काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारसँग स्पष्टिकरण माग गरेको छ । विभिन्न उजुरीका आधारमा आयोगले सम्बन्धित उम्मेदवारहरूलाई कारण खुलाउदै स्पष्टिकरण मागेको हो ।
स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा झापा क्षेत्र नम्बर–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन), सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङ, रुपन्देही–२ का उम्मेदवार कमल भुसाल (निकोलस) र भक्तपुर–२ का उम्मेदवार महेश बस्नेत रहेका छन् । यस्तै, भक्तपुर–२ कै उम्मेदवार जानुका पाठकलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।
बालेन्द्र शाहको हकमा केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको स्टाटसमा गरेको टिप्पणी निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै उजुरी परेको आधारमा आयोगले स्पष्टिकरण मागेको हो ।
रुपन्देही–२ का उम्मेदवार निकोलस भुसालमाथि भने ‘जेन–जी आन्दोलन’सँग जोडिएको आइकोनिक जुत्तालाई आफ्नो चुनाव चिन्हका रूपमा प्रचार गरेको आरोप छ । यस विषयमा पनि आयोगले स्पष्टिकरण माग गरेको जनाएको छ ।
सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङमाथि चुनावी प्रचार–प्रसारमा बालबालिकाको प्रयोग गरेको, उनीहरूलाई टिसर्ट लगाउन लगाएको लगायतका गतिविधि आचारसंहिता विपरीत भएको उजुरी परेको छ ।
त्यस्तै, भक्तपुर–२ का उम्मेदवार महेश बस्नेतले बालेनलाई लक्षित गर्दै आपत्तिजनक शब्द प्रयोग गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । सोही क्षेत्रकी उम्मेदवार जानुका पाठक (शोभा) लाई उम्मेदवारविरुद्ध घृणाजन्य अभिव्यक्ति दिएको विषयमा कारण पेश गर्न भनिएको छ ।
यसैबीच, स्वास्थ्य स्वयंसेवक संघसँग पनि निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ । अनुमति नलिइ आचारसंहिता लागू भइसकेपछि अधिवेशन आयोजना गरेको आरोपमा संघसँग जवाफ मागिएको हो ।








प्रतिक्रिया दिनुहोस्