Skip to content

काठमाडौं-६: मतदाता भन्छन्, चुनावमा खुट्टै ढोगौँला जसरी नमस्कार गर्दै आइपुग्छन्, पछि वास्तै गर्दैनन्, अब‘गरिखाने वातावरण देऊ’

nabil bank
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति जतिजति नजिक हुँदै छ चुनावी सरगर्मी त्यसैगरी बढिरहेको छ । निर्वाचन आयोगले हिजो फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार गर्ने बाटो खुला गरिदिएपछि भने चुनावी गर्मीले देश हपक्कै तातेको छ । अहिले राजनीतिक दलका नेता मतदाताको घरदैलोमा व्यस्त छन् । मतदाताहरुलाई उम्मेदवारहरुको नमस्कार फर्काएर भ्याइनभ्याइ छ । मतदाताहरु यो नेताहरुको नमस्कार चुनावका बेलामा मात्रै भएको र अरू बेला वास्ता नगर्ने गरेको दुःखेसो पनि पोखिरहेका छन् ।
यस्तै अभियान काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा पनि जारी छ । यस क्षेत्रमा पनि उम्मेदवारबीच रोचक उपस्थिति रहेको छ । मतदाताहरु उम्मेदवारका गतिवधि नियालिरहेका छन् । कतिपय मतदाताले विगतमा गरेका काम र अब गर्नुपर्ने कामबारे प्रश्न सोधिरहेका छन् । कोही उम्मेदवारका कुरामा मुन्टो हल्लाउँदै मौन समर्थन गर्छन् भने कतिपयले प्रतिप्रश्न पनि गरिरहेका दृश्यहरु देखिएका छन् ।
यहाँ अहिले मतदाताका उत्तर दिँदै उम्मेदवारहरु आ–आफ्नो घोषणापत्रका आधारमा मत मागिरहेका दृश्य देख्न सकिन्छ । तारकेश्वरका मतदाता विष्णु लामिछाने स्वास्थ्य, शिक्षा, रोजगार सुनिश्चित गर्दै नागरिकले सहज रुपमा सरकारी सेवा पाउने वातावारण गराउनुपर्ने अहिलेको टड्कारो आवश्यकता रहेको बताउँछन् । यसतर्फ उम्मेदवारले ध्यान दिनुपर्ने बताउँदै लामिछानेले भने, “अहिलेसम्म उम्मेदवारसँग मेरो भेट भएको त छैन, भेटेपछि म स्वास्थ्य, शिक्षा, रोजगारबारे तपाईंको प्रतिबद्धता के हो, सरकारी सेवा सहज पाउने बारेमा के सोच्नुभएको छ? गाउँका खानेपानी, भरपर्दा र सुरक्षित सडक निर्माणदेखि, ढल निकासका समस्या कसरी समाधान गर्नुहुन्छ, यही प्रश्न सोध्छु, जसले चित्तबुझ्दो जवाफ दिन्छन्, उसैलाई भोट हुन्छ ।”
काठमाडौँ क्षेत्र नम्बर ६ फरकफरक तीन खालको भौगोलिक स्थितिमा विभाजित क्षेत्र हो । एउटा मुख्य सहर भएको क्षेत्र छ, जुन काठमाडौँ महानरगभित्र पर्छ । लैनचौर, बागबजारलगायत ठाउँ पनि यही क्षेत्रमा छ । अर्को बीच क्षेत्र छ महानगरभन्दा अलि पर र काँठभन्दा अलि तल टोखा र तारकेश्वर नगरपालिकाका केही वडाहरु पर्दछ । धेरै जिल्लाबाट बसाइँ सरेर आएर शहर बनेको ठाउँ यसभित्र पर्छ । अर्को काँठ क्षेत्र जस्तै साङ्ला, झोर यहाँ रहेको छ । तीन भूगोलका फरकफरक मनोविज्ञान रहेका छन् र समस्या पनि फरकफरक रहेका छन् ।
यी क्षेत्रलाई उम्मेदवारले जितेर गएपछि कसरी सम्बोधन गर्छन् भन्ने कुरा महत्वपूर्ण हुने स्थानीयहरु बताउँछन् । “हामीलाई अरू केही चाहिएको होइन । हामीले राम्रोसँग काम गरेर खाने वातावरण दिनुप¥यो”, टोखाकी राममाया शर्मा प्रश्न गर्दै भन्छीन, “चुनावमा खुट्टै ढोगौँला जसरी नमस्कार गर्दै यो गर्छु र त्यो गर्छु भन्दै आइपुग्छन्, तर पछि वास्तै गर्दैनन्, सबै नेता उस्तै हुन् । बोलेको पूरा गर्नुप¥यो नि नेता भएपछि त ?
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार दोहो¥याउँदा नेपाली कांग्रेस र नेकपा (एमाले)ले उम्मेद्वार फेरेका छन् । यता नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बनेर तेस्रो स्थानमा चित्त बुझाएका नेता हिमाल (हिमलाल) शर्मालाई उम्मेदवार बनाएको छ । यहाँ पनि प्रमुख दलका उम्मेदवार नै मुख्य प्रतिष्पर्धी देखिएका छन् ।
काठमाडौँ क्षेत्र नम्बर ६ मा कुल उम्मेदवार २० जना रहेका छन्, जसमा पाँच जना स्वतन्त्र रुपमा उठेका छन् । यहाँ नेकपा (एमाले)बाट अमनकुमार मास्के, नेपाली कांग्रेसबाट कृष्ण (सबुज) बानियाँ र नेपाली कम्युनिष्ट पार्टी(नेकपा) बाट हेमलाल शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल उम्मेदवार रहेका छन् । उनीहरु चार जनाबीच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने बताइन्छ ।
यस्तै, राप्रपाबाट उद्धवराज भेटवाल, उज्यालो नेपाल पार्टीबाट वारिस धरेल, नेपाल मजदुर किसान पार्टीबाट इन्द्रकुमारी बज्राचार्य र राष्ट्रिय जनमोर्चाबाट जगतप्रसाद रेग्मीलगायतको उम्मेदवारी रहेको छ ।
काठमाडौँ ६ का एमालेका उम्मेदवार अमनकुमार मास्के बागमती प्रदेशसभा सदस्यबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका छन् । उनीसँग प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री भएको अनुभव छ । बानियाँ नेपाली कांग्रेस काठमाडौँका सभापति छन् । उनले हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको अध्यक्षता समेत गरेका थिए । यस्तै, हिमाल शर्मा तत्कालीन माओवादीको विद्यार्थी राजनीतिबाट आएका हुन् । रास्वपाका शिशिर खनाल भने गत २०७९ को निर्वाचनमा विजयी भएर यसपालि पनि दोहोर्याउँदै छन् । उनी नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा छोटो समय शिक्षा तथा विज्ञान प्रविधिमन्त्री पनि बने ।
मनमैंजुका कृष्ण श्रेष्ठ पसल चलाएर बस्छन् । उनलाई अहिलेसम्मका जनप्रतिनिधिले गरेका कामबाट सन्तुष्ट छैनन् । श्रेष्ठ भन्छन “अझै यस क्षेत्रमा विकास गर्न पुगेको छैन, राम्रो गर्नुपर्यो, नागरिकको जीवन सहजरुपमा चल्ने वातावरण र काम गरेर खानेहरुलाई सहज हुने अवस्था सिर्जना गर्नुपर्छ । यसतर्फ उम्मेदवारको ध्यान जानुपर्छ ।” स्वास्थ्य शिक्षा, रोजगार, विकास बाटोघाटो, सडकसँगै युवा पलायन रोक्ने, रोजगारी सिर्जना गर्ने र उद्योग कलकारखाना खोज्ने, कृषिमा व्यवसायिक वातावरण तयार गर्न र शान्ति सुरक्षामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
काठमाडौँ क्षेत्र नम्बर ६ मा ३२ मतदान स्थलमा ७९ वटा मतदान केन्द्र रहेको छ । यो क्षेत्रमा ६७ हजार ७५९ मतदाता रहेकामा ५१.५९ प्रतिशत अर्थात ३४ हजार ९५६ महिला मतदाता रहेका छन् । पुरुष मतदाता ३२ हजार ८०२ अर्थात ४८.४१ प्रतिशत र अन्य मतदाता एक रहेको छ ।  विसं २०७९ मा यहाँ ६२ हजार १०२ मतदाता थिए ।
काठमाडौँ ६ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाको २६, २७ र २८ नम्बर वडा, टोखा नगरपालिकाको १, ८, ९, १० र ११ र तारकेश्वर नगरपालिकाका वडा १, २, ६, ७, ८, ९, १० र ११ रहेका छन् । काठमाडौँको मुख्य शहरी क्षेत्रदेखि काँठसम्मै यो क्षेत्रले भेटेको छ । यो क्षेत्रमा काठमाडौँ महानगरको सामाखुसी, लैनचौर, बागबजार, महाबौद्ध, दरबार हाईस्कुल, ज्याठा, कमलादी, पुरानो बसपार्क, भृकुटीमण्डवको प्रदर्शनीमार्ग, गोल्कुपाखा, हुँदै टोखा र तारकेश्वर नगरपालिकाका धेरै ठाउँलाई ओगटेको छ ।
तारकेश्वरको साङ्ला, काभ्रेस्थली, धर्मस्थली, फुटुङ, डाँडाचौर, मनमैंजु, नेपालटार, ऐश्वर्य नगर, टोखाको गोङ्गबु, गैरीगाउँ, मनोहरा र झोरसम्मै काठमाडौँ क्षेत्र नम्बर ६ ले ओगटेको छ । विविधतायुक्त बस्ती र समस्या भएको क्षेत्र पनि रहेको छ काठमाडौँको क्षेत्र नम्बर ६ । यो क्षेत्रको काँठमा छुट्टै समस्या रहेको छ भने मुख्य कोर एसियामा छुट्टै समस्या रहेको मतदाता बताउँछन् ।
के भन्छन् उम्मेदवार ?
उम्मेदवारहरुले विभिन्न कार्यक्रम तथा मतदाताको घरदैलोमा जाँदा आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् । उनीहरुले आफ्नो विकास र समृद्धिका योजना पनि मतदातालाई सुनाइरहेका छन् । रास्वपाका उम्मेदवार खनाल आगामी १० वर्षमा सम्मानजनक मध्यम आय भएको मुलुक बनाउन नेपालको कानुन तथा नीतिगत सुधार गर्नुपर्ने र व्यवसाय गर्नका लागि सुरक्षित नेपाल बनाउनुपर्ने बताउँदै रोजगारी सिर्जना गर्नतर्फ आफू अग्रसर रहेको उल्लेख गरेका छन् ।
उनी भन्छन्, “यसपालि देशको रुपान्तरण चाहेका छौँ, समृद्धि र सुशासनको चाहनाका लागि नै हामीलाई ठूलो बहुमत चाहिने रहेछ । अघिल्लो पटकजस्तै विभिन्न दलसँग मिलेर सरकार बनाउनु परेमा कुनै काम गर्न नसकिने सिकाइ रह्यो । त्यही बुझाउँदै हिँडेका छौँ सुशासन र समृद्धिमा ठोस काम गर्न सकेनौँ भने अर्को पटक मत दिनै पर्दैन भनेर जनतामाझ गइरहेका छौँ ।”
नेकपाका उम्मेदवार शर्मा पुस्तान्तरणको नयाँ बहस सुरु भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीलाई संविधानमा ग्यारेन्टी गराइएको तर कार्यान्वयन नभएकाले त्यसलाई व्यवहारमै लागू गरेर देखाउन जरुरी रहेको बताए । “मुलुकको शासकीय स्वरुप परिवर्तन गरी सुशासन कायम गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जना गरी देशलाई आर्थिक समृद्धि बनाउन भूमिका खेल्ने छु । संविधानमा उल्लेख भएको शिक्षा स्वास्थ्य र रोजगार जस्ता मौलिक अधिकारलाई जनताको पक्षमा लागू गराउन आवश्यक कानुन निर्माण गर्न लाग्ने छु”, शर्माले भने ।
एमालेका उम्मेदवार मास्केले भने यहाँका नागरिकको दुखसुखको साथी नै आफू बन्न चाहेको बताए । उनले महिलालगायत हरेक समुदायलाई सक्षम र आर्थिक सवल बनाउनुपर्ने तथा यो माटोमा केही गर्नुपर्छ भन्ने चेत आफूसँग रहेको र प्रदेशसभामा रहँदा पनि विकासका धेरै काम धेरै गरेको सुनाए ।
उनी भन्छन्, “राजनीति विशुद्ध सेवा हो, त्यो विश्वास छ र म नागरिकको सेवामा समर्पित हुन्छु ।” कर तिर्न मापलोत नापीमा जाँदा वा कुनै निकायमा सेवा लिन जाँदा जनताले सहज सेवा प्राप्त गर्नका लागि प्रणालीको विकास गर्न जरुरी रहेको बताए ।
नेपाली कांग्रेसका उम्मेदवार बानियाले मतदाताको दैलोदैलोमा गएर मतदातालाई बुझाउँदै जेनजी र नागरिकले खोजेको परिवर्तनको सम्वाहक बनेर उभिने बताए । उनले नागरिकका आवाज पूरा गर्न लाग्ने प्रतिबद्धता पनि जनाए । उनले भने, ”दीर्घकालीन विकास र बदलिँदो अवस्थामा सबै चुनौती सामाना गर्नुपर्ने परिस्थितिका लागि निर्वाचन भएको हो र त्यसका लागि कांग्रेसले जित्नु पर्नेछ ।” उज्यालो नेपालका धरेल आफूले विदेशमा सिकेर आएको ज्ञान र सीपको उपयोग गरी युवा पुस्तालाई उद्यमशीलतातर्फ डोर्याउनु नै आफ्नो लक्ष्य रहेको बताए ।
गत २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट रास्वपाका शिशिर खनाल १४ हजार २२१ मत अर्थात ३८.०१ प्रतिशत मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिष्पर्धी एमालेका सर्वेन्द्र खनालले नौ हजार ९१७ मत ल्याएका थिए । जुन कुल मतको २३. ८४ प्रतिशत हो ।
अघिल्लो दुई निर्वाचनमा लगातार जितेका नेपाली कांग्रेसका भीमसेनदास प्रधानले विजय प्राप्त गरेका थिए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi