काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ हल्जीस्थित सुनखानी प्रावि मतदान केन्द्रमा विवाद भएपछि मतदान प्रक्रिया स्थगित भएको छ। गुम्बामा रहेका बिरामीलाई मतदानको व्यवस्था मिलाउने विषयमा सहमति नजुटेपछि तनाव सिर्जना भएको हो।
हल्जी गुम्बाका लामाहरूले गुम्बाभित्र रहेका करिब ५–६ जना बिरामीलाई मतदानको अवसर दिनुपर्ने माग राखेका थिए। उनीहरूले बिरामीका लागि वारेसनामा (प्रतिनिधिमार्फत) दिन पाउनुपर्ने वा मतपेटिका नै गुम्बामा लगेर मतदान गराउनुपर्ने अडान कसेका थिए।
तर, मतदान अधिकृतले नियमविपरीत मतपेटिका बाहिर लैजान वा वारेसनामा दिन नमिल्ने बताएपछि विवाद उत्पन्न भएको हो। स्थानीय र निर्वाचन टोलीबीच सहमति हुन नसकेपछि अहिले मतदान प्रक्रिया रोकिएको छ।
समस्या समाधानका लागि स्थानीय प्रशासन र निर्वाचन टोलीले छलफल अघि बढाएका छन्। सहमति जुटेपछि मात्र पुनः मतदान प्रक्रिया सुरु गरिने बताइएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसएसपी रामप्रकाश शाहले उक्त केन्द्रमा मतदान स्थगित भएको पुष्टि गरेका छन्।











प्रतिक्रिया दिनुहोस्