काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ५ महिनामा नेपालले भारतसँग ३ खर्ब ३९ अर्ब दुई करोडभन्दा बढी व्यापार घाटा व्यहोरेको छ ।
यो अवधिमा भारतबाट ४ खर्ब ३४ अर्ब ६ करोड ४२ लाख रुपैयाँको वस्तु आयात भएको छ भने ९५ अर्ब ५ करोड २० लाख रुपैयाँको निर्यात भएको छ ।
यस्तै छिमेकी मुलुक चीनसँग एक खर्ब ६३ अर्ब ७३ करोड ४८ लाखको आयात भएको छ भने ४६ करोड ६८ लाखको निर्यात भएको छ । यो अवधिमा नेपालले १ खर्ब ६३ अर्ब २६ करोड ८० लाखको घाटा व्यहोरेको छ ।
नेपालले व्यापार नाफा गरेका मुलुकहरुमा भने रोमानिया पहिलो स्थानमा देखिएको छ । पछिल्लो ५ महिनामा रोमानियासँग नेपालको कूल वैदेशिक व्यापार नाफा ६ करोड ३४ लाख ६९ हजार छ । त्यस्तै स्वीडेन, इराकलगायतका मुलुकसँग नेपालको व्यापार नाफा छ ।
यो अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागका अनुसार पछिल्लो पाँच महिनामा ४५ अर्ब ६० करोड ६२ लाख ११ हजार बराबरको डिजेल, २७ अर्ब ३३ करोड दुई लाख १४ लाख बराबरको पेट्रोल र २२ अर्ब ३९ करोड ४६ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ । १९ अर्ब १३ करोड ६९ लाखको स्मार्टफोन, ४६ अर्ब ९७ करोडको कच्चा सोयाबिन तेल, २१ अर्ब ८४ करोड ६३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ ।
नेपालले बढी निर्यात गरेका वस्तुमा सोयाबिन तेल पहिलो स्थानमा देखिएको छ । यो अवधिमा रू ४६ अर्ब ५५ करोड ८६ लाख ६६ हजार बराबरको सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै रू पाँच अर्ब ५३ करोड ३२ लाख बराबरको ठूलो अलैँची, रू चार अर्ब १३ करोड ३४ लाख बराबरको कार्पेट र रू तीन अर्ब ७३ करोड बराबरको सूर्यमुखी तेल निर्यात भएको छ ।
मङ्सिर मसान्तसम्म मुलुकले कूल आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजारको वैदेशिक व्यापार गर्दा छ खर्ब ४९ अर्ब ६८ करोड घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको स्थिति प्रतिवेदनअनुसार यो अवधिमा सात खर्ब ६६ अर्ब १८ करोड ९१ लाखको आयात र एक खर्ब १६ अर्ब ५० करोडको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १५.८३ र निर्यात ५८.१७ प्रतिशतले बढेको विभागले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्