काठमाडौं । बीमा कम्पनीहरुले गत असोजमा गएको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको दावी भुक्तानी १९ करोड ६४ लाख रुपैयाँ गरेका छन् । उक्त क्षतीको कूल ७९९ वटा प्रारम्भिक बीमा दाबी परेको थियो ।
बीमा कम्पनीहरुमा ४ अर्ब १९ करोडरुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको हो । दावी परेको रकममध्ये हालसम्ममा कूल २०९ वटा दाबीको कूल दाबी रकम करिव १९ करोड ६४ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी भएको अद्यावधिक तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ ४१९ वटा प्रारम्भिक दाबीको प्रारम्भिक दाबी रकम करिव ३ अर्ब ५८ करोड ५४ लाख रुपैयाँमध्ये कूल ५३ वटा बीमा दाबीको करिव १६ करोड ४४ लाख रुपैयाँ र इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा बीमा दाबीको करिव ५२ करोड ३० लाख रुपैयाँमध्ये कूल ९ वटा दाबीको करिव १ करोड ४० लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी भएको छ ।
यसैगरी, कृषि तथा बाली बीमातर्फ २१७ वटा प्रारम्भिक बीमा दाबीको करिव ४ करोड १७ लाख रुपैयाँ प्रारम्भिक बीमा दाबीमध्ये कूल १२७ वटा दाबीको करिव ५० लाख रुपैयाँ, मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको करिव २ करोड ८२ लाख रुपैयाँ दाबी रकममध्ये कूल १७ वटा दाबीको करिव १ करोड २७ लाख रुपैयाँ र सामुद्रिक बीमातर्फ कूल ४ वटा प्रारम्भिक बीमा दाबीको करिव १० लाख ६५ हजार रुपैयाँ प्रारम्भिक बीमा दाबी रकममध्ये कूल ३ वटा दाबीको करिव ३ लाख २७ हजार रुपैयाँ दाबी रकम बीमितलाई भुक्तानी भएको छ ।
यस्तै, मोटर बीमा (सार्वजनिक) तर्फ कूल १० वटा दाबीको करिव १ करोड १९ लाख रुपैयाँ र लघुबीमातर्फ कूल २ वटा प्रारम्भिक दाबीको करिव १२ लाख रुपैयाँ प्रारम्भिक बीमा दाबी रकम भुक्तानी हुन बाँकी रहेको अद्यावधिक तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।












प्रतिक्रिया दिनुहोस्