Skip to content
Prabhu

साताको सेयरः नेप्से परिसूचक साढे ५ प्रतिशतले बढ्यो, औसत कारोबार पनि वृद्धि

 

काठमाडौं । यो साता नेप्से परिसूचक साढे ५ प्रतिशत बढेर बन्द भएको छ । गत साता २०१८ दशमलव ७६ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.५८ प्रतिशत अर्थात् ११२.७३ अंक बढेर २१३१.४९ विन्दुमा पुगेको हो ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये सबै कारोबार दिन नेप्से बढेर बन्द भएको थियो । बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर बजारमा लगानी गर्ने वातावरण केही सहज भएसँगै यस साताको बजार उकालो लागेको हो । यस साता सेन्सेटिभ इण्डेक्स ६.७८ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ६.४१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.९४ प्रतिशत बढेको छ ।

यस साता नेप्सेसँगै दैनिक औसत कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औसतमा ३ अर्ब ७२ करोडको कारोबार भएको थियो भने यो साता दैनिक औषतमा ५ अर्ब ५० करोडको सेयर खरिदबिक्री भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औसत काराबार रकम ४७.८९ प्रतिशत अर्थात् १ अर्ब ७८ करोड रुपैयाँ बढी हो । यस साता दैनिक औसत सेयर संख्या ५४.०९ प्रतिशत बढेको छ भने दैनिक औसत कारोबार संख्या ४३.२३ प्रतिशत बढी हो ।

नेप्सेसँगै यो साता कुल बजार पुँजीकरण पनि साढे ५ प्रतिशतको वृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब १ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता १ खर्ब ७८ अर्ब रुपैयाँ बढेर ३३ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ ।

यो साता १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १३.४४ प्रतिशत बढेको छ । गत साता १०५१ दशमलव ४१ विन्दुमा बन्द भएको बैंकिङ उपसमूहको परिसूचक, यो साता १४१ दशमलव ३२ अंक बढेर ११९२ दशमलव ७३ विन्दुमा पुगेको छ । यस साता सबैभन्दा कम बढ्ने उपसमूह लघुवित्त हो । सो उपसमूहको परिसूचक यो साता १.०७ प्रतिशत बढेको छ ।

अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३८७ दशमलव ७५ अंक बढेको छ । गत साता ९९९६ दशमलव २९ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता बढेर १०३८४ दशमलव ०४ विन्दुमा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal