अटोमोबाइल क्षेत्र खासगरी विद्युतीय सवारीका लागि सन् २०२५ सम्झनलायक वर्ष बन्यो । अटो क्षेत्रको इतिहासमै पहिलो पटक दुईवटा अटो शो (नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शो) आयोजना भए । दुई अटो शोले नयाँ किसिमको उत्साह दियो । मौसमी चुनौती र देशमा भएको राजनीतिक उथलपुथलले अटो शोमा बुकिङ भएका गाडी ग्राहकलाई दिन पनि हम्मेहम्मे नै भयो ।
गत असारदेखि नै चीन जोड्ने रसुवागढी र तातोपानी नाका ठप्पप्रायः छन्। चाडवाडको मुखमा पनि यी दुबै नाकामा समस्या देखेसँगै व्यवसायीकै पहलमा मुस्ताङको कोरला नाका खुला गरियो । निकै चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच गाडी काठमाडौंसम्म ल्याइयो । देशभर रहेका धेरै ग्राहकले दसैं अवधिमै कार खरिद गरे । हुन त, नेपालमा हल्ला मात्र बढी हुने गर्छ। तर, यसबीचमा विद्युतीय सवारीसाधन प्रयोगमा नेपालले गरेको प्रगति लोभलाग्दो छ । युरोपदेखि अमेरिकासम्मको बजारमा नेपाली अटोमोबाइल बजारको चर्चा हुने गरेको छ ।
नेपालमै पनि ईभीप्रति नकारात्मक विचार राख्नेहरू सकारात्मक हुन थालेका छन् । नेपाली उपभोक्ता बुझ्ने र परीक्षण गर्न रुचाउने वर्गमा पनि पर्छन्, जुन कुरा पछिल्लो पाँच वर्षमा भएको ‘ईभी बुम’ ले प्रस्ट गर्छ ।
विद्युतीय गाडीको ‘पर्फर्मेन्स’ आमउपभोक्ताले बुझिसकेका छन् । उत्तरतिर जोड्ने नाकाको अवस्थाले थप खराब बाटामा पनि ईभीको पर्फर्मेन्स राम्रो हुने देखाएको छ । त्यसमा घरकै बिजुलीबाट ईभी चार्ज गर्न सकिने भएपछि के चाहियो र ? नेपालले स्वच्छ ऊर्जा विकासमा पनि राम्रो काम गरिरहेको छ । यसले विद्युतीय सवारी प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । विद्युतीय सवारीसाधन अब सहरी क्षेत्रका लागि मात्र होइन, जस्तोसुकै स्थानमा पनि जान सक्छ भन्ने सन्देश नेपालबाट विश्वभर गइरहेको छ । धेरै कुरा सकारात्मक छन् तर केहीमा भने सुधार गरेरै अगाडि बढ्नुपर्छ ।
अहिले पनि सार्वजनिक सवारीसाधनको रुपमा विद्युतीय गाडीको नकारात्मक प्रचार गर्ने भेटिन्छन् । सवारसाधन आफैँमा खराब हुँदैनन् । त्यसलाई सञ्चालनमा ल्याउन चाहिने पूर्वाधारको खोजी सबैभन्दा पहिला हुनुपर्छ । यस्तो पूर्वाधार निजी क्षेत्रले मात्रै बनाउन सक्दैन । सरकार र व्यवसायीबीचको संयुक्त लगानीमा यस्ता पूर्वाधार निर्माण गर्नुपर्छ ।
चक्रपथजस्ता सडकमा मास ट्रान्सपोर्टको रूपमा २ सय देखि ३ सय जनासम्म बोक्ने विद्युतीय बस प्रयोग गर्न सकिन्छ । यसले विकराल बन्दै गएको ट्राफिक जामको समस्या केही हदसम्म हटाउनेछ भने वायु प्रदूषण नियन्त्रण सहयोग पुग्नेछ । साना र साँघुरा सडकमा अहिले चलिरहेका विद्युतीय माइक्रोबस निकै उपयोगी बन्न सक्छन् ।
अटोमोबाइल वा अन्य निर्यातमा आधारित ठूलो उद्योग नेपालसँग छैन । हाम्रा तुलनात्मक लाभका क्षेत्र सीमित छन् । त्यसमा हरित ऊर्जा विकास र पर्यटन क्षेत्र मुख्य रूपमा अगाडि आउँछन् । यी दुवै क्षेत्र एकअर्काका पूरक पनि हुन् । अहिले विश्वव्यापी रूपमा ग्रिन टुरिजमको अवधारणा अघि बढिरहेको छ । ग्रिन टुरिजमको ईको सिस्टमभित्र विद्युतीय सवारीसाधन जोडेर जानुपर्ने देखिन्छ ।
विद्युतीय सवारी बिक्रीपछिको सेवामा आयातकर्ता कम्पनीले करोडौँ लगानी गर्नुपर्नेछ । सरकारको अस्थिर नीतिले गर्दा लगानी बढाउन कम्पनीहरूलाई चुनौती छ
हाम्रो आवश्यकता, विश्व अटोमोबाइल बजार र दिगो अर्थतन्त्रको विषयमा बहस हुनुपर्छ । त्यसका लागि निजी क्षेत्र र उपभोक्ता तयार देखिएका छन् । सरकार पनि अग्रसर हुनुपर्छ । नेपाल आउने अधिकांश पर्यटक हाम्रा हिमाल र पहाडबाट लोभिएर आउने हुन् । हिमाल बचाउन पनि वातावरण जोगाउनुपर्छ । त्यसैले यस्ता पर्यटकलाई वातावरणमैत्री सवारीसाधनमा सेवा दिन सक्ने हो भने विश्वभर त्यसको चर्चा हुनेछ ।
पर्यटक केवल सुन्दर गन्तव्य मात्रै खोजेर हिँड्दैनन् । उनीहरूको चाहना वातावरणमैत्री सामान प्रयोग, स्थानीय समुदायसँग घुलमिल हुने र त्यहीँका वस्तुलाई प्रवद्र्धन गर्न सहयोग गर्नेमा पनि देखिएको छ । त्यसैले प्राकृतिक सौन्दर्य र साँस्कृतिक विविधता भएको देशमा पर्यटनसँग विद्युतीय सवारीसाधन जोड्ने हो भने यसले जलवायु परिवर्तनका क्षेत्रमा खर्च बढाउन शक्तिराष्ट्रलाई दबाब पनि दिन सकिन्छ । बढिरहेको आन्तरिक पर्यटनलाई विद्युतीय सवारीले थप तीव्र गतिमा अगाडि बढाएको देखिन्छ । त्यसले अर्थतन्त्रलाई नयाँ ढंगले अगाडि लगेको छ ।
नेपालमा रोजगारी सिर्जना कमजोर भएकै कारण लाखौँ युवा हरेक वर्ष देश छाडेर गइरहेका छन् । बढ्दो जनशक्ति पलायन रोक्न पनि विद्युतीय सवारीसाधन उपयोगी बन्ने देखिँदैछ । यस क्षेत्रमा रोजगारीका धेरै अवसर पनि सिर्जना भइरहेका छन् । अहिले चार्जिङ स्टेसनमा क्याफे, रेस्टुरेन्ट, स्वीमिङ पुलजस्ता पूर्वाधार बन्दैछन् । त्यही चार्जिङ स्टेसन छेउमा स्थानीय उत्पादनसमेत बिक्री हुन थालेका छन् । अहिले मनाङ, मुस्ताङजस्ता भूभागमा चार्जिङ स्टेसन राख्न थालिएको छ । जबकि यी स्थानमा पेट्रोलपम्प बनेका थिएनन् ।
ईभी बिल्कुलै नयाँ क्षेत्र भएका कारण बिक्रीपछि चाहिने सेवामा पनि ठूलो रोजगारी सिर्जना हुने अवस्था छ । चाहे त्यो ठूलो सर्भिस सेन्टरमा होस् या सर्भिस पोइन्ट। तीव्र गतिमा ईभीको स्वीकार्यता बढेसँगै हामीलाई पनि दक्ष जनशक्ति निर्माणमा काम गर्नुपर्ने अवस्था छ । चाडपर्वको समय हामी नै जनशक्ति अभाव झेलिरहेका छौँ । पार्ट टाइमरको रूपमा पनि मानिस खोजेर काम गर्नुपर्ने अवस्था छ ।
विद्युतीय सवारीसाधनको बिक्रीले विश्वमा नेपालको जति चर्चा भइरहेको छ, त्यति नै चुनौती पनि छन् । सरकारले कुन दिन कस्तो नीति लिन्छ भन्ने अन्योलमा काम गर्नुपर्ने अवस्था छ । हरेक वर्षको बजेट हेरेर बिक्रेताले योजना बनाउनुपर्नेछ । ईभी बिक्री गर्नेले हरेक दिन लगानी पनि बढाउनुपर्छ । तर, सधैँ अन्योलमा लगानी विस्तार गर्ने आँट व्यवसायीमा कसरी आउँछ ?
प्राइस वारको प्रभाव रिसेल भ्यालु घट्ने, सर्भिस तथा पार्टस्को समस्या देखिने र कम गुणस्तरका सवारीसाधन आयात हुने कुरामा पर्छ
बिक्रीपछिको सेवामा आयातकर्ता कम्पनीले करोडौँ लगानी गर्नुपर्नेछ । सरकारको अस्थिर नीतिले गर्दा लगानी बढाउन कम्पनीहरूलाई एक किसिमको चुनौती नै छ । अब विद्युतीय सवारीसाधनलाई दिगो र भरपर्दो बनाउन काम गर्नुपर्छ । त्यसका लागि विषय–विज्ञको टिम ल्याएर नै दीर्घकालीन योजना बनाउनुपर्छ ।
अहिले बजारमा नकारात्मक ‘प्राइस वार’ भइरहेजस्तो पनि देखिन्छ । चलिरहेको यो प्राइस वारले उपभोक्तालाई तत्कालका लागि फाइदा पुगेजस्तो देखिए पनि यसले अस्वस्थ प्रतिस्पर्धा भने निम्त्याउँछ । त्यसको परिणाम फेरि उपभोक्ताले नै भोग्नुपर्ने अवस्था आउन सक्छ । प्राइस वारको प्रभाव रिसेल भ्यालु घट्ने, सर्भिस तथा पार्टस्को समस्या देखिने र कम गुणस्तरका सवारीसाधन आयात हुने कुरामा पर्छ । यस्तो अवस्था आउन नदिन पनि गुणस्तर मापदण्डका लागि सरकारी तबरबाटै काम गर्न जरुरी देखिन्छ ।
विद्युतीय सवारीमा हाम्रो अथाह सम्भावना छ । पेट्रोकेमिकलको आयात घटाउने, वातावरणीय प्रभाव कम गर्ने र आफ्नै विद्युत् उत्पादन प्रयोग बढाउने साधन नेपाल र नेपालीकै भविष्य हो । विश्वका धेरै देशलाई ईभी फाइदाजनक नलाग्न सक्छ । खाडीमा पेट्रोलियमको त्यत्रो भण्डारण छ, तिनलाई ईभीको चर्चामै सामेल हुनु नपर्ने होला। तर, उनीहरू पनि ईभी प्रयोग बढाउने काम गर्दैछन् । यसले के संकेत गर्छ भने ईभी यातायात क्षेत्रमा निर्विकल्प भविष्य हो ।
हाम्रा सहरदेखि ग्रामीण बस्ती, व्यतिmगत सवारीदेखि सरकारी कार्यालयसम्मका साधन ईभी बन्न थालेका छन् । पेट्रोलियम पदार्थ आयातमा थोरै भए पनि ईभीले बचत गराउन थालेको छ । अहिलेकै रफ्तारमा ५ वर्ष ईभी बिक्री हुने हो भने नेपालमा पेट्रोल आयात आधाले घट्ने अनुमान गर्न सकिन्छ । त्यसका लागि दुईपांग्रे सवारीसाधनलाई पनि योजना बनाएर ईभीमा बदल्नुपर्छ ।
चीन र भारतको बीचमा बसेर हामीले राष्ट्रिय महत्वका विषयमा ठोस चित्र कोर्न नसके खण्डमा व्यापारिक लाभ पाउन कठिन हुन्छ । हाम्रा दक्ष जनशक्ति यहिँ राख्न मुस्किल पर्छ । त्यसैले हाम्रो आवश्यकता, विश्व अटोमोबाइल बजार र दिगो अर्थतन्त्रको विषयमा बहस हुनुपर्छ । त्यसका लागि निजी क्षेत्र र उपभोक्ता तयार देखिएका छन् । सरकार पनि अग्रसर हुनुपर्छ ।
श्रेष्ठ युवा व्यवसायी हुन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अर्थनीतिबाट







प्रतिक्रिया दिनुहोस्