काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) बीच ७ बुँदे सहमति भएको छ। सहमतिअनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा साझा एजेन्डा र कार्यक्रमसहित सहकार्य गर्ने र चुनाव जितेमा बालेन साहलाई प्रधानमन्त्रीका रूपमा अघि सारिने उल्लेख छ।
सहमति पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय, आर्थिक–सामाजिक समानता, लोकतान्त्रिक अभ्यासको सुदृढीकरण र वैकल्पिक राजनीतिक शक्तिको निर्माणलाई मुख्य आधार बनाइएको छ। विद्यमान राजनीतिक व्यवस्थाबाट निराश नागरिकको अपेक्षा सम्बोधन गर्दै नयाँ राजनीतिक संस्कार स्थापित गर्ने दुवै पक्षको प्रतिबद्धता सहमतिमा उल्लेख छ।
सहमति अनुसार रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ यथावत रहनेछ भने बालेन साह साझा प्रधानमन्त्री उम्मेदवार रहनेछन्। रास्वपाका केन्द्रीय सभापति रवि लामिछाने रहने र बालेन साह दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार हुने व्यवस्था गरिएको छ।
सहमति कार्यान्वयनका लागि पार्टीको संगठनात्मक संरचना थप सशक्त र फराकिलो बनाइने, योग्य, समावेशी र सार्वजनिक छवि भएका व्यक्तिलाई जिम्मेवारी दिने उल्लेख छ। साथै सहमतिलाई कानुनी र आधिकारिक मान्यता दिलाउन निर्वाचन आयोगमा आवश्यक प्रक्रिया पूरा गरिने जनाइएको छ।









प्रतिक्रिया दिनुहोस्