काठमाडौँ । गत आर्थिक वर्षमा ११ वटा जलविद्युत् कम्पनीले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिए । ती कम्पनीले ८ अर्ब ४४ करोड २५ लाख २० हजार २२३ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरे ।
सूचीकृत कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा धितोपत्रसम्बन्धी ऐन, २०६३ तथा कम्पनी ऐन, २०६३ ले तोकेको व्यवस्थाअनुसार गर्छन् । जलविद्युत् कम्पनीको हकमा हकप्रद सेयर निष्कासन गर्दा विद्युत् नियमन आयोगबाट पनि अनुमति लिनुपर्ने व्यवस्था छ ।
जलविद्युत् कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा कूल रकम, उक्त रकम खर्च गर्ने शीर्षक उल्लेख गरेर धितोपत्र बोर्डमा बुझाउनुपर्छ । बोर्डले स्वीकृत गरेपछि मात्रै हकप्रद सेयर निष्कासन गर्न पाउने व्यवस्था छ । तर, हकप्रद सेयर वापत प्राप्त रकम विवरणपत्रमा कम्पनीले उल्लेख गरेअनुसारको प्रयोजनमा खर्च भएको छ वा छैन भन्ने विषयमा भने नियामक निकायले ध्यान दिएको देखिन्न् ।
गत आवमा हकप्रद निष्कासन गर्न बोर्डबाट अनुमति पाएका जलविद्युत् कम्पनीमध्ये पिपुल्स पावर र खानी खोला हाइड्रोपावरको विवरणपत्र भेटिएन । बाँकी नौ कम्पनीले आफ्नो विवरणपत्रमा उल्लेख गरेको उद्देश्यअनुसार खर्च गरेका छन् की छैनन् भनेर हेरिएको छ । केही कम्पनीले उद्देश्यअनुसार लगानी गरेका छन् भने केही कम्पनीले उद्देश्यअनुसार लगानी गरेका छैनन् ।
जोशी हाइड्रोपावर
जोशी हाइड्रोपावर कम्पनीले चुक्ता पुँजीको १ः०.६५ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले २०८२ साउन १५ गतेदेखि चुक्ता पुँजीको ६५ प्रतिशत, प्रतिकित्ता एक सय रुपैयाँका दरले २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबरको २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रद निष्कासन गर्नुपूर्व कम्पनीको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ थियो भने त्यसपछि ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुगेको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन गरेर आएको रकम तीन मेगावाटको माथिल्लो पुवा–१ जलविद्युत् आयोजनाका लागि लिएको कर्जा भुक्तानी गर्ने उद्देश्य राखेको थियो ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याजबापत १५ करोड ५७ लाख १० हजार रुपैयाँ, संस्थापक वीरेन्द्रबहादुर न्यौपानेबाट लिएको सापटी बापतको पाँच करोड ६८ लाख ३५ हजार १९५ रुपैयाँ तिर्ने उद्देश्य राखेको थियो । त्यसबाहेक आयोजनामा भौतिक संरचनाको मर्मत संभारका लागि २ करोड ८८ लाख ६४ हजार ८०४ रुपैयाँ खर्च गर्ने कम्पनीको उद्देश्य थियो ।
कम्पनीसँग आर्थिक वर्ष २०७८/७९ देखि आव २०८०/८१ सम्म १३ करोड ३१ लाख १३ हजार ४३९ रुपैयाँ तिर्नुपर्ने दायित्व थियो । उक्त दायित्व भुक्तानी गर्ने उद्देश्यले उठाइएको रकम सोहीअनुरुप खर्च भयो वा भएन भन्ने जानकारी वित्तीय विवरणमा छैन । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छैन । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुधिर लामिछानेले हकप्रद सेयर निष्कासन गर्दाको उद्देश्यअनुसार नै खर्च गरेको दाबी गरे । उनका अनुसार हकप्रद सेयर निष्कासनका लागि प्रोस्पेक्टस बनाउने समयमा कम्पनीसँग १३ करोड ३१ लाख १३ हजार ४३९ रुपैयाँ बैंकको कर्जा थियो । चालु आवको पहिलो त्रैमासमा कर्जा रकम घटेर साढे ११ करोड रहेको बताए ।
लिबर्टी इनर्जी कम्पनी
लिबर्टी इनर्जी कम्पनीले २०८१ मंसिर १६ देखि पुस ७ गतेसम्म १ः०.५ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले ७५ करोड रुपैयाँको हकप्रद सेयर निष्कसन गरेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । कम्पनीले २५ मेगावाटको माथिल्लो दोर्दी ए जलविद्युत् आयोजनाका लागि २०८१ असार मसान्तसम्ममा विभिन्न ६ वटा बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब १ लाख ५९ हजार ३५१ रुपैयाँ ऋण लिएको थियो ।
कम्पनीको विवरणअनुसार २०८१ पुस मसान्तसम्म दीर्घकालीन कर्जा ४ अर्ब ८९ करोड ३६ लाख ४१ हजार ४३६ रुपैयाँ र अल्पकालीन कर्जा ४ करोड ९ लाख ६६ हजार ५४ रुपैयाँ थियो । त्यसको तीन महिनापछि अर्थात चैत मसान्तमा कम्पनीले दीर्घकालीन कर्जा ५३ करोड ३८ लाख ३४ हजार ८५७ रुपैयाँले घटाएर ४ अर्ब ३५ करोड ९८ लाख ६ हजार ५७९ रुपैयाँ बनाएको थियो । तीन महिनामा कम्पनीले ५३ करोड ३८ लाख ३४ हजार ८५७ रुपैयाँ कर्जा तिरेको देखिन्छ । तर, अल्पकालीन कर्जा भने यो अवधिमा नघटी बढेको देखिएको छ ।
पुस मसान्तमा ४ करोड ९ लाख ६६ हजार ५४ रुपैयाँ रहेको अल्पकालीन कर्जा तीन महिनापछि अर्थात चैत मसान्तमा कर्जा १२ करोड २८ लाख रुपैयाँले बढेर १६ करोड ३७ लाख ६६ हजार ५४ रुपैयाँ पुगेको छ । चैत मसान्तको विवरण हेर्दा ७५ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गरेर कम्पनीले ५३ करोड ३८ लाख ३४ हजार ८५७ रुपैयाँ दीर्घकालीन कर्जा घटाएको छ । यो रकम निर्माण कम्पनीलाई समेत भुक्तानी भएको लिबर्टीका कम्पनी सचिव धुव्रकुमार श्रेष्ठले जानकारी दिए । हकप्रदबाट प्राप्त बाँकी २१ करोड ६१ लाख ६५ हजार १४३ रुपैयाँ ऋण भुक्तानीमा खर्च भएको देखिएन ।
उक्त अवधिमा कम्पनीले वस्तु तथा सेवा खरिदमा केही रकम भुक्तानी गरेको छ । पुस मसान्तसम्म ट्रेड पेइबल ३ करोड १ लाख ३६ हजार ५७ रुपैयाँ रहेको थियो । चैत मसान्तमा २ करोड २६ लाख ८ हजार ४९१ रुपैयाँले घटेर ७५ लाख २७ हजार ५६६ रुपैयाँ रहेको थियो । कम्पनीले हकप्रदको पैसा दीर्घकालीन कर्जा र टे«ड पेइबलमा भएको खर्च गरेर १९ करोड ३५ लाख ५६ हजार ६५२ रुपैयाँ उद्देश्य अनुसार खर्च गर्न बाँकी थियो ।
कम्पनीले २०८२ वैशाख १७ गते २४.६ मेगावाट क्षमताको बडिगाड खोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादनको विद्युत् विकास विभागबाट पाएको थियो । १२ करोड ५ लाख २९ हजार रुपैयाँ उक्त आयोजनामा खर्च गरेको जनाएको छ । हकप्रद सेयर निष्कासन गरेको रकम ७ करोड ३० लाख २७ हजार ६५२ रुपैयाँ बाँकी देखिन्छ । कम्पनी सचिव श्रेष्ठले बाँकी रकम अन्य आयोजना विकासमा लगानी भएको बताए ।
कुन आयोजनामा कति रकम भन्ने गत आवको चैत मसान्तको वित्तीय अवस्थामा भने स्पष्ट छैन । श्रेष्ठले हकप्रदबाट आएको पैसा उद्देश्यअनुसार नै खर्च गर्ने गरेको जिकिर गरे । कम्पनीले हकप्रद सेयर निष्काशन पश्चात माथिल्लो दोर्दी ए जलविद्युत् आयोजना निर्माणका लागि विभिन्न बैंकहरुसँग लिएको ऋणमध्ये केही रकम भुक्तानी गर्ने र बाँकी रहेको रकम माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम भुक्तानी गर्न र कम्पनीद्वारा प्रवद्र्धित अन्य आयोजनाको विकासमा लगानी गरिने जनाएको थियो ।
बलेफी हाइड्रो
बलेफीले २०८१ मंसिर २७ गतेदेखि पुस १७ गतेसम्मका लागि १ः१ अनुपातमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रद सेयर निष्कासन पश्चात चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार पुगेको छ ।
उक्त समयमा निष्कासन गरेको हकप्रदमा मागअनुसार आवेदन नपरेपछि फागुन ५ गतेदेखि नबिकेको १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर लिलाम बिक्री सुरु गरेको थियो । आवेदन दिने समय फागुन १९ गतेसम्म रहेको थियो ।
पुस मसान्तमा बलेफीको दीर्घकालीन ऋण ६ अर्ब ५६ करोड ३६ लाख ८ हजार ७५१ रुपैयाँ चैत मसान्तसम्ममा ९६ करोड १५ लाख १० हजार रुपैयाँ तिरेर ५ अर्ब ६० करोड २० लाख ९८ हजार ७५१ रुपैयाँ रह्यो । अल्पकालीन कर्जा पुस मसान्तमा १ करोड ४३ लाख १६ हजार ९०० रहेकामा चैत मसान्तमा ३७ लाख ५० हजार ९६२ रुपैयाँ पुगेको थियो । उक्त अवधिमा अल्पकालीन कर्जा १ करोड ५ लाख ६६ हजार २८ रुपैयाँ घटेको छ । अन्य दायित्व १२ लाख ६८ हजार ९४८ रुपैयाँबाट ८ लाख ८१ हजार ८०४ रुपैयाँ घटेर ३ लाख ८७ हजार १४४ रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले दीर्घकालीन, अल्पकालीन ऋण र अन्य दायित्वमा भुक्तानीमा ९७ करोड २९ लाख ५७ हजार ८३२ रुपैयाँ खर्च गरेको छ ।
कम्पनीले हकप्रद ल्याउँदा आयोजना निर्माणका क्रममा लिएका दीर्घकालीन बैंक ऋणको अशिंक भुक्तानी गर्न १ अर्ब ४० करोड खर्च गर्ने भनिएको थियो । दीर्घकालीन बैंक ऋणको अशिंक भुक्तानी गर्ने भनेपनि दीर्घकालिन, अल्पकालिन कर्जा र अन्य दायित्वमा खर्च गरेर बाँकी ४२ करोड ७० लाख ४२ हजार १६८ रुपैयाँ बाँकी रहन्छ । कम्पनीले विकासका क्रममा रहेको अमूर्त सम्पत्ति शीर्षकमा ३७ करोड ४४ लाख ८७ हजार ८९० रुपैयाँ खर्च गरेको जनाएको छ । अझै ५ करोड २५ लाख ५४ हजार २७८ रुपैयाँ बाँकी छ ।
कम्पनीले हकप्रद निष्काशनबाट प्राप्त हुने रकम आयोजना निर्माणका क्रममा पुँजीको अभावबाट बच्न विभिन्न समयमा प्रवद्र्धकबाट लिइएको ऋण पूर्ण रुपमा भुक्तानी गर्न ३० करोड ६४ लाख ४६ हजार ८६० रुपैयाँ खर्च गर्ने भनेको थियो । आयोजना निर्माणका क्रममा संलग्न विभिन्न निर्माण कमपनी तथा विक्रेताहरुको भुक्तानी दिन बाँकी रहेको १२ करोड १५ लाख २३ हजार १३९ रुपैयाँ खर्च गर्ने भनेको छ ।

बरुण हाइड्रो
बरुण हाइड्रोपावर कम्पनीले असार ३१ गतेदेखि साउन १९ गतेसम्मका लागि हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता एक सय रुपैयाँका दरले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । निर्धारित समयमा आवेदन नपरेपछि भदौ २९ गतेदेखि असाज १२ गतेसम्ममा नबिकेको २ लाख ३८ हजार ४४३ कित्ता सेयर गोप्य शिल्ड टेन्डर गरेर बिक्री गरेको थियो ।
हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्ने भनिएको थियो । तर १ अर्ब ४ करोड ७७ लाख ८६ हजार ७०० रुपैयाँ रहेको छ ।
कम्पनीको हकप्रद सेयर जारी गर्नुको उद्देश्यमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ २०८० असार २ गते आएको बाढिपहिरोबाट आयोजनामा पूर्ण रुपले क्षतिग्रस्त हेवा खोला साना जलविद्युत् आयोजनाको पुनर्निर्माण साथै जलशक्ति हाइड्रो कम्पनी प्रालि आयोजनाको परियोजना निर्माण तथा सञ्चालन गर्न प्रयोग गर्ने भनिएको थियो ।
उक्त बाढिपहिरोबाट आयोजनामा पूर्ण रुपले क्षति भएको त्यसमा १ करोड ५८ लाख जलशक्ति हाइड्रो कम्पनी प्रालिमा खर्च गर्ने भनिएको थियो । अधिग्रहण लागत उक्त आयोजना यथा स्थितिमा प्राप्ति गर्न प्राविधिक अध्ययन र उपयुक्त देखिएको ५२ करोड रहेको उल्लेख छ । जलशक्ति जलविद्युत् आयोजना बनाउन ४ अर्ब ९१ करोड लाग्ने भनिएको छ ।
असार मसान्तमा ट्रेण्ड एण्ड अदर पेइबलमा ३ करोड ४९ लाख ९४ हजार ९९७ रुपैयाँ रहेको थियो । असोज मसान्तमा आइपुग्दा १ करोड ७५ लाख १२ हजार ८३८ रुपैयाँ घटेको छ । यो रकम १ करोड ७४ लाख ८२ हजार १५९ रुपैयाँ बाँकी देखिन्छ । प्रचलित कानुन बमोजिम लाभकरलगायत अन्य कर बुझाउनुपर्ने भएमा सम्बन्धित निकायमा कर बुझाउने भनेको थियो । असार मसान्तमा टिडिएस पेइबल २९ लाख ५१ हजार ७८३ रहेको थियो । यो रकम असोज मसान्तमा ३२ लाख ५६ हजार २५३ रुपैयाँ रहेको छ ।
ङादी ग्रुप पावर कम्पनी
ङादी ग्रुप पावर कम्पनीले २०८१ पुस २३ गतेदेखि १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ पुगेको छ । हकप्रद निष्कासन गर्दा समृद्धि इनर्जीद्वारा प्रवद्र्धित बझाङ्गमा माथिल्लो सेती जलविद्युत् आयोजना (२१६ मेगावाट)मा १ अर्ब ८१ करोड ८७ लाख ७९ हजार २२२ रुपैयाँ लगानी गर्ने भनिएको थियो । यस्तै ङादी ग्रुप पावर लिमिटेडबाट प्रवद्र्धित आयोजनाको मर्मत तथा सम्भारमा ३ करोड २५ लाख रुपैयाँसहित १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ खर्च गर्ने भनिएको थियो ।
जसमा ङादी ग्रुप पावर लिमिटेडबाट प्रवद्र्धित आयोजनाको मर्मत तथा संभारमा खर्चका लागि ३२ लाख ७७ हजार र सिभिल कार्यको मर्मत तथा संभारमा खर्चका लागि २ करोड ९२ लाख २३ हजार छुट्याउने भनिएको थियो । जम्मा रकम ३ करोड २५ लाख रहेको थियो ।
गत आवको चैत मसान्तसम्म पेइबल शीर्षकमा २० लाख ४२ हजार ९५० खर्च देखिएको छ । सिभिल कार्यको मर्मत तथा संभारमा खर्चका लागि २ करोड ९२ लाखसहित जम्मा ३ करोड ४ लाख ५७ हजार ५० रुपैयाँको खर्च उक्त रिपोर्टमा प्रष्ट छैन । टिडिएस पेइबल २० लाख ६ हजार ७०७ घटाएको छ । टिडिएस पेइबल र पेइबलमा ४० लाख ४९ हजार ६५७ रुपैयाँ खर्च हुन्छ । अझै पनि २ करोड ६४ लाख ७ हजार ३९३ खर्चको विवरण प्रष्ट देखाइएको छैन ।
दोर्दी खोला
दोर्दी खोला जलविद्युत् कम्पनीले २०८१ चैत १९ गतेदेखि २०८२ वैशाख १४ गतेसम्म १ः१ अनुपातमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्ने भनिएको थियो । अहिले चुक्ता पुँजी २ अर्ब ९ करोड ९१ लाख ५७ हजार ९०० रुपैयाँ रहेको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्नुको उद्देश्य विभिन्न बैंकसँग लिएको ऋण चुक्ता गर्ने रहेको जनाएको छ । हकप्रद सेयर निष्काशनबाट प्राप्त हुने रकम कम्पनीले संचालन गरी विद्युत् उत्पादन गरिरहेको आयोजनाको कन्र्सोटियम बैंकहरुको आंशिक ऋण भुक्तानी गरिने जनाएको छ । हकप्रदबाट आएको रकम बाट बैंकको ऋण आंशिक भुक्तानी पश्चात ६८ करोड ६४ लाख ४२ हजार ९४८ रुपैयाँ कायम हुने जनाएको छ ।
विसं २०८१ चैत मसान्तमा कम्पनीको दीर्घकालीन कर्जा १ अर्ब ७३ करोड ३९ लाख ५ हजार ५२६ रुपैयाँ रहेको थियो । हकप्रद सेयर निष्कासन पश्चात ९४ करोड २९ लाख ८५ हजार ८२८ रुपैयाँ दीर्घकालीन ऋण तिर्यो । उक्त ऋण तिरेर असार मसान्तसम्म बाँकी कर्जा ७९ करोड ९ लाख १९ हजार ६९८ रुपैयाँ रहेको छ ।
उक्त अवधिमा कम्पनीले अल्पकालीन कर्जा सबै अर्थात २ करोड ५० लाख रुपैयाँ तिरेको छ । दुवै ऋण बापत ९६ करोड ७९ लाख ८५ हजार ८२८ रुपैयाँ भुक्तानी गर्यो । बैंकले हकप्रद सेयर निष्कासन गर्दा उक्तक रकमले भुक्तानी पश्चात ६८ करोड ६४ लाख ४२ हजार ९४८ रुपैयाँ ऋण कायम हुने जनाएको छ । तर रिपोर्टमा ७९ करोड ९ लाख १९ हजार ६९८ रुपैयाँ बाँकी छ । यो कम्पनीले उद्देश्यमा भनिए अनुसार कर्जा घटाएको छैन । कम्पनीले हकप्रद सेयर निष्कासन पश्चात बैंकको कर्जा तिरेर बाँकी रहेको ८ करोड ६२ लाख ७४ हजार ५७२ रुपैयाँ कहाँ खर्च गरेको भन्ने प्रष्ट उल्लेख गरेको छैन ।
छ्याङ्दी हाइड्रोपावर
छ्याङ्दी हाइड्रोपावर कम्पनीले जेठ २३ देखि असार १२ गतेसम्मका लागि शतप्रतिशत अर्थात ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको हकप्रद सेयर निष्कासन गर्यो । हकप्रद सेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेर प्राप्त हुने रकम ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँमध्ये चार मेगावाटको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माणको समयमा लिएको ऋणबाट भुक्तानी गर्न बाँंकी बक्यौता÷साहुहरुलाई तिर्ने कम्पनीको उद्देश्यमा छ । कम्पनीले तिर्न बाँकी ४ करोड थियो । माथिल्लो छन्दी खोला साना जलविद्युत् आयोजनाको दीर्घकालीन ऋण रकममा बैंकको आग्रह अनुसार सावा रकम घटाउन तथा अन्य अल्पकालीन ऋण रकमको सावाँ र ब्याज भुक्तान गर्नका लागि १९ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ र भिजन इनर्जी एण्ड पावरद्वारा प्रवद्र्धित ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत् आयोजनामा लगानी गर्न लिइएको ऋण रकम १५ करोड भुक्तानी गर्ने उद्देश्य थियो । दुवै आयोजनाका लागि लिएको कर्जा ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ उपयोग गर्ने योजना रहेको थियो ।
हकप्रद सेयर निष्कासन गर्नुअघि अर्थात गत आवको असार मसान्तसम्म कम्पनीको दीर्घकालीन कर्जा ७४ करोड ६० लाख ३० हजार ७११ रुपैयाँ रहेको थियो । हकप्रद सेयर निष्कासनपछि अर्थात चालु आवको पहिलो त्रैमासमा कम्पनीका दीर्घकालीन कर्जा ६४ करोड ४६ लाख ५० हजार ६४५ रुपैयँ बाँकी नै छ । उक्त अवधिमा कम्पनीले हकप्रद सेयर निष्कासन गरेर १० करोड १३ लाख ८० हजार ६५ रुपैयाँ कर्जा तिरेको छ ।
अल्पकालीन कर्जा असार मसान्तसम्म २६ करोड ३९ लाख ६२ हजार ५०० रुपैयाँ रहेको थियो । असोज मसान्तमा यस्तो कर्जा ३ करोड ८९ लाख ६२ हजार ५०० रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीले अल्पकालीन कर्जा २२ करोड ५० लाख रुपैयाँ भुक्तान गरेको छ । कम्पनीले अल्पकालीन र दीर्घकालीन गरेर ३२ करोड ६३ लाख ८० हजार ६५ रुपैयाँ कर्जा भुक्तानी गरेको छ । कम्पनीले कर्जा तिर्नका लागि भन्दै ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको थियो ।
कम्पनीको विवरणमा ३२ करोड ६३ लाख ८० हजार ६५ रुपैयाँ मात्रै तिरेको उल्लेख छ । बाँकी ६ करोड ५ लाख ९७ हजार ४३५ रुपैयाँको खर्च वित्तीय अवस्थामा देखाइएको छैन । कम्पनीको उद्देश्यमा नै २ वटा आयोजनाका लागि लिएको कर्जा तिर्ने भनिएको थियो । त्यो अनुसार नभएको देखिन्न् । सबै कम्पनी यसरी उद्देश्य अनुसार खर्च नगर्ने, खर्च गरेको शिर्षक स्पष्ट रुपमा नखुलाउने खालका छैनन् । केही कम्पनीले जुन शिर्षकमा खर्च गर्नका लागि हकप्रद सेयर निष्कासन गरेका हुन् । त्यही शीर्षकमा खर्च गरेका छन् ।
बोर्डमा बुझाएको विवरण पत्रमा भएको उद्देश्यअनुसार खर्च गर्नेमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन र तेह्रथुम पावर कम्पनी छन् । यी कम्पनीले जुन उद्देश्य पूरा गर्नका लागि हकप्रद सेयर निष्कासन गरेका हुन् त्यही काममा खर्च गरेका छन् ।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीले २०८२ असार १ देखि २२ गतेसम्मका लागि कायम रहेको चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रद निष्कासनपछि चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुगेको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बैंक तथा वित्तीय संस्थाको साँवा तथा ब्याज तिर्नलाई ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको हकप्रद ल्याएको जनाएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गरेको रकमले विभिन्न बैंक तथा वित्तीय संस्थाको आंशिक ऋण चुक्ता गर्ने उद्देश्य रहेको जनाएको छ । कम्पनीले प्राइम कमर्शियल बैंकको अगुवाइमा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको थियो ।
विसं २०८१ चैत मसान्तसम्म प्राइम कमर्सियल बैंकको ऋण ६९ करोड ६२ लाख ६७ हजार १७ रुपैयाँ थियो । यस्तै कुमारी बैंकको १४ करोड ५६ लाख ६२३ हजार ६९१ रुपैयाँ र प्रभु बैंकको १२ करोड ३५ लाख ९२४४८ रुपैयाँ थियो । हकप्रदवापत ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ ऋण तिर्ने भनेको थियो । तर कम्पनीले ६३ करोड ६४ लाख २९ हजार ३७८ रुपैयँ तिरेको छ । हकप्रदबाट आएको पैसाले आंशिक भुक्तानी पश्चात् कायम हुने ऋण रकम ३५ करोड २७ लाख २८ हजार ३५७ रुपैयाँ हुने भनिएको थियो । असोज मसान्तसम्म त्योभन्दा कम अर्थात ३२ करोड ३१ लाख ३ हजार ११० रुपैयाँ छ । कम्पनीले २ करोड रुपैयाँ अल्पकालीन कर्जा पनि सबै तिरेको छ । यो कम्पनीले भने उद्देश्य अनुसार काम गरेको छ । यो कम्पनीले मेगावाटको रूकुम गाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको लागत ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ रहेको छ ।
तेह्रथुम पावर कम्पनी लिमिटेड
तेह्रथुम पावर कम्पनीले गत असार १६ गतेदेखि साउन ४ गतेसम्मका लागि शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले कायम रहेको चुक्ता पुँजी ४० करोड रुपैयाँको शत प्रतिशत हकप्रद सेयर ल्याएको थियो । हकप्रद ल्याए पश्चात कम्पनीको पुँजी ८० करोड रुपैयाँ पुगेको छ ।
बैंकले माछापुच्छ्रे बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंकबाट ९२ करोड ६१ लाख ३७ हजार ७१० रुपैयाँ ऋण लिएको थियो । हकप्रद सेयरबाट आएको रकमबाट १६ करोड रुपैयाँ माछापुच्छ्रे बैंक, नबिल बैंकको १२ करोड र ग्लोबल आइएमई बैंकको १२ करोडसहित ४० करोड भुक्तानी गर्ने उद्देश्य राखेको थियो ।
