काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र– १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ ।
साह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेको पाइएपछि उनको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ ।
आयोगमा यसअघि नै साह कालोसूचीमा रहेको भन्दै उजुरी परेको थियो । आयोगले आवश्यक छानविन गरिरहेको थियो । अहिले प्रमाण पुगेपछि उम्मेदवारी खारेज गरेको जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम साहको उम्मेदवारी अयोग्य रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ को उपदफा (५) बमोजिम साहको उम्मेदवारी खारेज भएको प्रवक्ता जिसीले बताए ।
कर्जा सूचना केन्द्रको विवरणमा साह २०८० वैशाख १७ गते नै कालोसूचीमा परेका थिए । उनी कमल निर्माण सेवा प्रालिका सेयरधनी हुन् ।


साहसँगै २०८० वैशाख १७ गते अञ्जली साह, २०८० असोज १७ गते किशोरीसँगै संजित कुमार साह, सोही मितिमा उनीहरु २ जना विरुद्ध अर्को पनि कालोसूचीमा परेका पाइएको छ । यस्तै २०८० असोज १९ गते साहसँगै राम कुमार महासेठ, असोज २१ गते साह र महासेठलाई पुन अर्को पटक, २०८० माघ २२ गते साहका साथै सञ्जित कुमार साह कालोसूचीमा परेका थिए । साथै २०८२ माघ ४ र १० गते किशोरी साह कमललाई कालोसूचीमा राखिएको छ ।












प्रतिक्रिया दिनुहोस्