काठमाडौँ । व्यवसायी दुर्गा प्रसाई अधिकांश नेपालीले चिन्ने नाम हो । नचिन्नेहरु पनि कुनै न कुनै रुपमा उनको नाम सुनेका छन् वा कम्तीमा मोबाइल र टिभीमा देखेका छन् ।
व्यवसाय र राजनीतिलाई सँगै अघि बढाएका उनी जति चर्चित छन् त्योभन्दा बढी आफ्नो उच्छृंखल अभिव्यक्तिका कारण विवादित पनि छन् । आम जनतामा उनको चर्चा प्रसाईको चर्चा २०७४ फागुन ६ गते भक्तपुरको आफ्नै घरमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एउटै टेबलमा राखेर ‘मार्सी लञ्च’ गराएपछि चुलिएको हो । तत्कालीन समयमा निकै विवादित बनेका उनी राजनीतिको छायामा व्यावसायिक लाभ लिनेमा पर्छ ।
आफ्नो व्यवसाय विस्तारका लागि कहिले प्रचण्ड त अहिले ओलीको साथमा लागेका अहिले उनी पूर्णकालिन राजनीतिज्ञका रुपमा आफूलाई स्थापित गराउने प्रयासमा छन् । पछिल्लो समय उनी राजावादीका रुपमा आफूलाई चिनाउँदै आएका छन् ।
उनै दुर्गा प्रसाई केही दिन अघि १४औँ पटक पक्राउ परेका छन् । पछिल्ला वर्षमा उनी पक्राउ पर्नु र छुट्नु सामान्य जस्तै बनेको छ । नेपाल प्रहरीका अनुसार प्रसाईंविरुद्धको कानुनी कारबाही २०७६ सालदेखि सुरु भएको हो । उनी २०७६ माघ १ गते पहिलो पटक अभद्र व्यवहारसम्बन्धी कसुरमा भक्तपुर निवासबाट पक्राउ परेका थिए । त्यसपछि २०८१ भदौ १८ गते विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर ब्युरोले नियन्त्रणमा लियो । पक्राउ परसेको केही दिनपछि छुटे । सोही प्रकृतिको मुद्दामा केही दिनपछि अर्थात २०८१ भदौ २३ गते फेरि पक्राउ परे ।
प्रसाई २०८१ मंसिर ४ गते पुनः विद्युतीय कारोबारसम्बन्धी कसुरमा पक्राउ परे । यस्तै २०८१ मंसिर १४ गते उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी अभियोगमा नियन्त्रणमा लियो । २०८१ चैत १७ गते आपराधिक उपद्रव अभियोगमा काठमाडौं जिल्ला प्रहरी परिसरले पक्राउ गर्यो । उनीविरुद्ध सोही मितिमा संगठित अपराधअन्तर्गत मुद्दामा पनि अनुसन्धान भएको थियो ।
यस्तै २०८१ चैत २८ गते ज्यानसम्बन्धी कसुरमा काठमाडौं परिसरले उनलाई पक्राउ ग¥यो । सोही मितिमा बैंकिङ कसुरसम्बन्धी सीआईबीले पनि अनुसन्धान गरिरहेको थियो । त्यो समयमा उनी करिब चार महिना डिल्लीबजार कारागारमा थुनामा बसे ।
उच्च अदालत पाटनले २०८२ साउन १९ गते उनलाई धरौटीमा रिहा गर्ने आदेश दियो । बैंकिङ कसुरमा २५ लाख र अर्को मुद्दामा ३ लाख गरी २८ लाख रुपैयाँ धरौटी तोकियो । धरौटी बुझाएपछि उनी रिहा भए ।
उनको पक्राउ पर्ने क्रम २०८२ मा पनि रोकिएको छैन । २०८२ माघ ४ गते सार्वजनिक शान्तिविरुद्धको कसुरमा काठमाडौं परिसरले उनलाई पक्राउ गरेको थियो । त्यस्तै २०८२ माघ २३ गते विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर ब्युरोले फेरि नियन्त्रणमा लियो । यस्तै २०८२ फागुन ४ गते सार्वजनिक शान्तिविरुद्धको अर्को मुद्दामा पक्राउ परे । फागुन १७ गते बिहान उनी फेरि भक्तपुरस्थित निजी निवासबाट पक्राउ परे ।
अहिले उनी सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका हुन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
उनी पक्राउ परेपछि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो । मंगलबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारण देखाउ आदेश जारी गरेको छ । उनको कारण एक जनाको ज्यान समेत गएको छ ।
२०८१ चैत १५ गते राजसंस्था पुनस्र्थापनाको माग गर्दै गरेको आन्दोलनका क्रममा काठमाडौंको तीनकुनेको एक भवनमा एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको ज्यान गयो । त्यो आन्दोलनको नेतृत्व व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले गरेका थिए । उनी भागेर भारत पुगेका थिए । प्रहरीले भारतबाट पक्राउ गरेको थियो ।
प्रसाईंले भक्तपुरको सूर्यविनायकमा ५० रोपनी क्षेत्रफलमा कृषि तथा तरकारी बजार सञ्चालन गरेका छन् । त्यसका लागि दुई अर्ब रुपैयाँ लगानी गरेको उनको भनाइ छ । प्रसाईले २०७७ चैत १५ देखि माफिया ह्विस्की, मार्सी बियर र डन इनर्जी ड्रिङ्स ल्याउन लागेका थिए । कोरोना महामारीका कारण उनको त्यो योजना पूरा हुन सकेन । उनलाई ‘मेडिकल माफिया’ उपनाम दिएपछि सोही नाममा माफिया ह्विस्की ल्याउन लागेको बताएका थिए । उनले मार्सी बियर उत्पादन गर्न साढे ४ अर्ब रुपैयाँ लगानी गरेको र थप साढे २ अर्ब लगानी गर्ने र २ हजारलाई रोजगारी दिने योजना सुनाएका थिए ।
प्रसाईंले बिर्तामोड झापामा बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पताल सञ्चालन गरिरहेका छन् । यसअघि उनले झापामा तीन तारे होटल एर्टियम सञ्चालनमा ल्याउने समेत घोषणा गरेका थिए । उनले उक्त होटल सन् २०२६ मा सञ्चालनमा ल्याउने तयारी समेत गरेको जानकारी गराएका छन् । उनले स्वास्थ्यलगायत क्षेत्रमा अर्बौैै लगानी गरेका छन् ।
प्रसाईंका अनुसार बीएण्डसीले २०६८ माघ २४ गते मेडिकल कलेज स्थापनाका लागि आशयपत्र पाएको हो । २०७१ मंसिर १७ गते तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट ९०० शय्याको मेडिकल कलेज परियोजनाका लागि वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भयो ।
तर, चिकित्सा शिक्षा ऐनले प्रसाईंको योजना पूरा भएन । त्यसको कारण भनेको डा. गोविन्द केसीले चिकित्सा सुधार अभियानको नाममा गरेको करिब २ दर्जन पटकको अनसन थियो ।
सम्बन्धनको लागि बीएण्डसी २०७६ फागुन १ गते चिकित्सा आयोग गएको थियो । २०७३ सालदेखि आशयपत्र नवीकरण नगरेको र काठमाडौं विश्वविद्यालयको सहमति पनि नलिएको भन्दै आयोगले सम्बन्धन दिएन । उनले २० करोड घुसलगायतका कारण देखाउँदै सम्बन्धन नपाएको भन्दै प्रसाईं सर्वाेच्च गए ।
सर्वाेच्चले तीन महिनाभित्र नवीकरण गर्नुपर्ने आशयपत्र नवीकरण नगरेकाले स्वतः रद्द भएको व्याख्या गर्यो । त्यसपछि उनी विभिन्न नेताकोमा धाउन थाले । २०५७ सालदेखि माओवादी बनेका प्रसाई २०७८ सालमा एमाले बने ।
एमाले अध्यक्ष ओलीलाई ‘हजुरबा’ भन्ने प्रसाईं २०७८ असोजमा ललितपुरमा भएको विधान महाधिवेशनमा पार्टी सदस्य नभएपछि प्रतिनिधि बने । एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा मनोनित भए । त्यती मात्रै नभएर एमालेको उद्योग विभागको उपप्रमुख पनि बने । उनको चाहना मेडिकल कलेजको सम्बन्धन मात्रै थियो ।
२०७७ फागुन १६ मा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनमा ओलीबाट गरे । ओलीले त्यही दिन बीएन्डसी मेडिकल कलेजलाई चाँडै सम्बन्धन दिने दाबी गरेका थिए । २०७८ फागुन १२ मा ओलीले काठमाडौं विश्वविद्यालयको सिनेट बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई बीएण्डसीलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाउन निर्देशन दिए ।
मन्त्री श्रेष्ठले चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई सम्बन्धन दिन भने । २०७८ जेठ २८ मा बसेको चिकित्सा शिक्षा आयोग बैठकले सम्बन्धन दिन सकेन । अनी उनी थप रुष्ट बने । एमालेबाट पनि पार नलाग्ने भएपछि २०७९ फागुन ७ गते प्रसाईंले एमाले पार्टी परित्याग गरे । त्यसपछि उनी नेपालमा राजसंस्था पुनस्थापना गर्ने भनेर राप्रपा तिर लागे ।
लामो कसरतपछि २०८० चैत १२ मा प्रसाईंको योजना पूरा भयो । २०८० चैतमा सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दियो । सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै बीएण्डसीका सञ्चालक प्रसाईंले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाई सर्वोच्च अदालतमा दायर गरेको रिटमा प्रसाईंको पक्षमा फैसला भयो ।
उनले बर्षौको योजना त सफल भयो ।
तर, त्यो बेलासम्म धेरै विषय बिग्री सकेको थियो । मेडिकल कलेजले सम्बन्धन पाउँछ भन्ने आशामा अस्पतालका लागि करोडौंका मेडिकल उपकरण आयात गरेका थिए । तै पनि समयमा नै सम्बन्धन नपाउँदा उनले ठूलो आर्थिक दबाब झेले । बैंकबाट लिएको कर्जा समयमा नै तिर्न नसक्दा उनको वित्तीय अवस्था कमजोर बन्दै गयो । त्यसको असर बैंकिङ क्षेत्रमा पनि पर्यो. । उनले करिब पौने ६ अर्ब बैंकबाट कर्जा लिएका थिए । त्यो कर्जा समया नै चुक्ता गर्न नपाउँदा बैंकको नाफामा असर परेको, लाभांश वितरण प्रभावित भयो ।
पछि केही बैंकसँग त उनको मुद्दा मामिला समेत पर्यो ।
उनले विभिन्न बैंक–फाइनान्सबाट करिब ५.५७ अर्ब रुपैयाँ बराबरको कर्जा लिएका थिए । दुर्गा प्रसाईंले वाणिज्य बैंकहरु एनआईसी एशिया, प्रभु बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र ग्लोबल आईएमई बैंकबाट कर्जा लिएका छन् । यसैगरी, लुम्बिनी डेभलपमेन्ट बैंक र गुडविल फाइनान्सजस्ता बैंक तथा वित्तीय संस्थाबाट उक्त कर्जा लिएका हुन् ।
प्रसाईंले कुमारी बैंकसहित चारवटा बैंकविरुद्ध दायर मुद्धा पनि दर्ता गरेका थिए । उनले २०७९ असोज ७ गते मुद्धा दर्ता भएको थियो। अदालतले अन्तिम निर्णयमा दुर्गा प्रसाईंको आग्रह अस्वीकृत गर्दै बैंकहरूले कानुनी प्रक्रिया अनुसार ऋण असुली अघि बढाउन सक्ने आदेश दिएको थियो ।
यो सबै हुनुमा उनले राज्यलाई दोष दिए । प्रसाईंले झापामा राम्रो क्यान्सर अस्पताल बनाएको र त्यसलाई सम्बन्धन दिनुपर्ने धेरैको तर्क थियो । राज्यले समयमा नै सम्बन्धन नदिएर उनलाई पीडित बनाएको भन्नेहरु पनि छन् । २०८० मा दिने सम्बन्धन २०७७, ०७८ तिरै दिएको भए प्रसाईले भने जस्तो नर्स, डाक्टर नेपालमा नै पढन पाउने थिए । नेपाली पैसा विदेश जाने थिएन । उनले भनेको ५ हजारलाई रोजगारी दिने विषय पनि पुरा हुने थियो । स्वदेशमा रोजगारी सृजना हुने थियो । अहिले पनि उनले हजार बढीलाई रोजगारी दिएका छन् ।
सरकारले पीडा माथी पीडा थप्दा उनी राज्यमाथी खनिन थाले ।
लघुवित्त संस्थाबाट ऋण लिएर तिर्न नसकेको भन्दै झापाका दुई महिलाले आत्महत्या गरेको घटना सार्वजनिक भयो । प्रसार्ईको भाषामा भन्दा उनले त्यो घट्ना सहन सकेनन् । चेलीहरुले ऋण तिर्न नसकेर आत्महत्या गर्नुपर्यो भन्दै उनले लघुवित्त वित्तीय संस्थाको ऋण उठाउने प्रवृति विरुद्ध आन्दोलनको अभियान घोषणा गर्दै ‘ऋण नतिर्ने आन्दोलन’को अगुवाइ गर्न थाले ।
उनले सहकारी तथा लघुवित्तका ऋणीहरूलाई ऋण नतिर्न आह्वान गरे । माइतीघरमा ऋण मिनाहाको माग गर्दै आन्दोलन चर्कियो । हुँदा हुँदै ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सञ्चालन गरे र त्यसको संयोजक बने ।
सरकारले समयमा नै मेडिकल कलेज सम्बन्धन नदिएर हैरानी खेपाएको, मैले न्याय पाइन भन्दै ढड्डा बोकेर हिड्न बाध्य बनाएको पत्र विस्तारै राज्यका लागि चुनौती बन्दै गयो । यती हुँदा पनि उनको व्यवसाय चलि रह्यो ।
त्यसपछि उनी लगायत उनका अभियानमा सहभागी अभियन्ताले बैंक तथा वित्तीय संस्थाविरुद्ध धावा बोल्न थाले । उनैले बैंकको नाम नै तोकेर ‘मारवाडी समुदाय’ भन्दै बैंकर र अन्य व्यवसायीलाई धावा बोल्न थाले । उनका अभियन्ताले बैंक शाखामा तोडफोड गर्ने, कर्मचारीमाथि हातपात र अभद्र व्यवहार गर्ने, मोसो चल्ने गर्न थाले । उनी राज्यमाथी भारी पर्दैै गए ।
प्रसाईँ व्यवसायी भएपनि उनको पक्षमा व्यवसायीका संघ संस्थामा कतै देखिँदैन । अन्य व्यवसायी पक्राउ पर्दा वक्तव्यबाजी गर्ने निजी क्षेत्र उनको पक्राउमा चासै देखाउँदैनन् । त्यसको मूल कारण भनेको प्रसाईंको बोली र उनी आफुले आफैलाई व्यक्ति भन्दा पनि संस्था जस्तो व्यबहार गर्नुले पनि हो । साथै राजनीतिक सहज पहुँचले पनि हो ।











प्रतिक्रिया दिनुहोस्