Skip to content

‘भर्चुअल’ सम्पत्तिका ६५८ शंकास्पद कारोबारः वाणिज्य बैंकदेखि स्टक ब्रोकरको प्रयोग, २६-३० वर्षका युवाको संलग्नता बढी

काठमाडौ‌ । नेपालमा अवैध मानिएको ‘भर्चुअल’ सम्पत्तिको शंकास्पद कारोबार बढ्दै गएको छ ।

नेपाल राष्ट्र बै‌कको वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको भर्चुअल सम्पत्ति (भर्चुअल एसेट) सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन, २०२५ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट, २०२५ अन भर्चुअल एसेट) अनुसार पछिल्लो ५ वर्षमा ६५८ शंकास्पद कारोबारको भएको छ ।

शंकास्पद कारोबार ‘रिपोर्ट’अनुसार सबैभन्दा धेरै ९१ प्रतिशतभन्दा बढी अर्थात् ६ सय वटा वाणिज्य बैंकका छन् । त्यस्तै, विकास बैंकका ४८, रेमिट्यान्स कम्पनीका ६,वित्त कम्पनीका २, भुक्तानी प्रणाली सञ्चालक १ र १ स्टक ब्रोकरसँग सम्बन्धित रहेको छ ।

भर्चुअल सम्पत्ति (भर्चुअल एसेट) को कारोबारमा बिटकोइन, इथेरियम जस्ता क्रिप्टो, स्टेबलकोइन, युटिलिटी टोकन तथा अन्य टोकनाइज्ड एसेट भर्चुअल पर्छन । यी सबै कारोबार नेपालमा अवैध हुन् ।

प्रतिवेदनअनुसार सन् २०२१ जनवरीदेखि २०२५ जुलाईसम्ममा ६५८ शंकास्पद कारोबार र शंकास्पद गतिविधिको जानकारी राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी एकाइले पाएको जनाएको छ । सन् २०२१ मा १३, सन् २०२२ मा १७३, सन् २०२३ मा १३८ र सन् २०२४ मा २५२ वटा यस्तो कारोबार र गतिविधिको जानकारी एकाइलाई प्राप्त भएको जनाएको छ ।

यसरी जानकारीमा आएका शंकास्पद कारोबार र गतिविधिलाई राष्ट्र बैंकले विभिन्न निकायमा पठाउने गरेको छ ।

प्रतिवेदनअनुसार पछिल्लो पाँच वर्षमा राष्ट्र बैंकले २३२ वटा नेपाल प्रहरीलाई, ११५ वटा राजस्व अनुसन्धान विभागलाई, ६ वटा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई, तीनवटा राष्ट्र बैंकअन्तर्गतको भुक्तानी सेवा विभागलाई र एउटा आन्तरिक राजस्व विभागलाई पठाएको छ ।

भर्चुअल सम्पत्तिको शंकास्पद कारोबार गर्ने व्यक्तिमा २६ देखि ३० वर्षका ३५ प्रतिशत, २१ देखि २५ वर्षसम्मका २० प्रतिशत, ३१ देखि ३५ वर्षका २० प्रतिशत, ३६ देखि ४० वर्षका १२ प्रतिशत, ४१ वर्षभन्दा माथिका १० प्रतिशत र १६ देखि २० वर्ष उमेर समूहका ३ प्रतिशत रहेका छन् ।

शंकास्पद कारोबारमा सबैभन्दा धेरै २९ प्रतिशत विद्यार्थी रहेको पाइएको छ । त्यस्तै, २१ प्रतिशत जागिरे, १९ प्रतिशत विभिन्न व्यवसायका मालिक, ५ प्रतिशत कृषि, २ प्रतिशत इञ्जिनियर, ९ प्रतिशत वैदेशिक रोजगारमा गएका व्यक्ति तथा ४ प्रतिशत स्वरोजगार रहेका छन् ।

चिकित्सक, धार्मिक व्यक्ति र गृहिणी क्रमशः १–१ प्रतिशत रहेका छन् । २६ प्रतिशत व्यक्तिको बैंक अकाउन्ट, क्रिप्टो, विटक्वाइन, हाइपर फन्ड, हाइपरभर्स, एमटी क्वाइनजस्ता भर्चुअल सम्पत्तिको खरिद–बिक्रीमा जोडिएको भनेर उनीहरुकै बैंक स्टेटमेन्टबाट देखिएको छ ।

१६ प्रतिशत व्यक्ति भर्चुअल सम्पत्तिको कारोबारमा संलग्न रहेको भनेर विभिन्न अनौपचारिक स्रोतबाट र इमेलबाट जानकारी पाएको, दुई प्रतिशत व्यक्तिले क्रिप्टो व्यापारका लागि अर्को व्यक्तिको बैंक खाता प्रयोग गर्ने (मनी म्युल) को प्रयोग गर्ने गरेका कारण शंकामा परेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, ५ प्रतिशत क्रिप्टो विटक्वाइन तथा स्केल टोकन खरिदका लागि डलर कार्डको प्रयोग गर्ने गरेको, २ प्रतिशत ग्याम्बलिङ र क्रिप्टोमा संलग्न भएको, २ प्रतिशत क्रिप्टो र हुन्डीमा संलग्न रहेको तथा ४ प्रतिशतले क्रिप्टो फ्रड अर्थात् अरू व्यक्तिले त्यस्तो कारोबारका लागि प्रेरित गरेको प्रतिवेदनमा उल्लेख छ ।

४२ प्रतिशत भने उनीहरुको कारोबारको अवस्था हेरेर शंकामा परेको प्रतिवेदनमा जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi