काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को केन्द्रीय कार्यसमितिको विवाद यतिबेला निकै उत्कर्षमा पुगेको छ ।
क्यानको नेतृत्वमा देखिएको विवाद प्रहरी कार्यालयमा समेत पुगेको छ । क्यानका कार्यवाहक अध्यक्ष चिरञ्जीवि अधिकारीले महासचिव चन्द्रबिलास भुर्तेललाई भदौ ११ गते गम्भीर अनुशासनहिनता र विधान उल्लंघन गरेको भन्दै २४ घण्टे लिखित स्पष्टीकरण माग गरेका थिए ।
महासचिव भुर्तेलले स्पष्टीकरण नदिएपछि १५ गते नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् । महासचिवले कार्यसमितिका सदस्यहरूको इमेल अकाउन्टलाई ‘मेल आउने तर पठाउन नमिल्ने’ बनाइएको अध्यक्षको दाबी छ । अध्यक्षको प्रत्यक्ष अनुरोधका बाबजुद आधिकारिक संस्थागत इमेल ([email protected]) को लगइन क्रेडेन्सियल कार्यवाहक अध्यक्षलाई उपलब्ध नगराइएको विषय अधिकारीको दाबी छ । जसले गर्दा साईबर ब्यूरोमा उजुरी परेको हो ।
साइबर ब्यूरोले भदौ २२ गते क्यानलाई पत्र लेख्दै पछिल्लो छ महिनाको लग, एक्सिस लग, आईपी लग माग गरेको छ । यस्तै इमलेको पछिल्लो १ बर्ष अवधिका सम्पूर्ण प्रयोगकर्ताको विवरण र थप प्राविधिक विवरण माग गरेको छ ।
यस्तै महासचिवले बैठक व्यवस्थापन सम्बन्धी कार्यवाहक अध्यक्षको निर्देशनलाई बेवास्ता गरेको र स्थापित प्रोटोकल विपरीत मिति भदौ ४ गतेको पदाधिकारी बैठक अचानक स्थगित भएको घोषणा गरेको आरोप लगाइएको छ ।
यस्तै कुनै पनि औपचारिक निर्णय बेगर भदौ ५ गते अप्रत्याशित रूपमा सचिवालय बन्द गरी दैनिक प्रशासनिक कार्यमा बाधा पुर्याइएको आरोप छ ।
यस्तै संस्थागत स्वीकृति वा केन्द्रीय समितिको निर्णय बिना आगामी एसोसियोको साधारण सभामा भाग लिन र उम्मेदवारी दिन पूर्वअध्यक्ष नवराज कुँवरको नाममा फारम भरिएको विषयमा स्पष्टीकरण माग गरिएको छ ।
यी गतिविधिहरूलाई केन्द्रीय समितिले गम्भीर अनुशासनहीनता, पदीय मर्यादा विपरीत र क्यान महासंघको विधान, २०७० (संशोधन सहित) ले महासचिवलाई तोकेको सीमित कार्यान्वयनकारी भूमिकाको सीमा नाघेको रूपमा लिएको स्पष्टीकरण पत्रमा उल्लेख छ।
क्यानका कावा अध्यक्ष अधिकारील सोधेको स्पष्टीकरणमा तोकिएको २४ घण्टाको समयसीमाभित्र चित्तबुझ्दो लिखित स्पष्टीकरण पेस नभएमा वा प्राप्त जवाफ चित्तबुझ्दो नभएमा क्यान महासंघको विधानको दफा ३७ (ग) र दफा ३८ बमोजिम तत्काल आवश्यक कारबाही अगाडि बढाइने भनिएकव थियो । अहिलेसम्म त्यो पुरा हुन सकेको छैन ।
यता क्यानका महासचिव भुर्तेलले संस्था कसैको निजी कम्पनी नभएको बताए । कावा अध्यक्षले आफूलाई निर्वाचित भएर आएको अध्यक्ष जस्तो व्यवहार गर्न नहुने बताए ।
उनले कावा अध्यक्षलाई सोही रुपमा काम गर्न र महासंघलाई निजी कम्पनी जसरी सन्चालन नगर्न आग्रह गरे ।








प्रतिक्रिया दिनुहोस्