काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेटिने भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने बताएका छन्।
प्रवक्ता चालिसेका अनुसार कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ। “घोषणापत्रमा स्रोत व्यवस्थापनका उपायहरू पनि समेटिन्छन्,” उनले भने।
हाल घोषणापत्र निर्माणका क्रममा पार्टीले जिल्ला–जिल्लाबाट सुझाव संकलन गरिरहेको चालिसेले जानकारी दिए। स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरेर राष्ट्रिय आवश्यकतासँग जोडिने उनको भनाइ छ।
“कांग्रेसले गर्न सक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयन योग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ,” प्रवक्ता चालिसेले भने, “यो घोषणापत्रले हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास गर्नेछ।”
उनका अनुसार कांग्रेसको घोषणापत्रले वर्तमान चुनौती र भविष्यको दिशालाई एकैसाथ सम्बोधन गर्दै विश्वासयोग्य विकल्प प्रस्तुत गर्नेछ। पार्टीले घोषणापत्रमार्फत स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका जनतासामु राख्ने तयारी गरेको छ।








प्रतिक्रिया दिनुहोस्