Skip to content

मालिकाको धुरीमा १८ लाख खर्चेर भक्तजनलाई खानेपानीको व्यवस्था

म्याग्दी । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा यही जेठ १० गते (बिहीबार) परेको चण्डी पूर्णिमामा भाकल र पूजाआजाका लागि आउने भक्तजनको सुविधाका लागि करिब १८ लाखको लागतमा मालिकाको धुरीमा खानेपानीको व्यवस्था गरिएको छ ।

समुद्र सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिकाको धुरीमा दुई किलोमिटर टाढाको मुहानबाट पाइपमार्फत पानी ल्याएर भक्तजनलाई खानेपानीको व्यवस्था गरिएको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

कुइनेमङ्गले निवासी भरत छन्त्याल र खिममाया छन्त्यालको व्यक्तिगत रु सात लाख ६५ हजार र रघुगङ्गा गाउँपालिकाको १० लाख रुपैयाँ गरी १७ लाख ६५ हजार र ३५ हजार रुपैयाँ बराबरको स्थानीयको श्रमदानबाट मालिका देउरालीमा खानेपानी पुर्याइएको शीतल मालिका युवा क्लबका निवर्तमान अध्यक्ष एवं रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका अगुवा युवा प्रविन छन्त्यालले जानकारी दिए।

पूर्वअध्यक्ष छन्त्यालका अनुसार मालिका देउरालीबाट दुई किलोमिटर पर रहेको लिसेखर्क भन्ने ठाउँबाट पाइपमार्फत मालिका देउरालीमा पानी पुर्याइएको हो । यसअघि मालिका मन्दिरमा खानेपानी नहुँदा त्यहाँ पुग्ने भक्तजनले सास्ती व्यहोर्दै आउनुपरेको थियो । एक घण्टाको दूरीमा रहेका मूलहरूबाट पानी बोकेर भक्तजन मालिका मन्दिरमा पुग्नुपर्ने अवस्था रहेकामा देउरालीमा पानी पुगेपछि भक्तजनलाई सुविधा पुगेको छन्त्यालले बताए ।

पानीको मुहान रहेको लिसेखर्कबाट धारा राखिएको मालिका देउराली उकालो दुई किलोमिटर उकालोमा पर्दछ । उकालो भएकाले पानी चड्न गाह्रो हुने भएको र लगातार धारोमा पानी नझर्ने भएकाले एक हजार लिटरको ट्याङ्कीमा पानी भर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

मालिका मन्दिर परिसरको धरम पानीसम्म पानी पुर्याउने योजना रहेको भए पनि ठाडै उकालो भएकाले पानी नचढेपछि देउरालीमा धारा राखिएको उहाँले बताउनुभयो । ठाडाखानी, हिदी र टोड्केको बाटो हुँदै मालिका मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीहरूलाई देउरालीमा पानी हुँदा निकै सहज हुने रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुंजाले बताए । यो समय पानीको स्रोत पर्याप्त नहुँदा पानी अनावश्यक खेर नफालिदिनुहुन मालिका खानेपानी समितिले त्यहाँ पुग्ने भक्तजनलाई अनुरोध गरेको छ ।

मालिका म्याग्दीको ऐतिहासिक धार्मिकस्थल एवं प्रमुख पर्यटकीयस्थल हो । समुद्र सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित यो मन्दिर विकट भूगोलमा अवस्थित छ । जिल्लाको मालिका गाउँपालिकाका वडा नं ६, ७ र रघुगङ्गा गाउँपालिका–६ को सिमानामा रहेको मालिकामा विशेषगरी चण्डी पूर्णिमा, जेष्ठी पूर्णिमा, भाइटीका र बालाचतुर्दशीमा पूजाआजासहित भव्य मेला लाग्ने गर्दछ । मालिकाको पूजाआजा, दर्शन र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्