाह कमजोर हुने र बेरोजगारीको अवस्थाले समाजमा असन्तोष सिर्जना गर्छ र सरकार विरोधी गतिविधि सुरु हुन्छ

संविधान कार्यान्वयनमा आएपछि दुई पटक मात्र निर्वाचन भएको छ । दोस्रो कार्यकाल नसकिँदै जनअसन्तोष चुलिएर जेनजी पुस्ताले आन्दोलन गरेको छ जसका कारण ठूलो जनधनको क्षति भएको छ । अहिलेसम्मको आन्दोलन भन्दा धेरै सरकारी र निजी भौतिक संरचनाहरू ध्वस्त भएको अवस्था छ । यसले गर्दा नेपाली अर्थतन्त्रमा पुनः ठूलो धक्का लागेको छ ।

वैदेशिक रोजगारको दुष्चक्र

नेपाली अर्थतन्त्रमा रहेको अर्को दुष्चक हो वैदेशिक रोजगार । आन्तरिक रोजगारीको अभावले धेरै नेपालीहरू वैदेशिक रोजगारीमा गएका छन् । २०५२ सालदेखि २०६२ सालसम्म माओवादीले सञ्चालन गरेको आन्तरिक सशस्त्र द्वन्द्वका समयमा गाउँबाट विस्थापित भई सहर र त्यसपछि वैदेशिक रोजगारीमा बाध्यात्मक रूपमा जाने प्रक्रिया सुरु भएको पाइन्छ । तर अहिले कतिपय रहरले नै वैदेशिक रोजगार जाने गरेको पाइन्छ ।

यसले थप वैदेशिक रोजगारीमा नै जानुपर्ने चक्र सिर्जना गरेको छ । स्वदेशमा रोजगारी नपाएर वा भने जस्तो काम नपाएर ठूलो सङ्ख्यामा युवाहरू रोजगारी र अध्ययनका सिलसिलामा बाहिर गइरहँदा आन्तरिक अर्थतन्त्रमा मागमा कमी भएको छ । मागमा कमी आएपछि उत्पादनको बिक्री कम भई अर्थतन्त्रमा लगानी कम भएको छ । लगानी कम हुँदा रोजगारी सिर्जना झनै कम भएको छ । रोजगारी सिर्जना कम भएपछि बचेखुचेका युवाहरू पनि वैदेशिक रोजगारीमा जान बाध्य भएको अवस्था छ ।

सरकार परिवर्तन गरिएमा समस्या समाधान भइहाल्छ कि भन्ने मान्यतामा सरकार लगायत शासकीय व्यवस्था परिवर्तन गरिन्छ । जसले थप राजनीतिक अस्थिरता सिर्जना गर्दछ

कतिपय अवस्थामा आवश्यक श्रमशक्ति कम भएर पनि लगानी र उत्पादन भएको छैन । खासगरी कृषि र निर्माणमा यस्तो अवस्था देखिएको छ । अर्कातर्फ वैदेशिक रोजगारमा गएकाले पठाएको विप्रेषणले विदेशी मुद्रा उपलब्ध गराएकाले सजिलै विश्वको कुनै पनि कुनाबाट आयात गर्न सकिने भएको छ । जति बढी आयात गर्यो त्यति बढी आन्तरिक उत्पादनलाई प्रतिस्थापन गरेको छ । आन्तरिक उत्पादन कमजोर हुँदा रोजगारी सिर्जना झन् कमजोर भएको छ र थप वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता भएको छ । यसरी वैदेशिक रोजगारीको दुष्चक्र नेपालमा प्रबल बन्दै गइरहेको छ ।

प्राकृतिक विपद्को दुष्चक्र

नेपाली अर्थतन्त्रको तेस्रो दुष्चक्र हो प्राकृतिक विपद् । नेपालमा पहाडी भूभाग र नदीनालाहरू रहेका छन् जसले गर्दा बाढी र पहिरोको जोखिम उच्च छ । हिउँदभरि बनाइएका सडक, जलविद्युत्लगायतका भौतिक निर्माणहरू वर्षाको समयमा आउने बाढीपहिरोले ध्वस्त पार्ने गरेको छ । प्राकृतिक विपद्का कारण वर्षेनी ठूलो जनधनको क्षति पुग्ने गरेको छ । यसले गर्दा अर्थतन्त्रलाई निकै ठूलो धक्का लाग्ने गरेको छ ।

प्राकृतिक विपद्ले सबैभन्दा बढी गरिब घरपरिवारलाई प्रभाव पार्ने गरेको छ । अझ पछिल्लो समय सडक निर्माणले बढी नै प्राथमिकता पाउने गरेको छ । स्थानीय तहदेखि प्रदेश र संघीय सरकारको प्राथमिकतामा पनि सडक निर्माण हुने गरेको छ । त्यस्तै, मतदाताहरूको माग पनि सडक निर्माण हुने गरेको छ । मतदातालाई पनि केही गरे भनेर देखाउन पनि सडक निर्माणले प्राथमिकता पाउने गरेको छ । सडक निर्माण वैज्ञानिक ढङ्गबाट नहुँदा बढी भूक्षय जाने भई बढी प्राकृतिक विपद् सिर्जना भएको छ । ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ ।

भूपरिवेष्ठिताले सिर्जित परनिर्भरताको दुष्चक्र

नेपालको चौथो महत्वपूर्ण दुष्चक्र हो भूपरिवेष्ठिता । नेपाल भूपरिवेष्ठित देश भएकाले नेपालले सहजै निर्यात गर्न सक्दैन । साथै, यसका कारण आन्तरिक उत्पादनको लागत बढी छ । यसले गर्दा नेपाली उत्पादनले आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सक्दैन । फलस्वरूप, आन्तरिक उत्पादन बढ्न सक्दैन । आन्तरिक उत्पादन बढ्न नसक्दा रोजगारी सिर्जना कम हुन्छ । रोजगारी उपलब्ध नभएपछि युवाहरू वैदेशिक रोजगारीमा जानुपर्ने हुन्छ । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले अझ बढी आयात बढाउँछ । यसले गर्दा वैदेशिक रोजगारको दुष्चक्रलाई पनि सहयोग पुग्न गएको छ ।

विकसित देशहरूसँगको नेपालको विकासको अन्तराल अभ धेरै बढेको छ । यसले पनि युवाहरूलाई निराश पारेको छ । प्राप्त वैदेशिक सहयोग सही ढङ्गले सदुपयोग नभएको, यसमा पनि विभिन्न चरणहरूमा भ्रष्टाचार भएका थुप्रै अध्ययनहरूले देखाएका छन्

दुष्चक्र तोड्ने उपाय

गरिबीको दुष्चक्र तोडनका लागि नेपालले सन् १९५१ देखि वैदेशिक सहयोग लिन थालेको हो । यससँगै योजनाबद्ध विकासको प्रयास पनि गरिरहेको छ । नेपालले द्विपक्षीय र बहुपक्षीय रूपमा वैदेशिक अनुदान र सहुलियतपूर्ण ऋण लिँदै आएको छ । सन् १९५१ का तुलनामा नेपालमा थुप्रै आर्थिक सामाजिक विकास भएको छ । गरिबी घटेको छ । शिक्षा र स्वास्थ्यमा पहुँच पुगेको छ । साक्षरता दर र औसत आयु बढेको छ । साथै, प्रति व्यक्ति आम्दानी पनि बढेको छ । तर, सोही समयमा विकास सुरु गरेका कतिपय दक्षिण पूर्वी एसियाली देशहरूभन्दा नेपाल धेरै पछाडि छ ।

विकसित देशहरूसँगको नेपालको विकासको अन्तराल अभ धेरै बढेको छ । यसले पनि युवाहरूलाई निराश पारेको छ । प्राप्त वैदेशिक सहयोग सही ढङ्गले सदुपयोग नभएको, यसमा पनि विभिन्न चरणहरूमा भ्रष्टाचार भएका थुप्रै अध्ययनहरूले देखाएका छन् । वैदेशिक सहयोगको ठूलो हिस्सा कुनै न कुनै रूपमा दाताहरूकहाँ नै फिर्ता भएको स्थिति छ तापनि गरिबीको दुष्चक्र एकहदसम्म तोडिएको र तोडिने क्रममा रहेको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीबाट प्राप्त आयले पनि राष्ट्रिय बचत बढाइरहेको र गरिबी घटाई रहेको स्थिति छ । लगानीका लागि वित्तीय साधन उपलब्ध भइरहेको छ । तर, उपलब्ध वित्तीय साधनको उत्पादनमुखी उपभोग र लगानीमा सदुपयोग हुन नसकेको पाइएको छ । यसले गर्दा वित्तीय साधन उपलब्ध हुँदा पनि आन्तरिक रोजगारी र आय बढाउँदै तीव्र दरमा गरिबी घटाउन नसकिरहेको स्थिति छ । यसो हुनुमा माथि उल्लेख गरिएका अन्य दुष्चक्रहरूको भूमिका पनि रहेको छ । वास्तवमा गरिबीको बाँकी दुष्चक तोड्न माथिका अन्य दुष्चक्रहरूलाई तोड्नु जरुरी छ ।

सबैभन्दा गाह्रो राजनीतिक अस्थिरताको दुष्चक्र तोड्नु रहेको छ । वित्तीय साधन र प्रविधि बाहिरबाट पनि आयात गर्न सकिन्छ । तर, राजनीतिक संस्कार र संस्कृति आयात गर्न सकिंदैन । नेपालमा अहिलेसम्म विश्वमा भएका विभिन्न प्रणालीको प्रयोग गरिसकेको अवस्था छ ।

जहानिया शासन, दलविहीन राजतन्त्र, संवैधानिक राजतन्त्र, गणतन्त्र र संसदीय संघीयता । अब प्रयोग गर्न बाँकी सीधा निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति मात्र बाँकी रहेको छ । करिब १० देखि १५ वर्षको अवधिमा राजनीतिक र शासकीय प्रणाली परिवर्तन हुने गरेको छ । तर, सबैका अपेक्षाहरू पूरा हुन नसक्दा पटक पटक विद्रोह र आन्दोलन हुने गरेको छ । राजनीतिक अस्थिरताको दुष्चक्र कहिले र कसरी तोड्न सकिन्छ भन्ने सन्दर्भमा सीधा उत्तर पाइँदैन ।

हामीकहाँ आयातित वस्तुहरू उपभोग गर्ने बानी छ । आयातित वस्तुहरू उपभोग गर्दा सामाजिक मर्यादा बढ्ने सोच र प्रवृत्ति छ । यसमा परिवर्तन ल्याउनुपर्दछ

जबसम्म जनता र सरोकारवालाहरूले शासकीय व्यवस्था साध्य नभई साधनमात्र हो भन्ने कुरा बुझ्दैन तबसम्म राजनीतिक परिवर्तनबाट मात्र समाधान खोज्ने प्रवृत्तिले निरन्तरता पाउने देखिन्छ । सुशासन, संस्थागत र व्यक्तिगत क्षमताको विकास, पारदर्शिता, जवाफदेहिता र विश्वसनीयता बढाउन सकेमा मात्र सायद राजनीतिक अस्थिरताको दुष्चक्र तोडन सकिएला । देश विकासको साझा अवधारणा र दायित्व, विविधतायुक्त समाज र विचारमा न्यूनतम समझदारी, सहअस्तित्व र सहकार्य गर्ने प्रवृत्तिबाट मात्र यस दुष्चक्रलाई तोड्न सकिन्छ ।

वैदेशिक रोजगारको दुष्चक्र तोड्न आन्तरिक अर्थतन्त्रमा लगानी र उत्पादन गरिनुपर्दछ । आन्तरिक उत्पादनको उपभोग गरिनुपर्दछ । हामीकहाँ आयातित वस्तुहरू उपभोग गर्ने बानी छ । आयातित वस्तुहरू उपभोग गर्दा सामाजिक मर्यादा बढ्ने सोच र प्रवृत्ति छ । यसमा परिवर्तन ल्याउनुपर्दछ । अर्कातर्फ श्रमलाई अवहेलना गर्ने संस्कृति रहेको छ तसर्थ स्वदेशभित्र उपलब्ध कतिपय कामहरू नगर्ने बरु त्यस्तै काम विदेशमा गएर सहर्ष गर्ने तयार हुने प्रवृत्ति छ ।

कृषि र निर्माण क्षेत्रमा वास्तवमा श्रमिकको अभावले छिमेकी देशहरूबाट काम गर्न आउने गरेका छन् । सानोतिनो भए पनि उपलब्ध कामहरू गर्ने र क्षमता बढाउने प्रवृत्ति सिर्जना गर्नुपर्ने देखिन्छ । तुलनात्मक रूपमा कम तलब भए पनि परिवार र समाजमा सँगै बस्न पाइने हुँदा आन्तरिक रोजगारीलाई प्राथमिकतामा राख्नु उपयुक्त हुन्छ । यही रोजगारी गर्दै गएमा नेपालमा नै योगदान हुन गई भविष्यमा वैदेशिक रोजगारीको दुष्चक्र तोड्न सम्भव हुने थियो ।

अहिले पनि वैदेशिक रोजगारमा सिकेको ज्ञान र कमाएको पैसा लगानी गरेर उद्यमशीलतातर्फ अग्रसर हुन सकेमा पनि यस प्रकारको दुष्चक्र विस्तारै तोड्न सकिन्छ । जलवायु परिवर्तन र हाम्रो अवैज्ञानिक सडक निर्माणले निम्त्याएको प्राकृतिक विपद्को दुष्चक्र रोक्न वातावरणमैत्री ढङ्गले विकासका काम गर्नुपर्ने आवश्यकता छ । पहाडी भेकमा अनावश्यक रूपमा डोजर लगाएर सडक खन्ने काम बन्द गर्नुपर्दछ । खनिएका सडकहरूमा पहिरो रोक्ने उपायहरू गरिनुपर्दछ ।

जलवायु परिवर्तनले ल्याउन सक्ने प्रभावको अध्ययन विश्लेषण गरेर मानवीय र भौतिक क्षति कम गर्ने उपायहरू अवलम्बन गरिनुपर्दछ । बाढीपहिरोको जोखिम रहेका बस्तीहरू समयमा नै स्थानन्तरण गरिनुपर्दछ । नेपाल अझ भूकम्पीय क्षेत्रमा पर्दछ । समयसमयमा भूकम्प आएर ठूलो स्तरको जनधनको क्षति गरेको अनुभव छ । भूकम्पले कच्ची घरहरू भत्काएर जनधनको क्षति गर्ने गर्दछ । तसर्थ, भूकम्पले नभत्काउँदै कमजोर घरका संरचनाहरू भत्काएर बलियो बनाउन सकिन्छ र बनाउनुपर्ने देखिन्छ । यसले अर्थतन्त्रमा निर्माण सामग्रीको माग बढाउने हुन्छ र अर्थतन्त्रले गति लिने हुन्छ । विपद् उन्मुख सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने भइसकेको छ ।

नेपालमा विकास अर्थशास्त्रमा भन्ने गरिएको गरिबीको दुष्चक्र मात्र होइन राजनीतिक अस्थिरताको दुष्चक्र, वैदेशिक रोजगारीको दुष्चक्र, प्राकृतिक विपद्को दुष्चक्र र भूपरिवेष्ठिताले सिर्जित परनिर्भरताको दुष्चक्र चलिरहेको छ

प्रकृतिले दिएको भूपरिवेष्ठितालाई बदल्न सकिँदैन । यसले गर्दा बाह्य व्यापार महँगो भएको छ र हाम्रो परनिर्भरता बढेको छ । यसै कारण नेपाली उत्पादनको प्रतिस्पर्धी क्षमता कमजोर रहेको छ । भूपरिवेष्ठिताले सिर्जित परनिर्भरताको दुष्चक्र तोड्न सूचना प्रविधि र पर्यटनलाई प्राथमिकतामा राख्नुपर्ने खाँचो छ । सूचना प्रविधि सेवा निर्यात गर्न भूपरिवेष्ठिताले रोक्न सक्दैन । त्यस्तै, नेपालको प्राकृतिक सुन्दरताका आधारमा बढीभन्दा बढी पर्यटक ल्याउन सकिएमा आन्तरिक अर्थतन्त्रमा माग सिर्जना गर्न सकिन्छ । पर्यटनमा आधारित भएर कृषि र उद्योग प्रवद्र्धन गर्न सकिन्छ । वास्तवमा भूपरिवेष्ठिताले सिर्जित परनिर्भरता र वैदेशिक रोजगारको कुचक्र तोड्न आन्तरिक रूपमा आर्थिक राष्ट्रवादलाई प्रश्रय दिनुपर्दछ । पर्यटक आकर्षण गर्न देशभित्र शान्तिसुरक्षा कायम हुनुपर्दछ । सँगै पर्यटकीय पूर्वाधार र सूचना प्रवाहमा कुशलतापूर्वक हुनुपर्ने हुन्छ ।

निष्कर्ष

नेपालमा छिटो छिटो राजनीति र सरकार परिवर्तन भए पनि आर्थिक विकास चाहिँ जनअपेक्षा र आवश्यकताबमोजिम भएको छैन । नेपालमा विगतभन्दा आर्थिक विकास भए पनि यसको गति तुलनात्मक रूपमा कमजोर छ । यसो हुनुमा नेपाली अर्थतन्त्रमा रहेका केही दुष्चक्रहरू जिम्मेवार छन् जसले गर्दा नेपालको विकासको गति बढ्न सकेको छैन । नेपालमा विकास अर्थशास्त्रमा भन्ने गरिएको गरिबीको दुष्चक्र मात्र होइन राजनीतिक अस्थिरताको दुष्चक्र, वैदेशिक रोजगारीको दुष्चक्र, प्राकृतिक विपद्को दुष्चक्र र भूपरिवेष्ठिताले सिर्जित परनिर्भरताको दुष्चक्र चलिरहेको छ । यी दुष्चक्रहरू सम्बोधन नगरून्जेलसम्म विकासको गति नबढ्ने तर जनअसन्तोष बढ्ने देखिन्छ । यस्ता दुष्चक्र तोन साझा अवधारणा, व्यक्तिगत र संस्थागत क्षमताको विकास, सहकार्य, सुशासनसहित प्रभावकारी राज्य व्यवस्था हुनुपर्ने देखिन्छ । यी दुष्चक्र तोडिन सकेमा राजनीतिक स्थायित्व पनि हासिल हुन सक्छ ।

(राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. प्रकाशकुमार श्रेष्ठको विचार नेपाल बैंकको वार्षिकोत्सव विशेषाङ्कबाट)

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime