काठमाडौं । सिन्धुली र रामेछापको सीमा रहेको सुनकोसी नदीको खैरेनी घाटमा बेली ब्रिज (फलामे पुल) जडान सुरु भएको छ ।
गत वर्षको असोजको भारी वर्षाका कारण रोशीखोला र सुनकोसी नदीमा आएको बाढीले नेपालथोक नजिक खैरेनी घाटको पक्की पुललाई क्षति पुराएपछि उक्त स्थानमा बेली ब्रिज जडान गर्न लागिएको हो । उक्त स्थानमा ७० मिटर लम्बाइ भएको बेली ब्रिज जडान हुनेछ । सिङ्गल लेन पुलको भार वहन क्षमता २० टन रहेको छ ।
विपद्बाट क्षति पुगेका सडक सञ्जाललाई नियमित रूपमा सञ्चालनका लागि नेपाल सरकारको अनुरोधमा भारतले उक्त बेली ब्रिज अनुदानमा उपलब्ध गराएको हो । भारतले अनुदानमा उपलब्ध गराएका १० वटा बेली ब्रिजमध्ये एउटा खैरेनी घाटमा जडान गर्न लागिएको हो ।
बेली ब्रिज खैरेनी घाटसम्म ढुवानी भइसकेको छ । जडानका लागि प्राविधिकहरू भारतबाट निर्माणस्थमाल पुगिसकेका छन् । बाढीले पुलसम्म पुग्ने सडक क्षति पुराएको थियो । उक्त स्थलसम्म पुग्ने सडकको ट्र्याक खोलिसकिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार खैरेनी घाट क्षेत्रको स्थलगत निरीक्षण गरी बेली ब्रिज जडानका बारेमा जानकारी लिएका थिए ।
मन्त्री घिसिङले विपद्का कारण पुलमा क्षति पुग्दा रामेछापका सुनापति, खाँडादेवी, दोरम्बा, काभ्रेपलान्चोकको चौंरी देउरालीलगायतका क्षेत्रको तराई र काठमाडौंसँगको सडक सम्पर्क टुटेको र आवतजावतमा कठिनाई भएकाले बेली ब्रिज जडान जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।
उनले गत असोजमा त्यस क्षेत्रको भ्रमण गरी उक्त स्थानमा बेली ब्रिज जडानका लागि सडक विभागका अधिकारीहरूलाई निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्