सर्लाही । सर्लाही धनकौलका रामप्रवेश चौधरी आगामी फागुन २१ गते हुने निर्वाचनको माहोल विगतको भन्दा भिन्न रहेको बताउँछन् ।
चौधरीले अहिले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाका कारण सर्लाही ४ सहित पूरै मधेसकै वातावरण फरक देखिएको दाबी गरे । अरु बेला पनि कांग्रेससहित अन्य पार्टीका कारण निर्वाचनले माहोल बनाउने भए पनि यो पटक कांग्रेस सभापति थापा आफैँ सर्लाहीमा उम्मेदवार बनेर आएपछि अर्को वातावरण देखिएको चौधरीको भनाइ छ ।
‘कांग्रेसमा सभापति नहुँदै पनि गगन थापा प्रतिको समाजका एउटौ छुट्टै खालको क्रेज थियो’, चौधरी भन्छन्, ‘अहिले त झनै यत्रो आँट गरेर विशेष महाधिवेशन गरेर सभापति बनेर आउनु भएको छ । यसले उहाँप्रतिको विश्वास झनै समाजमा बढेको चौधरीको भनाइ छ । उनले अहिले मधेसभर नै गगन थापाको ‘ह्विम’ फैलिएको बताउँछन् । यसले गगनको लोकप्रियता बढेको देखाउँछ ।
सर्लाही ४ मा थापा उम्मेदवार बनेर पहिलो चरणको प्रचार सकाएर काठमाडौँ फर्किइसकेका छन् । सर्लाहीको धनकौल, रामनगर, बलरा, बरहथवा, विष्णु र बसबरिया जस्ता स्थानीय तहहरू यो क्षेत्रमा पर्छन् । थापा पहिलो चरणमा चार दिन त्यहाँ बसेर सबै वडाका स्थानीय अगुवा नेताहरूसँग छलफल गर्नुको साथै १२ भन्दा बढी कोण सभा र घरदैलो कार्यक्रम गरेका थिए ।
रामनगरका विजय यादवले सभापति थापा आफैँ क्षेत्रमा आएपछि नागरिक तहमै उत्साह देखिएको दाबी गर्छन् । ‘यो भन्दा पहिलो उहाँको बारेमा सुनिएको मात्र थियोु, यादव भन्छन्, ‘तर अहिले उहाँसँगै अन्तर्क्रियाहरू भएपछि उहाँप्रति अलगै खालको आस्था बढेर आएको छ । अहिले कांग्रेसमात्र होइन, पूरै निर्वाचन क्षेत्रको सबै तप्का गगन थापाप्रति सकारात्मक देखिएको अवस्था छ ।’
थापा उम्मेदवार बनेर आएपछि यहाँ अहिले सम्पर्क कार्यालय खोलिएको छ । उनले आफ्नो प्रचारको क्रममा अब यहाँ संसदीय सम्पर्क कार्यालय पनि निरन्तर चल्ने बताएका छन् । जुन यहाँका नागरिकहरूका लागि नालौ देखिन्छ । यस भन्दा पहिला नेताहरूसँग भेट्न उनीहरूको घर धाएका नागरिकहरू अब संसदीय कार्यालयमार्फत गुनासा तथा कामहरूका बारेमा आफ्ना सांसदलाई भन्न पाउँछु भन्नेमा गर्व गर्न थालेका छन् ।
त्योसँगै थापा निर्वाचित नहुँदै अहिलेदेखि नै त्यहाँका नागरिकको समस्याको बारेमा विभिन्न टोलीहरूले स्थलगत अध्ययनहरू गर्न थालेका छन् । जसले स्थानीय समस्याहरू सल्टाउन थापाले अग्रसरता देखाएको विश्वास समाजमा देखिएको छ ।
बसबरियाका विष्णु ठाकुर यसअघि कुनै पनि यहाँका संसदले यसरी व्यवस्थित तरिकाले कामहरू थालेको आफूहरूले नदेखेको बताउँछन् । ‘गगन थापाको बारेमा हामीले सुनेका मात्रै थियौँ, ठाकुर भन्छन्, ‘उहाँ त्यत्तिकै यति कम उमेरमा यो राजनीतिक उचाइ पाउनु भएको होइन ।’ ठाकुरले निर्वाचन क्षेत्र बारेमा कांग्रेस सभापति थापाले सर्लाहीमा आएर गरेको संवादले नागरिकहरूमा उत्साह मात्रै नभएर हौसिएको अवस्था सिर्जना भएको बताउँछन् ।
सर्लाही ४ कांग्रेसको परम्परागत गढ
हुनत सर्लाही ४ लाई कांग्रेसको परम्परागत गढ नै मानिन्छ । २०४८ देखि २०५६ सम्म भएका तीन ओटा निर्वाचन जितेका महन्थ ठाकुरले नेपाली कांग्रेस छाडेसँगै यो क्षेत्रमा अमरेशकुमार सिंह लड्दै आएका थिए । उनले २०७० र २०७४ को निर्वाचन कांग्रेसबाट जितेका हुन् भने २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन् ।
२०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा सर्लाही–४ बाट तत्कालीन मधेसी जनअधिकार फोरमका शिवपुजन राय विजयी भएका थिए । २०७९ को निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्र सहितको गठबन्धनबाट कांग्रेसका नागेन्द्रकुमार उम्मेदवार बनेका थिए । नागेन्द्रले १८ हजार २ सय ५३ मत ल्याउँदा सिंह २० हजार १७ मत ल्याएर विजयी भए ।
तत्कालीन गठबन्धनमै रहे पनि माओवादीका शिवपुजन रायले आफ्नी छोरी मधुमालाकुमारी यादवलाई स्वतन्त्र उम्मेदवार बनाएका थिए । यादवले १४ हजार ६ सय २२ मत ल्याएकी थिइन् । उनै शिवपूजनका छोरा अमनिस यादव अहिले एमाले उम्मेदवार बनेका छन् । चौथोमा रहेका जनता समाजवादी पार्टीका उम्मेदवार राकेश मिश्रले ५ हजार ८ सय १३ मत मात्र पाएका थिए ।
समानुपातिकतर्फ भने कांग्रेस पहिलो भएको थियो । कांग्रेसले १६ हजार २८ मत ल्याउँदा जनमत पार्टीले १२ हजार ५ सय मत पाएको थियो । जबकि जनमत पार्टीका प्रत्यक्ष उम्मेदवार रामबाबु रायले ३ हजार ४ सय मत मात्र ल्याएका थिए ।
यो क्षेत्रमा समानुपातिकतर्फ माओवादीले तेस्रो धेरै मत पाएको थियो। उसले ९ हजार ७ सय मत ल्याउँदै गर्दा एमालेले ९ हजार ४ सय ७१ मत ल्याएको थियो । यहाँ सबभन्दा धेरै वडा पनि नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले १९ वडा जित्दा माओवादी केन्द्रले १२ ओटा वडा जितेको थियो । त्यस्तै एमालेले १०, लोसपाले ८ र जसपाले २ ओटा वडा जितेको थियो ।
यी पार्टीका वडाध्यक्षहरूले पाएको मतमा पनि कांग्रेसकै धेरै छ । कांग्रेसका वडाध्यक्षहरूले पाएको मत २३ हजार १ सय ४३ छ । वडाध्यक्षहरूको मतमा माओवादी केन्द्र दोस्रो छ । उसले १८ हजार ५ सय २४ मत पाएको थियो । वडामा लोसपाका उम्मेदवारहरूले पाएको मत जोड्दा १४ हजार २ सय २७ हुन्छ । त्यस्तै एमालेका वडाध्यक्ष उम्मेदवारहरूले पाएको मत ११ हजार ४ सय ७९ थियो। जसपाले पाएको मत ६ हजार ७ सय ८६ छ ।
यसरी नेपाली कांग्रेसको मतको हिसाबले बलियो नै देखिएको सर्लाही ४ मा कांग्रेस सभापति थापालाई निर्वाचन जित्न खासै समस्या छैन । ‘उहाँ यहाँबाटै सजिलै निर्वाचित भएर जाने अवस्था देखिन्छ’, स्थानीय शिक्षक सुदर्शन मिश्र भन्छन्, ‘उहाँ यहाँ उम्मेदवार नै बनेर आएपछि सर्लाहीसहित मधेसभर नै नागरिक तप्कामा उत्साह देखिएको छ ।’
शिक्षक मिश्रकै भनाइमा भन्ने हो भने मधेसभरि नै अहिले गगन धुन फैलिरहेको छ । हुनत कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेसँगै उनीप्रतिको ‘क्रेज’ ह्वात्तै बढेको छ । उनी मधेसमा मात्र होइन देशैभर चर्चामा छन् । उनकै योजनाअनुसार कांग्रेस चुनावमा होमिएको छ । आफ्नो सहज काठमाडौँ क्षेत्र नम्बर ४ छाडेर तराई झर्नुले गगन जहाँ पनि लोकप्रिय छन् भन्ने बुझाउँछ ।







प्रतिक्रिया दिनुहोस्