Skip to content

सबैभन्दा बढी आचारसंहिता उल्लङ्घन गर्ने रास्वपा, १५ सय बढी सामग्री हटाइयो

धनुषा । जनकपुरधाम क्षेत्रमा निर्वाचन आचारसंहिताविपरीत सार्वजनिक स्थानमा टाँसिएका पोस्टर, ब्यानर, स्टिकर तथा झण्डा हटाइएको छ ।

निर्वाचन कार्यालयमा पटकपटक उजुरी परेपछि सम्बन्धित राजनीतिक दल र उम्मेदवारलाई आफैँ प्रचार सामग्री हटाउन आग्रह गरिएको थियो ।

उक्त आग्रहको बेवास्ता भएपछि शनिबार जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र अनुगमन गर्दै एक हजार ५०० भन्दा बढी अवैध प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार सार्वजनिक स्थान, बिजुलीका पोल, पर्खाल तथा सरकारी संरचनामा टाँसिएका प्रचार सामग्री निर्वाचन आचारसंहिताविपरीत ठहरिएका हुन् ।

अनुगमनका क्रममा सबैभन्दा बढी आचारसंहिता उल्लङ्घन गर्ने दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए ।

निर्वाचन कार्यालयले आचारसंहिता पालना नगर्ने दल तथा उम्मेदवारमाथि कानुनी कारबाही हुनसक्ने चेतावनी पनि दिएकाले नियमित अनुगमन भइरहेको उनले बताए ।

साथै निष्पक्ष, स्वतन्त्र र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवार बन्न स्थानीय प्रशासन, प्रहरीलगायत सरोकार भएका निकायले आग्रह गरेका छन् । प्रशासनले आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिने र उल्लङ्घन दोहोरिए कडा कारबाही गर्ने स्पष्ट पारेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life