Skip to content

बैंकिङ क्षेत्रमा बढ्दो चुनौतीः ‘ओभर स्टाफ’, दक्ष कर्मचारीको अभाव !

nabil bank

काठमाडौं । नेपालको बैंकिङ क्षेत्र पछिल्ला वर्षहरूमा तीव्र गतिमा परिवर्तनको यात्रामा छ । डिजिटल बैंकिङ, मोबाइल एप, अनलाइन कारोबार, क्यूआर भुक्तानी, साइबर सुरक्षा र स्वचालित प्रणालीजस्ता आधुनिक सेवाले बैंकिङ प्रणालीलाई नयाँ उचाइमा पुर्याइरहेका छन् ।

ग्राहकले प्रयोग गर्ने डिजिटल माध्यमहरु बढ्दै गएको छ । ग्राहकहरु सहजै सेवा खोजिरहेका छन् । तर, यही परिवर्तनको गतिसँगै बैंकिङ क्षेत्रभित्रै केही गम्भीर चुनौती पनि बढ्दै गएको देखिन्छ । अहिले बैंकिङ क्षेत्रले भोगेको गम्भीर चुनौतीमा दक्ष जनशक्तिको अभाव रहेको छ । तथापी अतिरिक्त कर्मचारी (ओभर स्टाफ)  पनि कायमै छ ।

‘बैंक तथा वित्तीय संस्था तथा शाखा कार्यालय मर्जर भएका छन् । जसले गर्दा कर्मचारी पनि मर्जर भएर ठूलो संख्या भयो’ एक बैंकर भन्छन्, ‘जसको कारण बैंकमा ओभर स्टाफको समस्या थपिएको हो ।’

यसले बैंकहरूको सञ्चालन खर्च बढाएको ती बैंकर बताउँछन् । जसले संस्थागत दक्षता र कार्यसम्पादन क्षमतामा पनि असर पारेको बैंकरहरु बताउँछन् । कर्मचारी संख्या धेरै भए पनि आवश्यक सीप र योग्यतामा आधारित कार्यविभाजन स्पष्ट नहुँदा कार्यसम्पादन कमजोर हुने, जिम्मेवारी अस्पष्ट रहने र संस्थागत निर्णय प्रक्रियामा ढिलाइ हुने समस्या बैंकिङ क्षेत्रमा बढेको छ ।

राष्ट्र बैंक स्रोतहरूका अनुसार ठूला बैंकहरूमा पनि मानव संसाधन व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । केही बैंकहरूले आवश्यकता र योग्यता भन्दा बाहिर गएर प्रभाव वा सिफारिसका आधारमा कर्मचारी नियुक्त गरेका कारण योग्य र दक्ष जनशक्तिलाई ओझेलमा पार्ने वातावरण सिर्जना गरेको छ। संस्थागत क्षमता निर्माणभन्दा व्यक्तिगत प्रभाव र अस्थायी व्यवस्थापन प्राथमिकतामा पर्दा बैंकहरूको दीर्घकालीन कार्यक्षमतामा असर परेको हो ।

बैंकिङ क्षेत्रमा देखिएको अर्को ठूलो समस्या भनेको दक्ष कर्मचारीको अभाव हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदनमा सिटिजन्स बैंकले बैंकिङ्ग क्षेत्रबाट दक्ष जनशक्तिको पलायन भएको कारण यस क्षेत्रमा चुनौति थपिएको बताएको छ । डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको अवस्थामा आधुनिक प्रणाली चलाउन सक्षम जनशक्ति आवश्यक हुन्छ। तर, धेरै कर्मचारी नयाँ डिजिटल प्रणाली, सफ्टवेयर र साइबर सुरक्षासम्बन्धी प्रविधिमा पर्याप्त दक्ष नदेखिएको बैंकहरु आफ्नो त्रैमासिक वित्तीय विवरणको चुनौतिमा उल्लेख गरेका छन् ।

यसैगरी, लक्ष्मीसनराईज बैंकको समस्या पनि जनशक्तिको पलायन हुन नै हो । जसको कारण कारण बैंकिङ क्षेत्रमा चुनौति थपिएको बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ। पछिल्लो समय विशेषगरी शाखा स्तर र ग्रामीण क्षेत्रमा कार्यरत कर्मचारीहरू प्रविधिमैत्री नहुँदा डिजिटल सेवाको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण बनेको छ। ग्राहकले अनलाइन सेवा अपेक्षा गर्दा प्रणाली सञ्चालनमा ढिलाइ हुनु, समस्या समाधानमा समय लाग्नु र सेवा गुणस्तरमा असमानता देखिनु जस्ता समस्या बढ्दै हो ।

डिजिटल सीपको अभावले बैंकहरूको प्रतिस्पर्धात्मक क्षमता पनि कमजोर बनाउने खतरा बढेको बैंकहरुले त्रैमासिक वित्तीय विवरणमा नै उल्लेख गरेका छन् । नयाँ प्रविधि अपनाउन नसक्दा सेवा वितरण सुस्त हुने, ग्राहकको अनुभव कमजोर हुने र नवप्रवर्तनमा बैंकहरू पछाडि पर्न सक्ने जोखिम देखिन्छ ।

यससँगै दक्ष कर्मचारीहरूको विदेश पलायन पनि अर्को चुनौती बनेको छ। राम्रो तलब, करियर अवसर र अन्तर्राष्ट्रिय अनुभवको खोजीमा धेरै सक्षम जनशक्ति देश बाहिर जान थालेका छन्। यसले बैंकिङ क्षेत्रमा अनुभव र दक्षताको कमी निम्त्याएको केहि बैंकहरुले दोस्रो त्रैमासिक वित्तीय विवरण उल्लेख गरेका छन् ।

बैंकहरूले नयाँ कर्मचारी भर्ना गरे पनि अनुभवी जनशक्ति गुम्दा संस्थागत स्मृति कमजोर हुने र सेवा गुणस्तरमा अस्थिरता आउने जोखिम बढेको छ। केही बैंकहरूले जनशक्ति पलायनलाई प्रमुख चुनौतीका रूपमा औँल्याउँदै दीर्घकालीन मानव संसाधन रणनीति आवश्यक रहेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

यसैगरी, शाखा विस्तार र जनशक्ति व्यवस्थापनबीच असन्तुलन पनि अर्को समस्या बनेको छ। प्रतिस्पर्धाको दबाबमा धेरै शाखा खोलिए पनि ती शाखाहरूमा सेवा भोल्युम अनुसार जनशक्ति व्यवस्थापन नहुँदा कतै कर्मचारी निष्क्रिय रहने त कतै अत्यधिक कार्यभार हुने अवस्था सिर्जना भएको छ। यसले कर्मचारी मनोबल घटाउने, सेवा गुणस्तरमा भिन्नता ल्याउने र संस्थागत खर्च बढाउने स्थिति बनाएको बैंकहरुले उल्लेख गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi