Skip to content

राष्ट्रपति पौडेलले गरे राष्ट्रका नाममा सम्बोधन: निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता (पूर्णपाठ)

nabil bank
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचन प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर भएको बताएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षा, सामाजिक न्यायको प्रवर्द्धन र विकासको यात्रालाई अझ सुदृढ बनाउने सङ्कल्पका साथ यस ऐतिहासिक निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन् ।
सम्बोधनको पूर्णपाठ
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
यही फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन हाम्रो राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रुपमा हुन गइरहेको छ । यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र होइन, यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर पनि हो ।
देशले विगतका केही वर्षहरूमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ । लामो सङ्घर्ष र त्यागपछि हामीले लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेका छौँ । सबैलाई थाहा छ, आज नयाँ संविधानमार्फत समावेशी राज्य संरचना सुनिश्चित भएको छ ।
हामीले सङ्घीय शासन प्रणालीलाई संस्थागत गर्दै प्रदेश र स्थानीय तहसम्म अधिकार प्रत्यायोजन गरेका छौँ । सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्दै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, दलित, महिला तथा विपन्न समुदायको अधिकारलाई मजबुत बनाउने प्रयास सुरु भएका छन् । पछिल्लो दशकमा शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा र सञ्चार पूर्वाधारमा देश उल्लेख्य प्रगतिका साथ अगाडि बढिरहेको छ । जगजाहेर छ कि, यी उपलब्धिहरू सहजै प्राप्त भएका होइनन्, यी जनताको बलिदान र अटुट विश्वासको साथै उनीहरूको सक्रिय सहभागिताको परिणाम हुन् ।
यद्यपि, हामीले सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र सेवा प्रवाहका क्षेत्रमा अझै काम गनुपर्ने छ । मलाई विश्वास छ, आगामी निर्वाचनले त्यही भावधारालाई संस्थागत गर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्नेछ । यो निर्वाचनले निरङ्कुशताविरुद्ध लामो सङ्घर्ष र बलिदान गरेको अघिल्ला पुस्ता र त्यसमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना, नवयुवाहरूको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्नेछ । र, हाम्रो लोकतान्त्रिक अभ्यासलाई अझ विश्वस्त र परिपक्व बनाउने छ ।
यो निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्ने छ र नयाँ उचाइमा पु¥याउने छ भन्नेमा म विश्वस्त छु ।
यो निर्वाचन हाम्रा लागि पछिल्ला उपलब्धिहरूको रक्षा र प्रवद्र्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता हो । त्यसैले यो निर्वाचनलाई सफल बनाउनु हाम्रो साझा काम र ऐतिहासिक दायित्व पनि हो । म सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारमाध्यम र सम्बन्धित निकायहरूलाई निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहन आग्रह गर्दछु ।
मतभिन्नता स्वाभाविक हो, तर सहिष्णुता, मर्यादा र विधिको शासनप्रति सम्मान हाम्रो साझा मूल्य हुनुपर्छ । आउनुहोस्, हामी सबै मिलेर लोकतन्त्रको रक्षा, सामाजिक न्यायको प्रवद्र्धन र विकासको यात्रालाई अझ सुदृढ बनाउने सङ्कल्पका साथ यस ऐतिहासिक निर्वाचनमा सहभागी बनौँ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi