काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण क्षति पुगेका भौतिक संरचना, सवारी साधन तथा अन्य सम्पत्तिको बीमा दाबी भुक्तानी ८२ करोड १३ लाख ९० हजार रुपैयाँ पुगेको छ । बीमा कम्पनीले अग्रिम दाबी भुक्तानी सहित सो भुक्तानी गरेका हुन् ।
बाढीको प्रारम्भिक दाबी २० अर्ब ९० करोड ४९ लाख ४१ हजार रुपैयाँ रहेकोमा हालसम्म बीमा कम्पनीहरूले उक्त रकम बराबरको दाबी भुक्तानी गरेका हुन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार, भोटेकोशी र त्रिशूली बाढीका कारण क्षति भएका २ हजार ४९१ वटा दाबी परेका छन् ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै दाबी रकम हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ । हिमालयन एभरेष्टमा २०९ बीमितबाट ६ अर्ब ६१ करोड ५५ लाख ४५ हजार रुपैयाँको दाबी परेको छ । कम्पनीले दाबी परेकोमध्ये २३ करोड २३ लाख ३९ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ ।
त्यसैगरी, सानिमा जिआईसी इन्स्योरेन्समा १९२ बीमितबाट ३ अर्ब ४३ करोड ६ लाख रुपैयाँ दाबी परेको छ । यस कम्पनीले दाबी परेकोमध्ये ७६ लाख रुपैयाँको भुक्तानी गरेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्समा ४५९ बीमितबाट २ अर्ब ६३ करोड ९१ लाख रुपैयाँको दाबी परेको छ । यस कम्पनीले २१ करोड ४७ लाख रुपैयाँ बराबरको भुक्तानी गरिसकेको छ ।
यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ७५ करोड ९१ लाख रुपैयाँ दाबीमध्ये सबैभन्दा बढी २६ करोड ६३ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले हालसम्म ८० लाख, नेको इन्स्योरेन्सले ५७ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ करोड ६३ लाख, युनाइटेड अजोड इन्स्योरेन्सले २ करोड ५४ लाख, द ओरिएन्टल इन्स्योरेन्सले ४ करोड ३६ लाख भुक्तानी गरिसकेका छन् ।
बीमालेखको प्रकारका आधारमा हेर्दा सम्पत्ति बीमा अन्तर्गत ५७६ बीमितबाट ९ अर्ब ५६ करोड ३५ लाख रुपैयाँको दाबी परेकोमा १६ करोड २८ लाख भुक्तानी भएको छ । इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १७४ बीमितबाट ४ अर्ब ४० करोड १७ लाख रुपैयाँ दाबी परेकोमा १७ करोड ४० लाख रुपैयाँ भुक्तानी गरिएको छ ।
सबैभन्दा बढी १०६७ बीमितले मोटर बीमातर्फ दाबी गरेका छन् । जसको कुल रकम २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ रहेकोमा २३ करोड ६६ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । त्यसैगरी, परिवहन बीमातर्फ २ अर्ब ३३ करोड ५५ लाख रुपैयाँ दाबी परेकोमा २३ करोड ८९ लाख रुपैयाँ भुक्तानी भएको छ ।
प्रतिक्रिया दिनुहोस्