काठमाडौं । मध्यपूर्वमा भएको तनाव लम्बिए नेपालमा भित्रिने कुल रेमिट्यान्सको ४१ प्रतिशत हिस्सामा असर देखिने भएको छ ।
नेपालमा आउने कुल रेमिट्यान्स मध्ये ४१ प्रतिशत रेमिट्यान्स हाल तनाव सिर्जना भएका मध्यपूर्वमा १५ देशबाट भित्रिने गरेका छन् । जसको कारण यो तनाव लम्बिए नेपाल भित्रिने रेमिट्यान्सको ठुलो हिस्सामा असर पुग्ने भएको हो ।
नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले पठाउने रेमिट्यान्स मुख्य आधार बनेको छ। पछिल्ला वर्षहरूमा रेमिट्यान्स आप्रवाह निरन्तर बढ्दै जाँदा यसले देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा उल्लेखनीय योगदान पुराएको छ । नेपाल राष्ट्र बैंकका अनुसार रेमिट्यान्सले नेपालको जिडिपीको करिब २५ देखि २७ प्रतिशतसम्म हिस्सा ओगटेको छ। यस आधारमा हेर्दा नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको स्पष्ट हुन्छ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह उल्लेख्य रूपमा बढेको भएता पनि मध्यपूर्वमा चर्किँदो भूराजनीतिक तनावले रेमिट्यान्सको हिस्सामा प्रत्यक्ष असर पार्न सक्ने जोखिम देखिएको नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक रामशरण खरेल बताउँछन् ।
विशेष गरी खाडी तथा मध्यपूर्वका करिब १५ देशबाट ठुलो परिमाणमा रेमिट्यान्स आउने गरेको छ । अमेरिका इजरायल र इरानको युद्धको कारण मध्यपूर्वमा देखिएको अस्थिरताले नेपालको बाह्य क्षेत्र, विदेशी मुद्रा सञ्चिति र समग्र अर्थतन्त्रमा दबाब सिर्जना गर्न सक्ने उनले बताए। नेपाल राष्ट्र बैंकका अनुसार चालु आव ६ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।
हाल मध्यपूर्व क्षेत्रमा चर्किएको युद्धले नेपाली श्रमिक कार्यरत मुलुकहरूमा अनिश्चितता बढाएको छ। विशेष गरी इरानले विभिन्न देशलाई ‘टार्गेट’ गर्दै अमेरिका विरुद्धको प्रतिक्रिया जनाइरहेको छ । यसले खाडी क्षेत्र र आसपासका देशहरूमा पनि सुरक्षा जोखिम बढेको छ । खाडी मुलुक साउदी अरेबिया, कतार, यूएई, कुवेत, बहराइन, ओमान लगायतका देश नेपाली श्रमिकका प्रमुख गन्तव्य हुन्। यी देशहरूबाट मात्र ठुलो परिमाणमा रेमिट्यान्स भित्रिने गरेको छ।
यदि यी देशहरूमा दीर्घकालीन अस्थिरता, युद्ध वा श्रमिक निष्कासनजस्ता अवस्था सिर्जना भएमा सो ४१ प्रतिशत हिस्सामा प्रत्यक्ष प्रभाव पर्न सक्ने खरेल बताउँछन् । यसले चालु खातामा दबाब, विदेशी मुद्रा सञ्चितिमा गिरावट र आयात धान्न कठिनाइ उत्पन्न गराउन सक्ने उनको बुझाई छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । ‘यदि यो युद्ध नलम्बिए स्थगन भएको खण्डमा यसले नेपाललाई धेरै ठुलो असर गर्दैन।’ खरेल भन्छन्, ‘आन्दोलन लम्बिएमा मात्र नेपालको विदेशी मुद्रा सञ्चितिमा असर गर्छ ।’
छैन राष्ट्र बैंकसंग देशअनुसार रेमिट्यान्सको यकिन तथ्यांक
खरेलले मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको संख्या तथा ती देशबाट यकिन रूपमा कति रेमिट्यान्स भित्रिन्छ ? भन्ने देशअनुसारको विस्तृत तथ्यांक राष्ट्र बैंकसँग नभएको जानकारी दिए । उनले लगानी न्युजसँगको कुराकानीमा भने,‘नेपालमा कुल रेमिट्यान्सको ४ वटा देशबाट मात्रै ३५ देखी ३६ प्रतिशत रेमिट्यान्स आउँछ । तर, कुन देशबाट ठ्याक्कै कति रेमिट्यान्स आउँछ भन्ने तथ्यांक राष्ट्र बैंकसँग छैन।’
नेपालमा दुवै, साउदी अरेबिया, कतार लगायतका ४ वटा देशबाट मात्रै कुल रेमिट्यान्सको ३५–३६ प्रतिशत रेमिट्यान्स आउने उनले बताए । कुन देशबाट कति रेमिट्यान्स आउँछ भन्ने यकिन तथ्यांक नेपाल राष्ट्र बैंकका नहुनुको कारण विभिन्न देशले भिन्न देशको बैंकहरु प्रयोग गरेर नेपालमा रेमिट्यान्स पठाउनु रहेको उनले बताए ।
‘उदारणका केही नेपाली श्रमिक युएईमा काम गरिरहेको छ, उनले युएईबाट पैसा पठाउँदा अमेरिकन बैंक प्रयोग गर्यो र अमेरिकन बैंकबाट पैसा पठायो भने, त्यो बैंकको ‘हेड अफिस’को ट्रयान्जेकसनबाट नेपालमा रेमिट्यान्स आएको देखाउँछन् । त्यो पैसा युएईबाट आएको हुन्छ । तर, अमेरिकी बैंकबाट आएको तथ्यांक देखिन्छ ।’ खरेल भन्छन् । ‘कसैले हङकङ बैंक प्रयोग गरेर दुबैबाट पैसा पढाएको हुन्छ त्यो पनि हङकङबाट आएको देखिन्छ ।’
यस कारण नेपाल राष्ट्र बैंकसँग यकिन तथ्यांक उपलब्ध छैन। कार्यकारी निर्देशक खरेलका अनुसार, ‘हामीसँग समग्र रेमिट्यान्सको तथ्यांक छ, तर कुन देशबाट कति रकम आयो भन्ने विस्तृत वर्गीकरण उपलब्ध छैन।’ मध्यपूर्वमा भएको तनाव लम्बिए यसले रेमिट्यान्समा कुन देशबाट कति जोखिम छ भन्ने यकिन मूल्याङकन गर्न चुनौती थपेको देखिन्छ ।
रोजगारी व्यवस्थापन मुख्य चुनौती
मध्यपूर्व देशहरूमा कार्यरत नेपाली श्रमिकहरू उक्त युद्धको कारण स्वदेश फर्किनुपर्ने अवस्था आएमा नेपालमा रोजगारी व्यवस्थापन ठुलो चुनौती बन्न सक्ने सम्बन्धित क्षेत्रका विज्ञहरू बताउँछन्। वैदेशिक रोजगारी नेपालको अर्थतन्त्रको प्रमुख आधार भएको छ । ठुलो संख्यामा श्रमिक स्वदेश फर्किए श्रम बजारमा चाप बढ्ने देखिन्छ ।
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल मध्यपूर्वका विभिन्न देशहरूमा रोजगारीका लागि ठुलो संख्यामा नेपालीहरू गएका छन् । मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) मा करिब ७ लाख नेपाली रोजगारीमा संलग्न छन्। यसैगरी, साउदी अरेबियामा ३ लाख ८४ हजार ८६५, कतारमा ३ लाख ५७ हजार ९१३, कुवेतमा १ लाख ७५ हजार, इराकमा ३० हजार, बहराइनमा २८ हजार र ओमनमा २५ हजार नेपाली कार्यरत रहेका छन्।
यता साइप्रसमा १७ हजार, इजरायलमा ६ हजार ५ सय, लेबनानमा १ हजार ५ सय, इजिप्टमा ५ सय तथा इरानमा ६ जना नेपाली रोजगारीका लागि पुगेको तथ्यांकमा उल्लेख छ। उक्त श्रमिक स्वदेश फर्किनुपर्ने अवस्था सिर्जना भएमा नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्नु सरकारका लागि चुनौतीपूर्ण बन्न सक्ने विज्ञहरूको विश्लेषण छ ।
प्रतिक्रिया दिनुहोस्