कम्पनीले चालु आवको पहिलो त्रैमासमा प्रकाशित गरेको वित्तीय अवस्था अनुसार ५१ करोड ७६ लाख २५ हजार ८२७ रुपैयाँ ऋण तिरेको जनाएको छ । यो कम्पनीले जुन उद्देश्य राखेर हकप्रद सेयर निष्कासन गरेको हो त्यही अनुसार खर्च गरेको छ ।
कम्पनीले २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया जलविद्युत् आयोजना निर्माण गरेको छ । उद्देश्यअनुसार खर्च नगरेका कम्पनीलाई अहिलेसम्म कुनै पनि निकायले किन उद्देश्यमा भने अनुसार खर्च नगरेको भनेर सोधेका छैनन् । धितोपत्र बोर्डका सहप्रवक्ता तोलाकान्त न्यौपाने सूचीकृत कम्पनीले उद्देश्यमा भएअनुसार तोकिएको क्षेत्रमा मात्रै लगानी गनुपर्ने बताउँछन् । उनका अनुसार सबै कम्पनीले हरेक वर्ष सेबोनका सबै विवरण बुझाउनुपर्छ ।
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ को १३ को ३ मा ‘सङ्गठित संस्थाले हकप्रद सेयर निष्काशनबाट प्राप्त हुने रकम दोस्रो कम्पनी वा सहायक कम्पनीमा लगानी गर्ने भएमा त्यस्तो रकम छुट्टै बैंक खातामा जम्मा गरी सोसम्बन्धी विवरण बोर्डमा पेश गर्नुपर्नेछ’ भनेर लेखिएको छ । तर, सेबोनबाट त्यसको विवरण भने उपलब्ध भएन । यस्तै सोही निर्देशिकाको ४५ मा विवरणपत्रभन्दा फरक भएमा जानकारी दिनुपर्ने भन्ने व्यवस्था छ ।
४५ को १ मा ‘विवरणपत्र, हकप्रद सेयर निष्काशनसम्बन्धी व्यवस्था तथा विवरणहरू, विवरण पुस्तिका वा अन्य विवरणमा प्रक्षेपण गरिएका विवरणमा १५ प्रतिशत वा सोभन्दा बढी फरक पर्न गएमा सो को कारणसहित खुलाइ । सङ्गठित संस्थाले बोर्डलाई जानकारी दिनु पर्नेछ’ भन्ने व्यवस्था छ । ४५ को २ मा ‘विवरण तथा प्रक्षेपणकर्ताको जानकारी सहित सङ्गठित संस्थाको आगामी वार्षिक प्रतिवेदनमा समावेश गरी प्रकाशन गर्नु पर्नेछ’ भन्ने व्यवस्था छ । यसमा धितोपत्र बोर्डले उचित ध्यान दिएको छैन । यस विषयमा बोर्डका अधिकारीहरु भने मौन छ ।
विद्युत् नियमन आयोगका अधिकारीहरु पनि हकप्रद सेयरको नाममा केही विकृति देखिएको गुनासो आएको बताउँछन् । तर, हकप्रद जुन शीर्षकमा खर्च गर्ने भनेको हो त्योअनुसार भए नभएको विषयमा आयोगले पनि अलिहेसम्म चासो दिएको छैन । आयोगका सूचनाअधिकारी हरिबहादुर खत्री यस विषयमा आयोगले चासोका साथ हेर्ने बताउँछन् ।
यता सेयर लगानीकर्ताहरु भने जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न दिँदा पहिलो निष्कासन गरेको सेयरबाट आएको रकमको सही सद्ुपयोग भयो की भएन हेर्नुपर्ने बताउँछन् । अघिल्लो पटक निष्कासन गरेको हकप्रद सेयरबाट आएको रकम सदुपयोग नभएको खण्डमा थप हकप्रद सेयर निष्कासन गर्न दिन नहुने बताउँछन् ।
यस्तै हकप्रद सेयर निष्कासन गरेपछि आएको रकमको सही सदुपयोग भयो वा भएन त्यसको पनि हरेक बर्ष अडिट गर्नुपर्ने लगानीकर्ताको माग छ ।








प्रतिक्रिया दिनुहोस्