काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजविरुद्ध विराटनगर किङ्ग्सले टस जितेर फिल्डिङ रोजेको छ ।
यी दुई टिमबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भइरहेको हो ।
जारी सिजनमा विराटनगर र चितवनको यो पहिलो खेल हो । आजै हुने अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्ने तालिका छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार जनकपुर र कर्णालीबीचको खेल अपराह्न ५ बजेदेखि सुरु हुनेछ । तेस्रो संस्करणको एनपिएलमा केही नयाँ सुविधा थपिएका छन् । पहिलोपटक एनपिएलमा ‘डिसिजन रिभ्यु सिस्टम’ (डिआरएस) को व्यवस्था गरिएको छ ।
यस्तै, अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पहिलोपटक एनपिएललाई अन्तरराष्ट्रिय मान्यता प्रदान गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरस्कार राशि पनि वृद्धि गरेको छ ।
यसपालि उपाधि विजेता टोलीले एक करोड ५० लाख प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीलाई ८० लाख प्रदान गरिने क्यानले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्