Skip to content

छोराको विहे भोजमा खर्च हुने रकम वरिष्ठ अधिवक्ता पन्तले दिए गलेश्वर आश्रमलाई

काठमाडौं । वरिष्ठ अधिवक्ता सुशील पन्त र उनकी पत्नी कुमुदा पन्तले छोराको विहेमा भोजमा खर्च हुने रकम देवघाटधामस्थित गलेश्वर आश्रमलाई दानस्वरुप अर्पण गरेका छन् ।
बिहेमा भोज नगरी भोजमा खर्च हुने रकम समाजमा दीर्घकालीन प्रभाव सृजना गर्ने सनातन धर्म रक्षा तथा संस्कृति र संस्कारको विकासको लागि आश्रमलाई सहयोग गरेको जनाएका छन् ।

शुक्रबार कान्छा छोरा सुयोग्यको कृति घिमिरेका साथ विवाह भएको छ । विवाह पश्चात् उनले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ४० लाख रुपैयाँको चेक गलेश्वर आश्रमका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजलाई हस्तान्तरण गरे ।

‘कमाउने त्यो, दिनलाई नै हो’ लाई आदर्श वाक्य मानेर उनले विवाह, व्रतबन्ध जस्ता शुभकार्यमा फजुल खर्च नगरी त्यस्तो रकम परोपकारी एवं जनकल्याणकारी कार्यमा संलग्न संस्थालाई दिने गरेका छन् । यसअघि जेठा छोराको विहे गर्दा पनि उनले भोज नगरी सोबापत खर्च हुने ४० लाख रकमबाट २० लाख रुपैयाँ क्यान्सर केयर फाउन्डेसनलाई र अर्को २० लाख रुपैयाँ पुण्यार्जन फाउन्डेसनलाई दान गरेका थिए ।

गलेश्वर आश्रम अष्टाङ्ग योगसिद्ध योगीराज ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)ले स्थापना गरेको आध्यात्मिक साधना, सांस्कृतिक संरक्षण र सामाजिक सेवामा समर्पित संस्था हो । आश्रमले देवघाटधाममा वेद–वेदाङ्ग विद्यालय, यहाँ बसोबास गर्ने साधक सन्त–तिर्थालुका लागि भोजन र बसोबास सहज बनाउने हेतुले अन्न क्षेत्र र घरबारविहीन तथा परिवारबाट परित्यक्त वृद्ध–वृद्धाको कल्याणलाई ध्यानमा राखी सहज एवं सुन्दर कल्पवास निर्माण गरी सञ्चालन गरिरहेको छ ।

आश्रमले देवघाटधाममा बसोबास गर्ने साधक एवं वृद्धवृद्धाको स्वास्थ्य उपचारको लागि धर्मार्थ अस्पताल र एक हजार हाराहारीलाई बास बस्न पुग्ने अतिथिगृह पनि सञ्चालन गरिरहेको छ । अतिथिगृहमा निःशुल्क भोजन र बसोबाको सुविधा छ । अस्पतालले बिरामीलाई स्वास्थ्य जाँच र औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । आश्रमले तिथिअनुसारका धार्मिक अनुष्ठान तथा अन्य धार्मिक क्रियाकलापहरु नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।

आश्रमले अध्यात्म, संस्कृति संरक्षण र सामाजिक क्षेत्रमा प्रसंसनीय कार्यहरु गर्दै आएकोले सनातन धर्म, संस्कृति र संस्कारको विकास तथा जगेर्ना हेतु दान दिनका लागि आफूले उक्त आश्रम रोजेको पन्तले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life