काठमाडौं । विश्व बजारमा विद्युतीय सवारी साधन (ईभी), सौर्य ऊर्जा, डाटा सेन्टर र आर्टिफिसियल इन्टेलिजेन्स (कितृम बुद्धिमत्ता) को माग तीव्र रूपमा बढ्दै गएको छ । ईभी, सौर्य ऊर्जा, डाटा सेन्टर र एआईको माग तीव्र हुँदा त्यसको असर चाँदीको मूल्यमा देखिएको छ ।
विश्व बजारमा ईभी, सौर्य ऊर्जा, डाटा सेन्टर र एआईको माग जुन रूपमा बढ्दै गएको छ चाँदीको मूल्य पनि सोही अनुपातमा अपत्यारिलो तरिकाले बढिरहेको छ । पछिल्लो आधा दशकयता विश्व बजारमा ईभी, सौर्य ऊर्जा, डाटा सेन्टर र एआईको माग बढिरहेको छ सोही अनुपातमा चाँदीको माग औद्योगिक रूपान्तरणका लागि माग भइरहेको छ ।
उद्योगहरूले डिजिटल नवप्रवर्तनलाई अँगाल्न र स्वच्छ ऊर्जा प्रयोगलाई बढावा दिन्छन् । जसले गर्दा चाँदीको माग धेरै हुने देखिएको छ। अमेरिकाको द सिल्भर इन्स्टिच्युट र लन्डनस्थित अक्सफोर्ड इकोनोमिक्सले गरेको संयुक्त अध्ययनले आधुनिक प्रविधिमा चाँदीको प्रयोग र यसको भूमिका निर्णायक बन्दै गएको निष्कर्ष निकालेको छ । उक्त अध्ययनले चाँदीको उच्च विद्युतीय क्षमता, उत्कृष्ट ताप, क्षय प्रतिरोधका कारण ‘अर्को पुस्ताको धातु’को संज्ञा दिएको छ ।
अध्ययन अनुसार आगामी ५ वर्षमा उल्लेखित क्षेत्रले महत्वपूर्ण फड्को मार्नेछन् । जसले विश्वव्यापी रूपमा चाँदीको माग बढाउने छ ।
चाँदी खपतको नयाँ केन्द्र बन्दै विद्युतीय सवारी
ब्याट्रीबाट चल्ने विद्युतीय सवारी (ईभी) ले इन्धनबाट चल्ने सवारी साधनको तुलनामा औसतमा ६७ देखि ७९ प्रतिशत बढी चाँदी खपत गर्ने अध्ययनले देखाएको छ ।
प्रति सवारी साधन औसत चाँदी प्रयोगको इन्धनबाट चल्ने सवारी साधानमा १५ देखि २८ ग्राम, हाइब्रीड गाडीमा १८ देखि ३४ ग्राम र विद्युतीय सवारी साधनमा २५ देखि ५० ग्राम हुने अध्ययनले देखाएको छ ।
इन्धनको तुलनामा हाइब्रीडमा बढी र हाइब्रीडको तुलनामा ईभीमा चाँदीको प्रयोगको परिमाण करिब दोब्बर बढी हुने गरेको छ ।
विद्युतीय सवारी साधनमा चाँदीको खपत बढ्नुका मुख्य कारणहरूमा ब्याट्री व्यवस्थापन प्रणाली, बढ्दो विद्युतीय सम्पर्कहरू, इन्भर्टर, इन्भर्टर, चार्जिङ मोड्युल र उच्च दक्षता आवश्यक पर्ने पावर इलेकट्रोनिक्स प्रणाली हुन्छन् । चाँदीको उच्च प्रयोगले ऊर्जाको क्षति कम गर्ने र छिटो चार्ज हुने गर्छ । जसले गर्दा पनि चाँदीको प्रयोग बढी हुने गरेको अध्ययनमा उल्लेख छ ।

सन् २०२७ सम्म अटोमोटिभ क्षेत्रमा चाँदीको मागको मुख्य स्रोत विद्युतीय सवारी बन्नेछ । सन् २०३१ सम्म यसको हिस्सा ५९ प्रतिशत पुग्ने प्रक्षेपण छ । यससँगै चार्जिङ पूर्वाधार निर्माणमा पनि चाँदीको प्रयोग तीव्र रूपमा बढेको छ । चार्जिङ केबल, कनेक्ट र चार्जिङ प्वाइन्टमा चाँदीको लेप अनिवार्य लगाइने गरेको छ । यसले चाँदीको प्रयोग अत्यधिक बढ्दै गएको छ ।
विद्युतीय सवारी साधनमा सेन्सर, रियरभ्यु क्यामेरा, स्मार्ट डिस्प्ले, सुरक्षा प्रणाली जस्ता परिष्कृत इलेकट्रोनिक कम्पोनेन्टहरू बढ्दै जाँदा चाँदीको खपत झनै बढेको छ । विद्युतीय सवारी साधन इन्जिन परिवर्तन मात्रै नभएर पूर्ण डिजिटल प्लेटफर्म बन्दै गएकाले चाँदीको माग संरचनागत रूपमा ह्वात्तै बढ्दो क्रममा छ । जसले चाँदीको माग र बजार भाउ पनि आकासिँदै गएको सहजै अनुमान लगाउन सकिन्छ ।
आगामी ५ वर्ष अटोमोटिभ उद्योगमा विश्वव्यापी रूपमा चाँदीको माग वार्षिक ३.४ प्रतिशतका दरले बढ्दै जाने छ । सन् २०३१ सम्म कुल चाँदीको मागमा ईभीको हिस्सा ५९ प्रतिशत पुग्ने प्रक्षेपण रहेको छ ।

सौर्य ऊर्जामा चाँदीको माग बढ्दो
पछिल्लो एक दशकमा विश्वव्यापी फोटोभोल्टेइक (पीभी) क्षमता १० गुणाभन्दा बढी बढेको छ । यससँगै सौर्य प्यानलमा प्रयोग हुने चाँदीको माग तीन गुणाले वृद्धि भएको अध्ययनले देखाएको छ । सन् २०१४ मा औद्योगिक चाँदीको माग ११ प्रतिशत रहेको थियो । सन् २०२४ मा सौर्य ऊर्जाले २९ प्रतिशत हिस्सा ओगटेको छ ।

सौर्य ऊर्जा सन् २०३० सम्म विश्वको प्रमुख नवीकरणीय ऊर्जा स्रोत बन्ने अपेक्षा गरिएको छ । यसको क्षमता वार्षिक १७ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । यसले चाँदीको दीर्घकालीन मागलाई थप बनाउने देखिन्छ । युरोपेली संघले २०३० सम्म कम्तीमा ७०० गिगावाट सौर्य क्षमता प्रदान गर्ने लक्ष्य राखेको छ । यसले चाँदीको खपत झनै बढ्ने देखिन्छ ।
डाटा सेन्टर र एआईमा चाँदीको माग उच्च
अहिले डाटा सेन्टर र एआईलाई डिजिटल अर्थतन्त्रको मेरुदण्डको रूपमा मानिने गरिएको छ । डाटा सेन्टर र एआई हार्डवेयरले चाँदीको मागलाई ह्वात्तै बढाएको छ ।
सन् २००० देखि २०२५ सम्म विश्वव्यापी आईटी पावर क्षमता ५३ गुणाले बढेर करिब ५० गिगावाट पुगेको छ । यसको अर्थ थप सर्भर, सर्किट, कनेक्ट र कूलिङ प्रणालीमा चाँदीको प्रयोग अनिवार्य बढ्नै नै हो ।
अध्ययन अनुसार डाटा सेन्टरहरूलाई ९९.९९९ प्रतिशत अपटाइम कायम राख्नुपर्ने भएकाले उच्च विश्वसनीयता र न्यून ऊर्जा क्षति आवश्यक पर्छ । एआईका लागि आवश्यक जीपीयू, टीपीयू, एनपीयू जस्ता उच्च प्रदर्शन सेमिकन्डक्टरको आन्तरिक जडान र प्याकेजिङमा पनि चाँदीको निकै प्रयोग हुन्छ । एआई मोडलहरूको तालिमका लागि आवश्यक कम्प्युटर शक्ति सन् २०१० देखि २०२४ सम्म वार्षिक ४–५ गुणाले बढेको छ ।
अध्ययन अनुसार सन् २०२४ मा विश्वव्यापी औद्योगिक चाँदीको माग ६८ करोड ५ लाख औंस पुगेर रेकर्ड कायम भएको छ । एआईमा इलेकट्रोनिक्स र हार्डवेयर मुख्य हुन् । अमेरिकामा मात्रै आगामी १० वर्षमा डाटा सेन्टर निर्माण ५७ प्रतिशतले बढ्ने अनुमान छ ।

अहिले डाटा सेन्टर कम्प्युटिङ् क्षमता तीन क्षेत्रहरूमा केन्द्रित छ । उत्तरमा डाटा सेन्टर, अमेरिका, पश्चिमी यूरोप र पूर्वी र दक्षिणपूर्व एशियाले विश्वव्यापी रूपमा कम्प्युटिंग क्षमताको ८८ प्रतिशत ओगटेको छ । ल्याटिन अमेरिका, दक्षिण एसियालगायत नयाँ क्षेत्रहरूमा डिजिटल सेवाहरूको माग बढ्दै गएको छ ।
विश्वमा बढ्दो हरित ऊर्जा, सौर्य प्यानलदेखि विद्युतीय सवारी, चार्जिङ स्टेशनहुँदै एआई चिपसम्म चाँदीको प्रयोग बढ्दो क्रममा छ ।

५ वर्षमा अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि
अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ५ वर्षमा २६७ प्रतिशतले बढेको छ । ५ वर्षमा चाँदीको मूल्य प्रतिऔंस ६६.४४ प्रतिशतले बढेको छ । विगत एक वर्षमा चाँदीको मूल्य प्रति औंस ६०.५७ डलरले बढेको छ । एक वर्षमा नै चाँदीको मूल्य प्रतिऔंस १९६.४९ प्रतिशत बढेको छ । ६ महिनाको तथ्यांक हेर्दा अन्तर्राष्ट्रिय बजारमा चाँदी १४१.४४ प्रतिशतले बढेको छ ।
पछिल्लो एक महिनामा चाँदीको मूल्य २४.७७ डलरले बढेको छ । नेपालमा भने एक महिनामा चाँदीका मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य उकालो लागेसँगै नेपालमा पनि यसको मूल्य उकालो लागेको छ ।
नेपालमा चाँदीको उत्पादन तथा उत्खनन हुँदैन । नेपालमा चाँदी अन्तर्राष्ट्रिय बजारबाट आयात हुने गरेको छ । चाँदीको उत्पादन तथा खानी चीन, मेक्सिको, पेरु, रुस, अस्ट्रेलिया लगायतका देशमा हुन्छ ।
विद्युतीय गाडीको हब
विश्वमा सबैभन्दा धेरै विद्युतीय गाडी उत्पादन गर्ने देश हो चीन । चीनमा बीवाईडी, एसएआईसी मोटर, जिली अटोमोबाइल, निओ, एक्सपेङ लगायत कैयन ठुला, विश्व चर्चित कम्पनीहरूले ठुलो मात्रामा विद्युतीय गाडी उत्पादन गरिरहेका छन् ।
चीनपछि सबैभन्दा धेरै ईभी उत्पादन गर्ने देश हो संयुक्त राज्य अमेरिका । अमेरिकामा टेस्ला, फोर्ड, जनरल मोटर्स लगायत कैयन ठुला कम्पनीले विद्युतीय गाडी बनाउँदै आएका छन् । युरोपेली मुलुक जर्मनी पनि विद्युतीय गाडी उत्पादन गर्नमा अग्रणी नै मानिँदै आएको छ ।
जर्मनीमा फक्सवागन, बीएमडब्लु र मर्सिडिज–रेन्ज जस्ता कम्पनीहरूले विद्युतीय गाडी उत्पादन गर्छन् । जापानमा टोयोटा, निसान तथा दक्षिण कोरिया मा हुण्डाई, किया कम्पनीले विद्युतीय गाडी निर्माण गरिरहेका छन् ।
दक्षिण एशियामा भारतले पनि विद्युतीय गाडी उत्पादनलाई बढाउँदै गएको छ । भारतमा टाटा मोटर्स, महिन्द्रा र मारुती सुजुकी कम्पनीले विद्युतीय गाडी निर्माण गरिरहेका छन् ।
साथै बेलायत, फ्रान्स, इटाली, मेक्सिको र थाइल्यान्ड जस्ता देशहरूमा पनि विद्युतीय गाडी उत्पादन भइरहेको छ ।
विद्युतीय सवारी बढी प्रयोग हुने देश ?
पछिल्ला तथ्यांकअनुसार चीन विश्वकै सबैभन्दा धेरै विद्युतीय सवारी खपत गर्ने देश बनेको छ । चीन विद्युतीय सवारी उत्पादन, बिक्री र प्रयोगका हिसाबले अग्रस्थानमा छ । चीनपछि संयुक्त राज्य अमेरिकामा विद्युतीय सवारीको दोस्रो ठुलो बजार छ । जर्मनी, फ्रान्स, नर्वे र बेल्जियम जस्ता देशमा विद्युतीय सवारी खपत धेरै हुने गरेको छ । जापान, दक्षिण कोरिया लगायतका देशमा पनि यस्ता सवारीको खपत ठुलो मात्रमा हुने गरेको छ । भारत लगायतका देशहरूले पनि पछिल्लो समय ईभी प्रयोगलाई विशेष प्राथमिकता दिँदै आएका छन् ।
ईभी, एआई, डेटा सेन्टर र सौर्य ऊर्जा उत्पादन तथा खपत बढाउने देशहरू विश्व अर्थ व्यवस्थामा शक्तिशाली बन्दै जाने छन् । यस्ता देशहरूले क्रमैसँग चाँदीको खपत पनि बढाउँदै लैजाने अध्ययनहरूले देखाउन थालेका छन् । जसले चाँदीको भाउ अझै बढ्न आकलन विभिन्न अध्ययनले देखाएका छन् ।








प्रतिक्रिया दिनुहोस्