Skip to content

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै, एडिबीले करिब सवा ३ अर्ब ऋण दिने

nabil bank

काठमाडौं । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी बागमतीमा मिसाउन दैनिक रुपमा डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र निर्माणाधीन रहेको छ ।

काठमाडौंको त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल नदी बागमती नदी किनारमा अवस्थित २.५३ हेक्टर जग्गामा प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।

टुकुचालाई उक्त प्रशोधन केन्द्रमा पठाएर पानी प्रशोधन गरी सफा पानीलाई बागमती नदीमा खसालिने छ । प्रशोधन केन्द्रका सहउत्पादनको रुपमा ८०० किलोवाट विद्युतसमेत उत्पादन गरिनेछ ।

हाल त्रिपुरेश्वरतर्फ ढल प्रशोधन केन्द्रका भौतिक संरचना निर्माण भइरहेको छ । स्थानीयको अवरोधका कारण ललितपुरतर्फका संरचनाको निर्माण भने सुरु हुन सकेको छैन । ललितपुरतर्फ विद्युत उत्पादन हुने संरचना मात्र रहनेछन् । मुख्य ढल प्रशोधन गर्ने संरचना भने त्रिपुरेश्वरतर्फ निर्माणधीन छन् ।

निर्माणको समग्र भौतिक र वित्तीय प्रगति २० प्रतिशत छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार निर्माणधीन प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिए ।

मन्त्री घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परार्शदाता र निर्माण व्यवसायीसँग निर्माण सम्पन्न हुने तालिका, बेहोरिरहेका समस्या, समाधानका लागि गर्नुपर्ने नीतिगत निर्णयलगायतका विषयमा छलफल गरे ।

उनले हाल निर्माणस्थलका सबै ठाउँबाट काम गर्न सक्ने अवस्था रहेकाले सोही बमोजिम निर्माणका कार्य अगाडि बढाउन निर्देशन दिए । निर्माण स्थलमा रहेका रुख हटाउन करिब दुई वर्ष समय लाग्दा र ललितपुरतर्फ स्थानीयको अवरोध रहँदा निर्माणमा केही ढिला भएको उल्लेख गर्दै मन्त्री घिसिङले अब निर्माणमा तिब्रता दिइनु पर्ने बताए ।

उनले सरकारले बागमती नदीलाई सफा बनाउन यसका सहायक खोला तथा नदी किनार व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको उल्लेख गरे ।

निर्माण व्यवसायीले त्रिपुरेश्वरतर्फका संरचना तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको थियो ।
एशियाली विकास बैंक (एडिबी)को बागमती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको प्रशोधन केन्द्रको लागत ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।

केन्द्र निर्माणका लागि जेठ २०७९मा ठेक्का सम्झौता भएको थियो । म्याद थप गरिएके समयसहित केन्द्रको निर्माण मंसिर २०८३ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime