Skip to content

कफी कल्चरसँगै बढेको क्याफेः सञ्चालन गर्न देखी एक कप कफी बनाउनसम्म कति लागत लाग्छ ?

nabil bank

काठमाडौं । पछिल्ला केही वर्ष यता काठमाडौंको मुख्य चोक होस वा गल्ली, जताततै कफीको सुगन्धले स्वागत गर्छ। उपत्यका होस वा उपत्यका बाहिरका सहरहरू सबैतिर अहिले कफीको महत्त्व बढेको छ ।

हरेक सहरको सडक छेउ-छेउमा चम्किएका क्याफेहरू आधुनिक जीवनशैलीको संकेत दिन्छन्। केही वर्ष अघिसम्म चिया भनेपछि मानिसहरू उत्साहित हुन्थे । कफीभन्दा चियामा मानिसको बढी आकर्षण हुने गरेको थियो ।

अहिले भने धेरै युवाहरूको ‘पहिलो रोजाई’ कफी बनेको देखिन्छ। अहिले मानिसहरूको लागि क्याफे खानको लागिमात्र नभएर सामाजिक जमघट, अफिस मिटिङ, र व्यक्तिगत समय बिताउने सांस्कृतिक केन्द्रजस्तै बनेका छन्।

नेपालमा कफी कल्चर यसरी फैलिएको छ की सहरमा हरेक कर्पोरेट, प्रसासनिक क्षेत्र लगायतका भित्रि सहरहरुमा पनि क्याफे खुलेका हुन्छ। बिहान अफिस हिँड्ने वा अन्य काममा हिड्ने प्रत्येक व्यक्तिको अनुहारमा कफीको कप अपरिहार्य साधनजस्तै देखिन थालेको छ।

यसरी कपमा आउने यो कफी कसरी तयार हुन्छ? यसको लागत कति पर्छ? र यो बढ्दो संस्कृतिसँगै देशमा कफी खेती तथा आयातको अवस्था कस्तो छ? यी प्रश्नले नेपालमा कफीको वास्तविकता बुझ्न मद्दत गर्छ।

सस्तो भाडा भएको ठाउँमा एउटा कफीमात्र बनाउने क्याफे सञ्चालन गर्नको लागि सुरुवात खर्च ५ देखी १० लाखसम्मको आउँछ । ‘यती खर्च गरेर सञ्चालन गरेको क्याफे चल्नको लागि पनि ६ महिना देखी १ वर्षसम्म लाग्छ ।’ नाग पोखरी स्थित ‘२१ कफी हाउस’का सञ्चालक सुरज कृष्ण श्रेष्ठ बताउँछन् ।

यसैगरी, कफि बनाउने मेसिन किन्न न्युनतम २ लाखदेखी माथि पर्ने श्रेष्ट बताउँछन् । ‘क्याफेको लागि अनिवार्य भनेको नै कफी बनाउने मेसिन हो’ उनी भन्छन् ।

यता क्याफे सञ्चालन गर्दा सबैभन्दा ठुलो खर्च फर्निचर मै हुन्छ। क्याफेमा राखिने टेबल–चेयर, काउन्टर, बार–स्टुल, सोफा, डाइनिङ सेट लगायतका सबै मिलाएर न्यूनतम ३ लाख रुपैयाँदेखि माथिको लगानी अनिवार्यजस्तै हुन्छ। ‘क्याफे सञ्चालन गरेपछि त्यही अनुसारको कप सेट देखी सबै कुरा व्यवस्थापन गर्नु परो, जसको लागि १ लाख माथि नै खर्च लाग्छ’ श्रेष्ठ भन्छन् ।

फर्निचर पछि आउने अर्को महत्त्वपूर्ण खर्च हो कप सेट लगायतका सामाग्री । क्याफेलाई क्याफे बनाउन सुन्दर मग, ग्लास, डिस्पेन्सर, प्लेट, जग, वाटर गिलास, मिल्क जगसम्मका सम्पूर्ण सामग्री जोड्दा कम्तीमा १ लाखभन्दा माथिको रकम छुट्ट्याउनै पर्छ।

क्याफे सञ्चालनको लागि आन्तरिक डिजाइन अर्को महत्त्वपूर्ण पाटो हो । भित्तामा झुन्ड्याइने आर्ट, लाइटिङ, काठका फ्रेम, रंग, काउन्टर सेटअप, फोटो–जोन, ¥याक र सजावट । यी सबैका लागि २ लाख माथि खर्च लाग्छ ।

सुरुका ६ महिना देखि १ वर्षसम्म क्याफे होल्डमा राखेर ग्राहक बढाउनै पर्छ। यस अवधिमा दैनिक बिक्रीले सञ्चालन खर्च धान्न नसक्ने हुने श्रेष्ठ बताउँछन् । काठमाडौंका व्यावसायिक क्षेत्रमा महिनाको भाडा मात्र १ लाखदेखि माथि पुग्छ, त्यसमा कर्मचारीको तलब थपिँदा खर्च धेरै हुने उनी बताउँछन् ।

कफीको एक कप बनाउने खर्च क्याफे अनुसार फरक पर्छ, तर औसत हिसाबले एउटा सामान्य क्याप चिनो वा लाटे बनाउन ८० देखि ११० रुपैयाँसम्म उत्पादन लागत पर्ने नक्साल स्थित क्याफे सञ्चालन गरेर बसेका एक व्यवसायी बताउँछन् । यसमा कफी बनाउने मेसिन, कफी विन्स, दूध, ग्यास–विद्युत्, कप, कर्मचारीको समय, घर भाडा लगायत सबै खर्च मिसिन्छ।

यसमा ग्राहकले तिर्ने मूल्य भने अलि बढी हुने गरेको छ । ग्राहकले ठाउँ र क्याफे अनुसार फरक–फरक मूल्यमा कफी पिउन पाउँछन् । सामान्यतया कफीको औसत रेट १५० देखि २५० रुपैयाँबीचसम्म हुन्छ ।

कफीको मूल्य कफी व्यापारमा मुनाफा, खर्च र बजार स्थितिले निर्धारण गर्ने क्याफे व्यवसायीहरू बताउँछन् । क्याफेहरू बढ्दा–बढ्दै जाने, सजावट र घर भाडा लिएको स्थानमा लगानी बढ्दै जाने र अन्तर्राष्ट्रिय शैलीका मेनुहरू थपिँदै जाने क्रमले पनि कफी मूल्यलाई बढाएको छ ।

अहिले कफीको व्यवसाय केवल सहरसम्म सीमित छैन। शहरमा उपभोग बढ्दा–बढ्दै जाँदा गाउँमा पनि यसको खपत बढ्दो अवस्थामा रहेको देखिन्छ । जसको कारण कफी खेती गर्ने किसानहरू पनि यसमा आकर्षित भइरहेका छन्। तर, नेपालमा भएको आन्तरिक उत्पादनले भने कफीको माग धान्न सकेको छैन ।

नेपालमा कफी खेती विस्तार भएर दशकौं बितिसकेको छ । तर उत्पादन अझै पनि सानो आकारमा छ। किसान उत्साहित छन्, तर उत्पादन प्रणाली परम्परागत छ। आवश्यक सीप, प्राविधिक सहयोग, गुणस्तर अभिवृद्धि र बजार पहुँच पर्याप्त नभएको कारण कफि खेती सहज नभएको कृषकले बताउँदै आएका छन् ।

नेपालका विभिन्न ठाउँमा क्याफे कल्चर बढेसँगै ‘घरेलु कफी उपभोग’ मा पनि वृद्धि भएको देखिन्छ । पहिले घरमै कफी बनाउने चलन न्यून थियो । अहिले प्रत्येक घर तथा अफिसमा पनि कफीको उपयोग बढेको पाइन्छ । घरमै बनाइने कफीको लागत क्याफेको तुलनामा सस्तो हुन्छ। सामान्य ब्ल्याक कफी घरमा बनाउँदा ६–९ रुपैयाँमै तयार हुन्छ, दूध हालेर बनाउँदा पनि २५ रुपैयाँभन्दा माथि पुग्दैन ।

जसको कारण नेपालमा वर्षेनी करोडौँको कफी आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको तथ्यांक अनुसार कात्तिक महिनासम्म नेपालले बाहिरी मुलुकबाट ५ करोड ३९ लाख १ हजार रुपैयाँ बराबरको कफी जन्य बस्तु आयात गरेको छ ।

यस अवधिमा नेपालले ७३ हजार ६९८ किलो कफी आयात गरेको हो । कफी आयात गरेर सरकारले ३ करोड १९ लाख ६२ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । चालु आवको कात्तिक मसान्तसम्म आउँदा सबैभन्दा धेरै कफी भारतबाट भएको छ ।

नेपालमा कफी अस्ट्रेलिया, बहराइन, ब्रुनाई दारुस्सलाम, चीन, हङकङ, भारत, इजरायल, जापान, दक्षिण कोरिया, कुवेत, मलेसिया, ओमान, कतार, साउदी अरब, सिंगापुर, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य अमेरिका, क्यानडा, ग्रिस्र, साइपर्स, इस्ट तिमोर, जर्मनी, इटाली, नेदरल्याण्ड, न्युजिल्याण्ड, थाइल्यान्ड, युगान्डा र भिएतनाम आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ ।

नेपालमा कफीको माग उत्पादनले धान्न सक्नेभन्दा निकै धेरै छ। यसैले नेपाल कफी आयातमा ठुलो मात्रामा निर्भर भएको व्यवयासीहरु बताउँछन् । हाल क्याफे तथा होटल–रेस्टुरेन्टहरूले त्यही आयातित बिन्सबाट आफ्नो व्यापार चलाइरहेका छन्।

नेपालमा कफीको व्यवसाय विस्तार हुँदा त्यहाँका कफी खेती गर्ने किसानहरू पनि उत्साहित छन् । तर, उनीहरूलाई आवश्यक प्राविधिक तालिम, आधुनिक प्रविधि, रोग–व्याधिको नियन्त्रण, र उन्नत बीउ–बिजनको अभावले चुनौती दिएको छ। कफी खेतीका लागि नेपालका अनुकूल हावा–पानी छ, तर त्यसलाई अवसरमा बदल्ने सरकारी तथा निजी क्षेत्रको तयारी अधूरो रहेको कृषकहरुको गुनासो छ ।

‘क्याफे व्यवसाय बढ्नु निकै सन्देशमूलक हो, किनकि यो सेवा क्षेत्रमा रोजगारी सिर्जना गर्ने ठुलो माध्यम हो।’ एक क्याफे व्यवसायी भन्छन्, ‘युवा उद्यमीहरूलाई क्याफे खोल्न आकर्षक लाग्नुले आर्थिक क्रियाकलाप चलायमान बनाएको छ।’

नेपालमा उत्पादन भएको कफी अहिले विश्व बजारमा पनि जाने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको तीन महिनामा नेपालबाट विभिन्न मुलुकमा ३ करोड ३९ लाख ४१ हजार रुपैयाँ बराबरको कफी निर्यात भएको छ ।

चालु आर्थिक वर्षको चार महिनामा नेपालले १८ हजार २७२ किलो कफी उत्पादन गरेर निर्यात गरेको छ। यस अवधिमा नेपालबाट सबैभन्दा धेरै कफी निर्यात स्विट्जरल्यान्डतर्फ भएको छ । स्विट्जरल्यान्डले नेपालबाट चार महिनामा ७ हजार ६९८ किलो कफी निर्यात गरेको छ ।

यसैगरी, नेपालबाट अष्ट्रिया, क्यानडा, चेक गणतन्त्र, जर्मनी, हङकङ, हङ्गेरी, जापान, दक्षिण कोरिया, मलेसिया, पोल्यान्ड, स्विट्जरल्यान्ड, ताइवान, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य अमेरिका, नर्वे र भारतमा कफी निर्यात हुने गरेको भन्सार विभागले जनाएको छ ।

नेपालमा कफी उत्पादनको सम्भावना धेरै रहेको विज्ञहरूले बताउँदै आएका छन् । पर्वतीय भू–भागमा कफी खेती अत्यन्त अनुकूल हुन्छ। उत्तरी गण्डकी, बागलुङ, स्याङ्जा, पाल्पा, गुल्मी, रामेछाप, ललितपुर, सिन्धुपाल्चोक, इलाम जस्ता ठाउँमा कफी खेती विस्तार हुँदै गएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime