Skip to content

कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण

nabil bank
काठमाडौं ।  “शरीरको कुनै अङ्गमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन”, कृत्रिम खुट्टाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किनुभएका हरि बुढामगरले भन्नुभयो, “म फरक क्षमता भएका मानिसलाई आफ्नो क्षमता चिनेर हरेक दिन सपनाको सगरमाथा चढ्न प्रेरित गर्छु । मेहनत गरे सफलता पाइन्छ भन्ने उदाहरण म आफैँ छु ।”
समुद्री सतहदेखि चार हजार ८९२ मिटर अग्लो माउन्ट भिन्सनको सफल आरोहण गरेसँगै पूर्व गोर्खासमेत रहनुभएका हरि बुढामगरले विश्वको सातै महादेशका अग्ला चुचुराको आरोहण पुरा गरे । ४६ वर्षअघि रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मिनुभएका हरि विश्व समुदायकै लागि एक साहसको पर्याय बनेका छन् ।
रासससँग आफ्नो आरोहण अनुभव सुनाउँदै उनले भने, “यो उपलब्धि प्राप्त गर्नु धेरै कठिन थियो । तीव्र हावा र कठ्याङ्ग्रिदो चिसोले मेरा औँला जमिरहेका थिए । मेरो अनुहारमा एक प्रकारको चिसोको जलन भइरहेको थियो । घरीघरी म आफैँ माथि शंका गर्थेँ । भगवानमा विश्वास नगर्ने म हामी सफल होऔँ भनेर मनमनै प्रार्थना गरिरहेको हुन्थेँ ।”
बुढामगरले तिव्र गतिको हावा र त्यो चिसोले आफूलाई उचाइमा पुग्नबाट रोक्न सक्दैन भन्ने आत्मविश्वासले कठिन चुनौती पुरा गर्न सफल भएको बताए ।  युद्धमै मृत्यु जितेर पुनर्जीवन पाएको स्मरण गर्दै उहाँले हरेक काममा चुनौती हुने तर त्यसलाई पार गर्न आत्मविश्वास आवश्यक हुने बताए । निरन्तर र अथक प्रयासले मात्र यो सम्भव भएको उनको बुझाइ छ । “यो एक अद्भुत अनुभूति हो । म बयान गर्नैै सक्दिन कि हामीले यो कसरी सम्भव तुल्यायौँ । तर, सातै महादेशका उच्च सात शिखर सफलतापूर्वक आरोहण गरेका छौँ । म धेरै भावुक छु । अपाङ्गता भएको व्यक्तिको रूपमा मैले यो असम्भव काम सम्पन्न गरेको छु”, उनले भने, “हिमालको पानी पिएको नेपालीले गरेको यो कामले नेपालको शीर उँचो बनाउने काममा केही योगदान पक्कै गर्छ भन्ने लागेको छ । मलाई यो कामका लागि हौसला र निरन्तर सहयोग गर्ने सबैलाई मनैदेखि धन्यवाद दिन चाहन्छु ।”
मगरले यसअघि १९ मे २०२३ मा सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर), ८ जनवरी २०२० मा अफ्रिकाको तान्जानियास्थित माउन्ट किलिमन्जारो (५,८९५), २८ जुन २०२४ मा उत्तर अमेरिकाको अलास्कास्थित डेनाली (६,१९०), २२ फेब्रुअरी २०२५ मा दक्षिण अमेरिकाको अर्जेन्टिनास्थित एकोनकागुआ (६,९६१) को सफल आरोहण गरे । त्यसैगरी उनले न्यु गिनीको पुन्चाकजयु (४,८८४), १३ अगस्ट २०१९ मा फ्रान्सको मोन्ट ब्ल्याङ्क (४,८०९ मिटर) को सफल आरोहण गर्नुभएको र  गत बुधबार अन्टार्टिकाको माउन्ट भिन्सनको सफल आरोहण गरे । योसँगै उनले दुवै खुट्टाको घुँडामुनिको भाग गुमाएर पनि सातै महादेशका अग्लो चुचुरो आरोहण गर्ने नयाँ किर्तिमान बनाए  ।
सेभेन समिटको रूपमा रूसको माउन्ट एल्ब्रस (५६४२ मिटर) आरोहणसमेत समावेस गरिएको भएपनि यो अहिले पहुँच योग्य नभएका कारण उहाँले फ्रान्सको मोन्ट ब्ल्याङ्क आरोहण गरे । यसलाई गिनिज वल्र्ड रेकड्र्सले समेत मान्यता दिएको बताइएको छ ।
कृत्रिम खुट्टाको भरमा अन्टार्टिकाको माउन्ट भिन्सन चढेर नेपाली झण्डा फहराउनु भएका हरिले हरेक खतरा पार गरेपछि एक सुन्दर समय आउने उदाहरण विश्वसामु प्रस्तुत गरे । माउन्ट भिन्सनमा पाइला टेक्दाको अनुभूति साट्दै उनले भने, “आँखाले देखेजति क्षितिज सम्मै सबैतिर हिउँ नै हिउँ, यो चामत्कारिक र स्वर्गजस्तै लाग्थ्यो ।”
आफूलाई धेरै पटक यस्ता चुनौतीपूर्ण काम तपाईँ जस्ता व्यक्तिले गर्ने होइन भन्ने गरेको स्मरण गर्दै उनले भने, “तपाईंको शारीरिक अवस्थाकै कारण तपाईंलाई कसैले केही गर्न सक्दैन भन्छन् भने मलाई देखाउनुहोस-हेर्नुहोस् ।” उनले आफ्नो यो सफलताले विश्वभर अपाङ्गता भएका व्यक्तिको जीवन  परिवर्तनका लागि सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
सबै नेपाली आरोहण दलका सदस्य अविरल राई, मिङ्मा शेर्पा र जाङ्बु शेर्पासहितलाई साथमा लिएर उनले २४ घण्टानै उज्यालो रहने अन्टार्टिकाको युनियन ग्लेशियरबाट आधारशिविरतर्फ लागेका थिए । उनको आरोहण दलले ६ जनवरी २०२६ राति १० बजे माउन्ट भिन्सनको शिखरमा पाइला टेकेको हो ।
रोल्पाको थवाङ गाउँपालिकास्थित मिरुल गाउँमा जन्मिनुभएका पूर्व गोर्खा सैनिक हरि बुढामगरले सन् २०१० मा अफगानिस्तानमा तालिवानसँगको युद्धमा पैदल गस्ती जाने क्रममा एक भूमिगत बम विस्फोटबाट दुबै खुट्टा गुमाउनु भएको थियो । १५ वर्षसम्म उहाँले ब्रुनाइ, कोसोभो, फकल्याण्ड र अन्य ठाउँमा काम गर्दै पाँच महादेशमा गोर्खा सैनिकको रूपमा काम गर्नुभएको थियो । तीन सन्तानका पिता हरि, हाल परिवारसहित बेलायत क्यान्टबरी केन्टमा बस्दै आएका छन् ।
गतवर्ष बेलायतको प्रतिष्ठित ‘एमबीई’ अवार्ड प्राप्त गर्नु भएका उहाँ ‘प्राइड अफ ब्रिटेन बेलायत’ गौरव अर्वाडका विजेता समेत छन् । दुबै खुट्टा गुमाएपछि चरम निराशा र मदिरा सेवनले आत्महत्याको प्रयास सम्म गर्नुभएका उहाँले ती दिन स्मरण गर्दै आफूलाई स्काइ डाइभिङको मौकाले जीवनमा नयाँ परिर्वतन ल्याएको बताए ।
उनले विश्वको सर्वोच्च शिखर सरगमाथाको देशका मानिस उच्च साहस र दृढ विश्वासी छन् भन्ने सन्देश दिन सफल भएको सुनाए । उनले आफ्नो सफलता अपाङ्गता भएका समुदायलाई समर्पित गरेको बताए । आफ्नो सफलताको खुसी बाँड्न उनी माघ १ गते काठमाडौँ ओर्लँदै छन् । त्यसपछि बेलायत फर्केर बेलायतका प्रधानमन्त्रीलाई भेट्ने योजना रहेको उनले जानकारी दिए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life