काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागले आफ्नो कार्यक्षेत्रमा रहेका सहकारी संस्थाहरुको अनुगमन गर्न सुरु गरेको छ ।
महानगरको नियमन क्षेत्रभित्र रहेका सम्पूर्ण सहकारी संस्थाहरूको आर्थिक वर्ष २०८१÷०८२ का लागि महानगरको सहकारी ऐन २०७४ को परिच्छेद १६ बमोजिम सुपरीवेक्षण, निरीक्षण, अनुगमन तथा नियमन कार्य औपचारिक रूपमा सुरु भइसकेको जनाएको छ ।
सहकारी विभागबाट गठन हुने अनुगमन निरीक्षण टोली सहकारी संस्थाहरूमा स्थलगत निरीक्षणका लागि उपस्थित हुने हुँदा १४ प्रकारका कागजात, अभिलेख तथा सूचना विवरणहरू तयारी अवस्थामा राख्न भनेको छ । साथै अनुगमन टोलीले मागेको समयमा उक्त कागजात उपलब्ध गराउन समेत अनुरोध गरेको छ ।
अनुगमन गर्दा सहकारीले सहकारी संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि, विनियम (संशोधित भए संशोधित प्रतिलिपि सहित), वार्षिक साधारण सभा तथा विशेष साधारण सभाका निर्णय प्रतिवेदनहरू, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको विवरण, सदस्य दर्ता पुस्तिका तथा सदस्य विवरण चाहिने जनाएको छ ।
यस्तै शेयर पुँजी विवरण, बचत तथा ऋण कारोबार सम्बन्धी अभिलेख, ऋण लगानी फाइल (कर्जा सम्झौता, धितो कागजात, किस्ता तालिका आदि), चालू आर्थिक वर्ष तथा अघिल्लो वर्षहरूको लेखापरीक्षण प्रतिवेदन, बैंक खाता विवरण तथा बैंक स्टेटमेन्ट, कर्मचारी विवरण (नियुक्ति पत्र, जिम्मेवारी पारिश्रमिक विवरण), आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी कागजात, प्राधिकरण, विभाग, महानगरपालिकाबाट प्राप्त निर्देशन, परिपत्र तथा कार्यान्वयन स्थिति, अन्य आवश्यक कागजात तथा सूचना (टोलीले माग गरे बमोजिम) चाहिने जनाएको छ ।
उक्त कागजात तथा विवरणहरू तयारी अवस्थामा राखी निरीक्षण टोलीलाई सहजीकरण गर्न तथा आवश्यक सूचना उपलब्ध गराउन सम्बन्धित सबै सहकारी संस्थाहरूलाई आग्रह गरेको छ ।







प्रतिक्रिया दिनुहोस्