काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएका छन् ।
राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ ।
समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८२’ वार्षिक पत्रिका विमोचन गरे । उनले ‘फ्रि फल जम्प’ मा प्रथम भएका प्रमुख सेनानी विवेक बिक्रम शाह र दोस्रो भएका हुद्दा रमेशकुमार चौधरीलाई पुरस्कार प्रदान गरे । राष्ट्रपति पौडेलले सेना दिवस समारोहमा ब्याण्ड प्रस्तुत गर्ने भारतीय, बेलायती र अमेरिकी सेनाका टोली प्रमुखलाई सम्झनास्वरुप उपहार प्रदान गरे ।
यसअघि सेनाको हेलिकप्टर र ड्रोनमार्फत पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०८२’ लेखिएको ब्यानर प्रदर्शन गरियो । त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा कवाज प्रस्तुत गरेको थियो । समारोहमा सेनाद्वारा विभिन्न रणकौशल तथा परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रस्तुत गरियो । कार्यक्रममा सेनाका टुकडीले मार्चपास समेत प्रस्तुत गरेको थियो ।
सो अवसरमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका हातहतियार, उपकरण र सवारी साधन प्रदर्शन गरिएको थियो ।











प्रतिक्रिया दिनुहोस्