Skip to content

डिजिटल वित्तीय प्रणाली सुदृढ गर्न साइबर जोखिम व्यवस्थापन मजबुत बनाउनुपर्छ: डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले नेपालको डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित र दिगो बनाउन बैंक तथा वित्तीय संस्थाहरूमा साइबर जोखिम व्यवस्थापन प्रणालीलाई अझ मजबुत बनाउनु अपरिहार्य रहेको बताएका छन्।

नेपाल बैंकर्स संघ (एनबीए) र भिसाको सहकार्यमा आयोजित “नेपालमा साइबर सुरक्षा लचिलोपन सुदृढीकरण” विषयक राष्ट्रिय कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै डेपुटी गभर्नर मिश्रले डिजिटल कारोबार विस्तारसँगै साइबर जोखिम पनि तीव्र रूपमा बढिरहेको उल्लेख गरे । उनले नियामक, बैंक, सुरक्षासम्बन्धी निकाय तथा निजी क्षेत्रबीच समन्वय आवश्यक रहेकोमा जोड दिएका छन् ।

कार्यशालामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेनाको साइबर सुरक्षा निर्देशनालय, नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लगायतका उच्च तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो, जसले डिजिटल अर्थतन्त्रको सुरक्षा प्रति साझा प्रतिबद्धता झल्काएको थियो।

कार्यक्रममा नेपाल प्रहरीको साइबर ब्यूरोले “साइबर–सक्षम ठगी र घोटालामा देखिएका नयाँ प्रवृत्ति: नेपाली सन्दर्भ” विषयमा प्रस्तुति दिँदै वर्तमान जोखिम अवस्था र कानुन कार्यान्वयनमा देखिएका चुनौतीहरू प्रस्तुत गरेको थियो। यस्तै, भिसाले “सुरक्षित डिजिटल भविष्यको निर्माण” विषयमा विश्वव्यापी उत्कृष्ट अभ्यास र सहकार्यमा आधारित साइबर सुरक्षाका उपायहरूबारे जानकारी गराएको थियो।

“समन्वित राष्ट्रिय साइबर सुरक्षा प्रणाली निर्माण: भूमिका, जिम्मेवारी र भावी बाटो” शीर्षकमा आयोजित प्यानल छलफलमा बैंकिङ क्षेत्र, नियामक निकाय तथा साइबर सुरक्षा विज्ञहरूले अन्तर–निकाय समन्वय, क्षमता अभिवृद्धि र सार्वजनिक–निजी साझेदारी सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको समापन सत्रमा भिसा इन्डिया तथा दक्षिण एसियाका उपाध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृत वैभव तराणेकरले धन्यवाद ज्ञापन गर्दै नेपालका सातै प्रदेशमा विशेष साइबर सुरक्षा तालिम सञ्चालन गर्ने नयाँ क्षमता अभिवृद्धि पहलको घोषणा गरे ।

कार्यशालाले नेपालमा बढ्दो डिजिटल जोखिमका बीच साइबर सुरक्षासम्बन्धी ज्ञान आदान–प्रदान, नीति संवाद र सहकार्यका लागि महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजकले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi