काठमाडौं । काठमाडौं महानगरपालिका–१ कमलपोखरीमा रहेको गोल्डेन टाइम्स बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको ११ करोड २१ लाख ५५ हजार ३१७ रुपैयाँ ठगी गरेको छ ।
विभिन्न २१ जना बचतकर्ताले सहकारी आफ्नो उक्त रकम ठगी गरेको भन्दै प्रहरीमा ८ थान किटानी जाहेरी परेको थियो ।
गोल्डेन टाइम्स बचत तथा ऋण सहकारी संस्था लि. का संचालक अध्यक्ष राजेन्द्र सिंह, उपाध्यक्ष सन्ध्या दाहाल, सचिव सावित्री देवी शिवहरे, कोषाध्यक्ष नम्रता द्विवेदि, कोषाध्यक्ष अमृता भट्टराई, सविता पौडेल र शुष्मा महर्जन, लेखा समिति संयोजक ईशा श्रेष्ठ, लेखा समिति सदस्यहरु मुकुल खड्का र नेत्र बहादुर बुढाथोकी, सहकारी कार्यकारी निर्देशक तथा पुर्व व्यवस्थापक ममता कुमारी शिवहरे समेतका व्यक्तिहरुले फिर्ता नगरी आफुखुसी रुपमा अपचलन गरी, ठगी गरी सहकारी बन्द गरेर फरार भएको भन्दै किटानी जाहेरी परेको छ ।
जसमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेपछि अनुसन्धान भएको र सोही अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयले सहकारीका अध्यक्ष राजेन्द्र सिंह, सचिव सावित्री देवी शिवहरे, कोषाध्यक्षमा अमृता भट्टराई, यस्तै सहकारीको सदस्यमा सविता पौडेल, लेखा समितिका सदस्य मुकुल खड्का, नेत्र बहादुर बुढाथोकी र कार्यकारी निर्देशक तथा पुर्व व्यवस्थापक ममता कुमारी शिवहरेलाई प्रतिवादी बनाइएको छ ।
जसमा अहिलेसम्म अध्यक्ष राजेन्द्र सिंह र कोषाध्यक्ष अमृता भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै ममता कुमारी, सावित्री देवी, सविता पौडेल, मुकुल खड्का र नेत्र बहादुर बुढाथोकीलाई पक्राउ पुर्जि जारी भएको छ ।
अभियोग पत्रमा यो मुद्दाका प्रतिवादीहरु मध्ये उपाध्यक्ष सन्ध्या दाहाल तथा नम्रता द्विवेदि, सदस्य शुष्मा महर्जन र लेखा समिति संयोजक ईशा श्रेष्ठको तिन पुस्ते सहितको एकिन विवरण हाल सम्म कहीँ कतैबाट खुल्न नआएको हुँदा उनीहरुको हकमा र प्रस्तुत मुद्दामा अन्य कोही कसैको संलग्नता रहेको भन्ने खुल्न आएमा उनीहरुको निजहरुको हकमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम हुने जनाइएको छ । यो ठगीमा संलग्न अन्यलाई भने ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना माग दाबी गरिएको छ ।











प्रतिक्रिया दिनुहोस्