काठमाडौं । पछिल्लो भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटनामा परी २७ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का अनुसार असोज ८ देखि ११ गतेसम्मको अवधिमा भएका विपद्का घटनामा ४ जना बेपत्ता र ८ जना घाइते भएका छन् । ती विपद्का घटनाबाट १ हजार ८२ परिवार प्रभावित भएका छन् भने ११४ वटा पशुचौपाय क्षति भएको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा पहिरोका ३०४ वटा घटना परी २० जनाको मृत्यु भएको थियो भने चार जना बेपत्ता र सात जना घाइते भएका छन् । त्यस्तै बाढीका ८७ वटा घटनामा चार जनाको मृत्यु भएको थियो । भारी वर्षासँग सम्बन्धित १५१ घटनामा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
भारी वर्षाका कारण २२७ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन भने १४२ घरमा आंशिक क्षति पुगेको छ ।
बाढी पहिरोबाट ३१ वटा पुलमा क्षति पुगेको छ ।
प्राधिकरणका अनुसार चार दिनको वर्षाका क्रममा देशभरका १८६ वटा वर्षा मापन केन्द्रमा १०० मिलीमिटरभन्दा बढी वर्षा भएको थियो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डेढगाउँमा सबैभन्दा बढी ५४४ दशमलव दुई मिलीमिटर, कास्कीको पञ्चासेमा ५०० दशमलव दुई मिलीमिटर र तनहुँको अत्रौलीटारमा ४७२ मिलीमिटर वर्षा मापन भएको थियो ।
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण यस अवधिमा देशका विभिन्न भूभागमा भारी वर्षा भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको प्रवक्ता शान्ति महतले त्यस अधिमा वर्षाजन्य विपद्का कारण जोखिममा परेका करिब दुई हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिइन् ।
उनका अनुसार जाजरकोट, म्याग्दी र बागलुङलगायत दुर्गम जिल्लामा बाढी तथा पहिरोमा फसेकाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । खोज, उद्धार तथा राहत कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनासहितका सुरक्षाकर्मी परिचालित भएका थिए ।
उनले भनिन् “असोज ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा जोखिममा रहेका ७८ जनालाई हेलिकोप्टरबाट उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो ।” जाजरकोटस्थित भेरी नदीबीच टापुमा फसेका चार जनाको समेत हवाई उद्धार गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्